अलमल्याउन पुन:स्थापनाको प्रस्ताव : नेपाल

काठमाडौं, ३  कात्तिक । एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अन्य दललाई अलमल्याउन एमाओवादीले संविधानसभा पुन:स्थापना र राष्ट्रपति चुनावको प्रस्ताव अघि सारेको आरोप लगाएका छन् ।
पार्टीको उपत्यका विशेष समन्वय कमिटीले बडादशैंका अवसरमा बिहीबार राजधानीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा जलपान समारोहमा नेपालले ‘अँध्यारो कोठाबाट छलछामको प्रस्ताव नल्याउन’ चेतावनी दिए । राजनीतिक निकासका लागि राष्ट्रिय सहमति अपरिहार्य रहेको र यसका लागि सरकार बाधक रहेको जिकिर गर्दे उनले भने, ‘अँध्यारो कोठामा बसेर, कान फुकेर विपक्षीलाई अलमल्याउन कहिले संविधानसभा पुन:स्थापना त कहिले राष्ट्रपति चुनावको कुरो आएको छ,’ नेपालले भने, ‘यस्ता पतपते कुरा एमालेलाई मान्य छैन । यसबाट मुलुकको समस्या समाधान पनि हुँदैन ।’
संविधानमा सहमति नबनुन्जेल कुन प्रक्रियाबाट संविधान ल्याउने भन्ने विषयमा छलफल गर्नु निरर्थक रहेको नेता नेपालको भनाइ थियो । ‘संविधानको ब्ल्याक एन्ड ह्वाइट दस्तावेज बनाएर त्यसलाई लक गरिसकेपछि कसरी जारी गर्ने भन्ने विषयमा छलफल हुन सक्छ,’ नेपालले भने, ‘अहिले संविधानसभा पुन:स्थापनाको पतपते कुरा गर्नुको कुनै अर्थ छैन ।’ उनले बाबुराम भट्टराई नेतृत्वको सरकारमै अन्य दललाई सामेल गरी सहमतिको स्वरूप दिने भनी एमाओवादीले गरेको प्रस्ताव ठाडै अस्वीकार गरे । ‘भागवण्डा पाएपछि एमाले सरकारमा जान्छ भन्ने कसैले सोचेको छ भने त्यसको दिमागको तन्तु बिग्रेको छ,’ नेपालले भने ।

प्रतिक्रिया