अस्पतालको नाम नफेर्न माओवादीकै दबाब

राजविराज, २ कात्तिक । राजविराजस्थित सगरमाथा अञ्चल अस्पताललाई नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहको नाममा नामकरण गर्ने मन्त्रिपरिषद्को निर्णय निकै आलोचित बनेको छ ।

पछिल्लोपटक २८ असोजमा राजविराज आइपुगेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मन्त्रिपरिषद्को निर्णयका कारण आफ्नै कार्यकर्ताको खप्कीसमेत खाएका थिए । सगरमाथा अञ्चललगायत देशकै पहिचान बोकेको अस्पतालको नाम नामेट गरेर व्यक्तिका नाममा राख्ने मन्त्रिपरिषद्को निर्णय त्रुटिपूर्ण भएको भन्दै एमाओवादीका कार्यकर्ताले प्रधानमन्त्री डा. भट्टराईलाई निर्णय परिवर्तन गर्न तीव्र दबाब दिएका छन् । पार्टीका तर्फबाट १३ बुँदे मागपत्र प्रम भट्टराईलाई बुझाउँदै जिल्ला संयोजक उमेश यादवले अञ्चल अस्पतालको पुरानै नाम कायम गर्न माग गरेका छन् ।
यता एमाले र कांग्रेस निकटका विद्यार्थीले प्रधानमन्त्रीलाई कालो झन्डा देखाउँदै निर्णयको विरोधमा नाराजुलुससमेत गरेका थिए । उनीहरूलाई धरपकड र कुटपिट गर्दा अनेरास्ववियुका केन्द्रीय सदस्य अखिलेश झा र दुर्गानन्द ठाकुर घाइते भएका थिए ।
नेपाली कांग्रेससमेत अस्पतालको नाम परिवर्तन गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध उभिएको छ । कांग्रेसका केन्द्रीय सदस्य रामकुमार चौधरीले मुलुकका अन्य राजनीतिक दलसँग सहमति नै नलिएर अस्पतालको नाम परिवर्तन गरेको भन्दै निर्णयविरुद्ध आपत्ति प्रकट गरेका छन् । मन्त्रिपरिषद्को निर्णयले समग्र नेपालीको पहिचान बोकेको नाममा कालो पोतेर अस्पताललाई व्यक्तिका नाममा सीमित गरेको चौधरीको आरोप छ ।
यसैगरी, स्वतन्त्र विद्यार्थी युनियन (महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस) राजविराजले सगरमाथा अञ्चल अस्पतालको नाम परिवर्तन गर्ने मन्त्रिपरिषद्को निर्णय तत्काल नसच्याए आन्दोलन गर्ने चेतावनी दिएको छ । स्ववियुले प्रेस विज्ञप्तिमार्फत मन्त्रिपरिषद्को निर्णय निन्दनीय भएको जनाउँदै अस्पतालको पुरानै नाम कायम गर्नुपर्ने वा परिवर्तित नामका अघि वा पछि पुरानो नामलाई समेत समेटिनुपर्ने माग गरेको छ । मागप्रति बेवास्ता गरे तत्काल आन्दोलन थाल्ने र त्यसबाट उत्पन्न परिणामको जिम्मेवार सरकार नै हुने चेतावनीसमेत स्ववियुले दिएको छ ।
सर्वसाधारणले समेत मन्त्रिपरिषद्को निर्णयप्रति असहमति जनाएका छन् । विशेषज्ञ, डाक्टर, स्टाफ, नर्स, उपकरण तथा साधनस्रोतको अभावमा अस्पतालले गुणस्तरीय सेवा दिन नसकिरहेका बेला नाम फेर्न देखिएको हतारोले सरकार जनताको स्वास्थ्यसँग भन्दा पनि जस बटुल्ने काममा मात्र सीमिति भएको मेरो नेपालका सचिव पार्थो सरकारले आरोप लगाए ।
‘अस्पतालको सेवा विस्तारका लागि निर्माण गरिएको ५० शय्याको नवनिर्मित भवन उद्घाटन भएको ६ महिना बितिसक्यो तर सञ्चालनका विषयमा कसैले सोचेनन्,’ सचिव सरकारले गुनासो गरे, ‘सेवा सुविधाको स्तर परिवर्तन पो गर्नुपर्छ ।’
सस्तो लोकप्रियताका लागि गरिएका कुनै पनि कामले दीर्घकालीन रूपमा आफैँलाई नोक्सान पुर्‍याउने बताउँदै एमालेका युवा नेता निरञ्जन झाले अस्पतालको पुरानै नामलाई कायम गरेर अस्पतालको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया