‘१ सय २ बुँदे कार्यक्रम दिवालीयापन’

काठमाडौं, १ कात्तिक । विपक्षी दल सम्बद्ध पूर्व अर्थमन्त्रीहरुले प्रधानमन्त्रीबाट पदमुक्त भै काम चलाउमा सीमित सरकारले घोषणा गरेको २ सय १ वुँदे कार्यक्रमलाई वौद्धिक दिवालीयापनको टिप्पणी गरेका छन् ।
कांग्रेस पार्टी कार्यालयमा आज बसेको पूर्व अर्थमन्त्रीहरुको बैठकले संसद नभएको अवस्थामा काम चलाउ सरकारले राष्ट्रलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीति कार्ययोजना अघि सार्न नसक्ने दाबी गरेका छन् । सरकारले आफ्नो महत्वकांक्षी योजना सार्वजनिक गरे लगत्तै विपक्षी दलहरुले विरोध गरेका हुन् ।
बैठक पछि जारी संयुक्त विज्ञप्तिमा सरकारले मन्त्रिपरिषद्बाट एकपछि अर्को तजविधि निर्णय गरी राष्ट्रिय ढुकुटी दुरुपयोग र व्रह्मलुट गर्दै आएको आरोप लगाईएको छ ।
‘संसदको अभावमा कार्यपालिकाको स्वेच्छाचारिता एवं सत्ता दुरुपयोग नियन्त्रण गर्न कुनै संयन्त्र नभएको, देशमा निर्वाचन चाँडो गर्नु पर्ने अवस्था रहेको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा राजनीतिक सहमति विना कामचलाउ सरकारले गर्ने कतिपय कार्यले निर्वाचन समेतमा प्रत्यक्ष प्रभाव पार्ने कुरा निश्चित छ ।’
वर्तमान सरकारका क्रियाकलाप राष्ट्र माथि आर्थिक बोझ थोपर्ने गैर जिम्मेवार र अनैतिक रहेको टिप्पणी गरेका छन् ।
सरकारका त्यस कार्यप्रति गम्भीर आपत्ति रहेको भन्दै पूर्व अर्थमन्त्रीहरुले अनियमित एवम् विवादास्पद निर्णय तुरुन्त रोक्न जोडदार माग गरेका छन् ।
‘त्यस्ता कार्यलाई भविष्यमा बन्ने कुनै पनि सरकारले स्वीकार गर्न नसक्ने कुरा पनि स्पष्ट गर्दछौँ,’ बैठक पछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘अनियमितता, ठाडो अख्तियार दुरुपयोग र भ्रष्टाचारप्रति देशको ऐन, कानून आकर्षित हुनु पर्छ र हुनेछ भन्ने हामी स्पष्ट गर्न चाहन्छौँ ।’
उनीहरुले वर्तमान सरकारको अन्त्य गरी राष्ट्रिय सहमतिको सरकार निर्माणको माग समेत गरेका छन् । त्यसका लागि संविधानको संरक्षकको हैसियतले राष्ट्रपतिले पहल गर्नु पर्ने पूर्व अर्थमन्त्रीहरुको भनाई छ ।
नितान्त दलगत स्वार्थ पूर्तिका लागि सरकारले सरकारी ढुकुटीको चरम दुरुपयोग गरेको, युवा स्वरोजगारका नाममा रहेको अरबौंको कोष राजनीतिक आस्थाका आधारमा वितरण भैरहेको, रिक्त रहेका ११ सचिवको पदमा अपारदर्शी ढंगबाट आफू नजिकका व्यक्तिहरुलाई बढुवा गर्न लागेको, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो त्रिशुली “ए” जस्ता आयोजनाहरुमा अनियमित ढंगबाट विदेशी ठेकेदारको मिलोमतोमा अरबौंको ठगी गरेको आरोप कामचलाउ सरकारलाई उनीहरुले आरोप लगाएका छन् ।
उनीहरुले शहीद, अपाङ्ग र राजनीतिक पीडितका नाममा आफ्ना कार्यकर्ताहरुलाई राज्यको ढुकुटीमा लुट मच्चाएको, द्वन्द्वकालमा अशक्त भएका माओवादीका नाममा अपारदर्शी ढंगबाट परिवारका अन्य सदस्य समेतलाई राज्यको ढुकुटीबाट रकम बाँडिएको, शिविरमा रहेका लडाकूहरुको नाममा एनेकपा (माओवादी) पार्टीले गरेको अरबौंको भ्रष्टाचार, अयोग्य लडाकुलाई रकम बाँड्न लागेको पनि आरोप लगाएका छन् ।
बैठकमा पूर्व अर्थमन्त्री रामशरण महत , भरतमोहन अधिकारी, प्रकाशचन्द्र लोहनी, सुरेन्द्र पाण्डेको सहभागिता रहेको थियो ।

प्रतिक्रिया