छुट्टी नहुंदै सिंहदरबार सुनसान

काठमाडौं, ३ कात्तिक । निजामती कर्मचारी तथा सर्वसाधारणको भिड लाग्ने नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रका सबै मन्त्रालय बिहीबार सुनसान थियो । दसैँ बिदा सुरु हुनुअगावै अधिकांश कर्मचारी घर हिँडेपछि देशको प्रमुख प्रशासनिक केन्द्र सुनसान बनेको हो ।
दसैंको किनमेल गर्न तथा घर टाढा रहेको भन्दै सिंहदरबारभित्रका मन्त्रालयमा काम गर्ने कर्मचारी घटस्थापनादेखि नै कार्यालय जान छाडेका छन् । उनीहरूले विभागीय प्रमुखलाई मौखिक जानकारी मात्र गराएको कार्यालयमा रहेका कर्मचारी बताउँछन् ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सामान्य प्रशासन, गृह, सूचना तथा सञ्चार, उद्योग, वाणिज्य तथा आपूर्ति, परराष्ट्र, अर्थ, कृषि विकास, गरिबी निवारण तथा सहकारी, सहरी विकास, श्रम तथा यातायात, संघीय मामिला तथा स्थानीय विकासलगायत सिंहदरबारभित्रका सबै मन्त्रालय सुनसानजस्तै थिए । राजधानीमै घर भएका कर्मचारीसमेत कार्यालय जान छाडेका छन् । उनीहरू अहिले मन्त्रालयमा काम नहुने भन्दै कार्यालय जान छाडेका हुन् ।
राजधानीमै घर भएका एक कर्मचारीले भने, ‘दसैँ लागिसक्यो, अब कार्यालय गएर निदाएर बस्नुभन्दा घरमै परिवारसँग बस्दा राम्रो हुन्छ ।’ मन्त्रालयमा कुनै काम आइपर्‍यो भने कुनै पनि बेला कार्यालयमा जाने उनले बताए । दसैँका बेलामा सेवाग्राही पनि नआउने भएकाले खासै काम नहुने उनको भनाइ छ ।
भौतिक योजना, निर्माण तथा यातायात मन्त्रालयका एक अधिकृतले दसँैको किनमेल गर्न बजार निस्केको बताए । मन्त्रालयमा बिहानको काम सकी दिउँसो किनमेलका लागि निस्किको उनको भनाइ थियो । मन्त्रालयको यातायात महाशाखामा आबद्ध ती अधिकृतले भने, ‘बिहान मन्त्रालय पुगेर हेर्दा केही काम नभएकाले परिवारसँग किनमेल गर्न बजार निस्किएको हुँ ।’ उनले शुक्रबार (आज)बाट दसँै मनाउन पहाड जाने पनि जानकारी दिए । ‘घर नगएको दुई वर्ष भइसकेकाले यसपालि छिट्टै घर जाने निर्णय गरेको छु,’ उनले थपे ।
गृह मन्त्रालयका एक उपसचिवले बिहीबार किनमेलमै व्यस्त भएको बताए । उनले भने, ‘बिहान बजार खुल्दैन, बेलुका राम्रो सामान पर्दैन, त्यसैले कार्यालय समयमै भए पनि सामान्य किनमेल गर्न बजार गएको हुँ ।’ आफू मात्र नभएर सबै कर्मचारीले अनुकूल मिलाएर दसँैका सामान किनमेल गर्न निस्कने गरेको उनले जानकारी गराए । ‘भोलि र पर्सि(शुक्रबार र शनिबार) भिडका कारण किनमेल गर्न नसकिने भएकाले पनि धेरैजसो कर्मचारीले आजकै दिन किनमेल गर्छन् ।’
प्रधानमन्त्री कार्यालयका प्रवक्ता जगदीश रेग्मी महान् चाड भएकाले कर्मचारीले एक/दुई दिन बढी बिदा लिनु स्वाभाविकै भएको बताउँछन् । ‘दसैँका बेला किनमेल पनि गर्नुपर्ने भएकाले केही कर्मचारी बजारमा हुन सक्छन्,’ उनले भने, ‘वर्ष दिनपछि घरमा जाँदा केही न केही त किनेर लैजानुपर्‍यो, त्यसका लागि जानै पर्‍यो ।’ काममा असर पर्ने गरी कर्मचारी नगएको उनको दाबी छ ।
सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वेगेन्द्रराज शर्माले भने कार्यालयमा कर्मचारी नरहेकोबारे केही बताउन चाहेनन् । उनले भने, ‘म पनि कार्यालयभन्दा बाहिर भएकाले यसबारे केही बताउन सक्दिनँ ।’ प्रवक्ता शर्मा दसँैको किनमेलका लागि भन्दै कार्यालयमै नगएको मन्त्रालयका एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार सामान्यका अधिकांश कर्मचारी घटस्थापनादेखि नै कार्यालयमा छैनन् । अर्थ मन्त्रालयका प्रवक्ता राजन खनालले पनि मन्त्रालयमा कर्मचारी रित्तिएको जानकारी दिए । टाढा–टाढा घर भएका कर्मचारी दुई/तीन दिनअघि घर जानुलाई सामान्य नै मान्नुपर्ने खनालको भनाइ थियो । उनले भने, ‘त्यस्तो टाढा घर भएका कर्मचारीले आºनो बिदा कटाएर घर जाने गरेका छन् ।’ कर्मचारी बिदा लिएर घर गए पनि मन्त्रालयको काममा कुनै असर नगरेको प्रवक्ता
खनालले बताए ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता दिनेशकुमार थपलियाले पनि दसँैको चपेटामा परेकाले मन्त्रालयमा कर्मचारी रित्तिँदै गएको बताए । ‘प्रक्रिया पूरा गरेर जानेहरू घटस्थापनादेखि नै गएका छन्,’ प्रवक्ता थपलियाले भने, ‘केहीले विभागीय प्रमुखलाई जानकारी गराएर किनमेलका लागि निक्लिएका होलान् ।’ आफूहरू बिदाको अन्तिम दिनसम्म कार्यालयमै रहने जानकारी गराउँदै थपलियाले मन्त्रालयसम्म आएका कुनै पनि सेवाग्राही रित्तो हात फर्कनुपर्ने अवस्था नआउने दाबी गरे ।
गृह मन्त्रालयका प्रवक्ता शंकरप्रसाद कोइरालाले पनि गृहका केही कर्मचारी दसँै बिदा मनाउन भन्दै घर हिँडेको बताए । ‘पहिलेको जस्तो अहिले काम पनि नहुने भएकाले कर्मचारीले आºनो बिदा कटाएर केही दिनअघि नै आºनो घर जाने गरेका छन्,’ प्रवक्ता कोइरालाले भने ।

प्रतिक्रिया