६० करोडको आलु उत्पादन

बाग्लुङ, १ कात्तिक । बाग्लुङमा ६० करोड रुपियाँभन्दा बढीको आलु उत्पादन भएको छ ।
गत वर्षको तुलनामा २० प्रतिशतले आलु उत्पादनमा वृद्धि भए पनि ढुवानी समस्याका कारण आलु स्टोरमा थन्क्याएर राख्नुपर्ने बाध्यता रहेको किसानहरूले बताएका छन् ।
आलु उत्पादनका लागि पकेट क्षेत्रका रूपमा मानिएको ढोरपाटन, तारा, अर्गललगायत गाविसमा यो वर्ष अत्यधिक मात्रामा आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय बाग्लुङले जनाएको छ ।
कृषि कार्यालयको तथ्यांक अनुसार ६० करोडभन्दा बढीको आलु उत्पादन भए पनि ढुवानी समस्याका कारण करोडौँ रुपियाँको आलु त्यसै थन्किएको छ । जिल्लामा कुल ३ सय ५७ हेक्टर जमिनमा वर्षे आलु र एक हजार ६२ हेक्टर जमिनमा हिउँदे आलुको खेती गरिन्छ । एक वर्षको अवधिमा १७ हजार पाँच सय ९५ मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय बाग्लुङका विप्लव अधिकारीले बताए ।
बागलुङमा उत्पादन हुने अधिकांश आलु अर्गानिक भएका कारण पोखरा, बुटवल, चितवनलगायत बजारमा आलुको माग अधिक रहेको अधिकारीले बताए । अन्यत्र आलुको तुलनामा बाग्लुङको आलुलाई प्रतिकेजी १० रुपियाँसम्म महँगो तिर्न उपभोक्ता तयार हुने गरेको कृषक कृष्ण कँडेल बताउँछन् । हाल अन्यत्रको आलुको मुल्य ३५ रुपियाँ रहेकोमा ढोरपाटन र ताराखोलाको आलुको मूल्य ४० रुपियाँभन्दा बढी रहेको उनले बताए ।
जिल्ला सदरमुकामदेखि दुई सय किलोमिटर टाढा रहेको ढोरपाटन क्षेत्रमा यातायातको साधन नपुग्दा वर्षेनी करोडौँ रुपियाँको आलु त्यत्तिकै कुहिएर खेर जाने गरेको किसानले बताएका छन् । आलुका लागि मुख्य बजार मानिएको बुर्तिबाङ बजारसम्म चल्ने यातायातका साधन पनि वर्षाका कारण नचल्ने भएपछि ढोरपाटनका किसानलाई बजारको समस्या परेको छ । बुर्तिबाङ बजारबाहेक अन्य कुनै पनि विकल्प नभएको र हवाई मार्ग हँुदै ढुवानी गर्नका लागि ढोरपाटन विमानस्थल सञ्चालन नभएका कारण पनि समस्या भएको स्थानीय निर्मला विकले बताए ।

प्रतिक्रिया