चाउमिन खाँदा बलात्कारी

चन्डिगण : मान्छेले बलात्कार किन गर्छ ? सामाजिक विशृंखलाबाट प्रेरित भएर ? राज्य तथा कानुनप्रति निर्भय भएर ? कि समाज र राज्यलाई अटेर गरेर ? यदि तपाईंको धारणा पनि यस्तै छ भने भारतको हरियाणा राज्यको एक गाउँमा तपाईंलाई कसैले विश्वास गर्दैन । किनकि चाउमिन खाएपछि मान्छेले बलात्कार गर्छ भन्ने धारणाको त्यहाँ दबदबा छ ।
हरियाणा राज्यको जिन्द जिल्लामा सक्रिय खाप पञ्चायतले चाउमिन संस्कृति बढेकाले राज्यमा बलात्कारका घटनामा वृद्धि भएको ठहर गरेको छ । चाउमिन खाँदा हर्मोनको सन्तुलन बिग्रिने र यसबाट मानिस बलात्कारप्रति उन्मुख हुने पञ्चायतको हास्यास्पद तर्क छ ।
‘मेरो बुझाइअनुसार ‘फास्ट फुड’को उपभोगले त्यस्ता (बलात्कारका) घटना बढाएको छ । चाउमिन खाँदा शरीरमा हर्मोनको सन्तुलन खलबलिन्छ र यसले व्यक्तिलाई बलात्कारी बन्न प्रेरित गर्छ,’ पञ्चायतका नेता जितेन्द्र छातरले भने । चाउमिनमा हालिने मसलाले व्यक्तिलाई नराम्रो बाटोतर्फ उन्मुख गराउने भएकाले गाउँका बुज्रुकहरूले हलुका तथा पोषणयुक्त खाना खान गाउँलेलाई सुझाव दिने गरेको उनले बताए ।
हरियाणामा बलात्कारका घटना भइरहन्छन् । गत सेप्टेम्बरमा मात्रै त्यहाँ करिब १२ वटा बलात्कारका घटना सार्वजनिक भएका थिए । केही साताअघि हरियाणाकी एक १६ वर्षीया बालिकाले बलात्कृत भएपछि आत्मदाह गरेकी थिइन् । घटनाको सर्वत्र विरोध भएपछि पीडित परिवारलाई भारतको सत्तारूढ दल कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले घरमै पुगेर दोषीलाई कारबाही गर्ने आश्वासन दिएकी थिइन् । सामूहिक बलात्कारको सिकार भएकी बालिकाले पीडा सहन नसकेपछि शरीरमा आगो लगाई आत्महत्या गरेकी थिइन् । सो घटनापछि खाप पञ्चायतले बलात्कारसम्बन्धमा बहस आरम्भ गरेको थियो ।
गत साता खाप पञ्चायतका नेता सुब सिंहले केटीको विवाह उमेर घटाएर १६ वर्षमा झार्नुपर्ने बताएका थिए । अहिले त्यहाँ केटीको विवाह उमेर १८ वर्ष छ । यो उमेरसमूहका बालिका बढी बलात्कृत हुने भएकाले विवाहको उमेर घटाए समस्या समाधान हुने उनले बताएका थिए । हरियाणाको विपक्षी दलका नेता ओमप्रकाश चउतलाले समेत खाप पञ्चायतको मागको समर्थन गरेका थिए । सत्तारूढ कंग्रेस दलका राज्यप्रमुख फुलचन्द मुल्लाना र शिक्षामन्त्री गीता भुक्कलले राज्य सरकारलाई अलोकप्रिय बनाउन सुनियोजित रूपमा बलात्कारका घटना हुने गरेको आरोप लगाएका थिए । (एजेन्सी)

प्रतिक्रिया