राजमार्गका होटलमा एउटै मूल्य

धादिङ : राजमार्गका होटलमा खाना, खाजा खाने उपभोक्ताले अबदेखि एउटै मूल्यमा उपभोग गर्न पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा राजमार्गका होटलका लागि निर्धारण गरिएको अधिकतम मूल्यका आधारमा मूल्यसूची होटलमा टाँसिएपछि यात्रुहरुले एउटै दरमा खाना र खाजा खान पाउने भएका हुन् ।
राजमार्गमा सञ्चालित यात्रु होटलमा जिल्ला अनुगमन समितिले निर्धारण गरेको अधिकतम मूल्यसूची होटलमा टाँसिएको थियो । यात्रुसँग होटलवालाले जथाभावी मूल्य लिएको गुनासो आएपछि संयुक्त बजार अनुगमन समितिले होटलबाट बिक्री हुने खाद्यवस्तुको अधिकतम मूल्य निर्धारण गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल, स्थानीय विकास अधिकारी रमेश न्यौपाने, प्रहरी नायब उपरीक्षक विकासराज खनाल, अनुगमन अधिकृत पुष्पराज पौडेललगायतको सहभागितामा ३९ वटा राजमार्गका होटलमा अधिकतम् मूल्यसूची टाासिएको थियो । राजमार्गको धादिङखण्डमा पार्ने र यात्रुबाहक बस, माइक्रोबस, मिनीबस रोक्ने होटललाई ध्यानमा राखेर अधिकतम मूल्यसूची राख्न निर्देशन गरिएको छ । यात्रुले खाना खाँदा ठगिएमा, निर्धारित मूल्यभन्दा बढी लिए काननुबमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी खरेलले बताए ।
प्याक गरिएका वस्तुमा भने कम्पनीले निर्धारण गरेको मूल्यभन्दा बढी लिन नपाइने, यसरी बढी मूल्य लिएको पाइए कालाबजारी ऐनअनुसार कारबाही गरिने पनि खरेलले बताए । (सौस)

प्रतिक्रिया