पुन:स्थापनाले निकास दिँदैन : कांग्रेस–एमाले

काठमाडौं, २ कात्तिक । प्रतिपक्षी दल कांग्रेस र एमालेले संविधानसभा पुन:स्थापनाले मुलुकलाई निकास दिन नसक्ने निष्कर्ष निकालेका छन् । संविधानसभा पुन:स्थापनाले राजनीतिक जटिलतालाई झन् बढाउने भन्दै दुई दलले ताजा जनादेशमा जानु नै उत्तम विकल्प भएको निष्कर्ष निकालेका हुन् ।
निर्वाचन कि संविधानसभाको पुन:स्थापना भन्नेमा दलहरूबीच सहमति हुन नसकिरहेका बेला बुधबार बसेको कांग्रेस–एमालेको बैठकले संविधानसभा पुन:स्थापना अस्वीकार गर्दै निर्वाचन प्रक्रियामा सहमतिका लागि एमाओवादीसँग छलफल गर्ने निर्णय गरेको छ । बुधबार युरोप भ्रमणबाट फर्कने क्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा पुन:स्थापनाबाटै संविधान जारी हुने बताएका थिए । पुन:स्थापनामा कांग्रेस–एमाले सहमत भइसकेको दाबी गर्दै उनले संविधान जारी गरी विवादित विषयलाई जनतामा लिएर जाने बताएका थिए । तर, दुई दलले संविधानसभा पुन:स्थापना अस्वीकार गर्दै पुन:स्थापनाले राजनीतिक जटिलता झन् बढाउने निष्कर्ष निकालेको हो ।
बैठकले राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कुर्सी नछाडे दसँैपछि निर्णायक आन्दोलन गर्ने निर्णय पनि गरेको छ । प्रधानमन्त्री डा. भट्टराई आफँै नहटे आन्दोलन गर्ने एमाले नेता रघु पन्तले बताए । ‘सहमतिको बाधक एमाओवादी हो, दसैँसम्म सहज रूपले सरकारको बहिर्गमन नभए दसैँपछि आन्दोलनबाटै सरकारलाई हटाउन आन्दोलन थाल्छौँ,’ उनले भने । सरकारविरुद्धको आन्दोलनका लागि बनाइएको कार्यदलले आन्दोलनको खाका बनाइसकेको उल्लेख गर्दै पन्तले दसैँपछि त्यसलाई अन्तिम रूप दिने पनि प्रस्ट्याए । कांग्रेस महामन्त्री प्रकाशमान सिंहले राष्ट्रय सहमतिको सरकार बनाएर ताजा जनादेशमा जानुपर्छ भन्ने निष्कर्ष निकालिएको बताए । ‘राष्ट्रिय सहमतिको सरकार बनाई नयाँ निर्वाचनमा जानुपर्छ भन्ने दुई दलको निष्कर्ष हो,’ उनले भने ।
नेता पन्तले बैठकमा दुवै दल ताजा जनादेशमा जान एकमत भएको बताए । ‘पुन:स्थापनाले समस्याको समाधान होइन, यसले राजनीतिक जटिलता झन् बनाउँछ,’ एमाले नेता रघुजी पन्तले सौर्यसँग भने, ‘सहमतिको सरकार बनाई ताजा जनादेशमा जाँदा मात्र मुलुकले निकास पाउँछ भन्ने हाम्रो निष्कर्ष हो ।’ राजनीतिक संकटको बाटो खोल्न प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उनको भनाइ छ । बैठकमा कांग्रेस सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्ण सिटौला र केन्द्रीय सदस्य डा. रामशरण महत सहभागी थिए । त्यस्तै, एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल उपस्थित थिए ।

प्रतिक्रिया