असिनापानीले खेती नष्ट

कैलाली, २ कात्तिक । मंगलबार साँझ पानीसँगै आएको असिना तथा हावाहुरीले कैलालीमा धान तथा केरा खेतीमा क्षति पुगेको छ ।

हावाहुरीसँगै आएको असिनापानीले खैलाड, भजनी, थापापुर, लालबोझीलगायत गाविसमा पाकेका धान र केरा खेतीमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
असिनापानीले खेतमा पाकेको धान पूरै झारेको र हावाहुरीले केराको बोट ढालेको पीडित किसानले बताए । पाकेको धान भित्र्याउने बेला असिनापानी आएर पूरै झारेर सखाप पारेकाले पराल मात्र बाँकी रहेको खैलाडका पूर्णप्रसाद जोशीले बताए ।
उनले व्यावसायिक केरा खेती गर्दै आएका १६ किसानको करिब १२ हजार केराका बोट पनि ढालेर नष्ट गरेको बताए । हावाहुरीले खैलाडमा मात्र करिब १६ लाख रुपियाँ बराबरको केरा नष्ट गरेको कृषक दीपेन्द्र बाठा मगरले जानकारी दिए । राहतका लागि खैलाडमा निवेदन दिएको र जिल्ला कृषि विकास कार्यालयमा जानकारी गराएको बाठामगरले बताए । हावाहुरी र असिनापानीले ठूलो मात्रामा बालीनालीमा क्षति पुर्‍याएको खबर आउने क्रम जारी रहेको कृषि विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया