छतमा यात्रु राख्न प्रतिबन्ध

जाजरकोट, २ कात्तिक । बसको छतमा यात्रु राख्दा जोखिम बढेको भन्दै प्रहरीले छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत राकम–खलंगा सडकमा सञ्चालित बसका छतमा यात्रु राख्न प्रतिबन्ध लगाएको छ ।

क्षमताभन्दा बढी यात्रु राखिने गरेको र छतमा यात्रु चढ्ने गर्दा जोखिम बढेको गुनासो बढेपछि स्थानीय प्रशासनको पहलमा बुधबार बसेको यातायात व्यवसायीसहितको बैठकले बसको छतमा यात्रु नराख्ने, आवश्यकताअनुसार बसको संख्या थप गर्ने, भाडा निर्धारण गरी एकरूपता कायम गर्ने, निर्धारित समयमा बस छुटाउनुपर्नेलगायत निर्णय गरिएको सिडिओ कृष्णश्याम बुढाथोकीले जानकारी दिए ।
बसको छतमा यात्रु राखेको पाइएमा कडा कारबाही गरिने डिएसपी रमेश थापाले बताए । दसैँमा घर फर्किने यात्रु अत्यधिक भए पनि बस नथप्दा बसमा क्षमताभन्दा तीन गुणा बढी यात्रु राखिने र बसको छतमा समेत यात्रु राख्न थालिएपछि यात्रा जोखिमपूर्ण बन्दै गएको छ । गाडीको संख्या कम र यात्रुको संख्या बढी भएका कारण कच्ची बाटोमा गाडीको यात्रा जोखिमपूर्ण भएको स्थानीयको गुनासो छ ।
कामका सिलसिलामा भारत गएका, पढ्न तथा अन्य कामको लागि सहर गएका तथा दसैँ मान्न घर फर्कन थालेकाले गाडीमा उभिने ठाउँसमेत नपाइने गरेको छ । जिल्लाबाट बाहिर जाने आउने क्रममा गाडीभित्र खुट्टा टेक्नेसम्म पनि ठाउँ नहँुदा यात्रुले निकै सास्ती बेहोर्नुपरेको स्थानीय राजेन्द्र शाहीले बताए । जाजरकोट सदरमुकामबाट दैनिक तीन समय मात्र गाडी आउने जाने भएकाले गाडीमा यात्रु अत्यधिक हुने गरेका हुन् । दैनिक चार सयभन्दा बढी यात्रु जिल्ला भित्रिने र त्यतिकै मात्रामा बाहिरिने गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रतिक्रिया