सानो पर्दा आमा, ठूलो पर्दा श्रीमती

मैले २०५१ सालताका निर्माण भएको फिल्म रक्षकबाट नेपाली चलचित्रमा ब्रेक पाएको हुँ । त्यो मेरो मात्र नभएर निर्देशक ज्ञानेन्द्र देउजाको पनि ब्रेक मुभी थियो । सानो पर्दामा सँगै काम गरिसकेकाले त्यस्तो गाह्रो त थिएन । सानो पर्दाबाट मैले हास्य कलाकारको परिचय कमाइसकेको थिएँ ।
ब्रेकिङ चलचित्र पनि राम्रो होस् भन्ने ठुलो धोको थियो । त्यसैले सकेजति मेहनत गर्नुपर्छ भन्ने लागेको थियो । चलचित्र खेल्ने कुराले मन पनि उत्तिकै उत्साहित थियो ।
रक्षकका लागि दिएको पहिलो सट निर्देशक देउजाले एकै टेकमा ओके गर्नुभयो । ठूलो पर्दाको अनुभव नभएकाले दुई–तिन टेक त कसो नलाग्ला भन्ने लागेको थियो । तर, पहिलो डाइलग सकिनेबित्तिकै निर्देशक देउजाले ताली पड्काउनुभयो । ममा अझ उत्साह थपिएर आयो । पछि पनि सो चलचित्रमा मेरै व्यक्तिगत कारणले कुनै सट रिटेक गर्नुपरेको मलाई थाहा छैन ।
निर्देशक देउजाकै कारण सो चलचित्रमा ब्रेक पाएको थिए । सानो पर्दामा सँगै काम गरिसकेकाले मलाई लिने निर्णय गरिसक्नुभएको रहेछ । सुन्दरीजलमा रातिराति सुटिङ गर्नुपर्दा निकै नौलो लागेको थियो, केही गाह्रो पनि । तर, आफूले खेलेको फिल्म ठूलो पर्दामा आउँदै छ भन्ने कुराले ठूलो हर्ष लाग्थ्यो । सोच्थेँ, सहरका गल्लीगल्लीमा ठूल्ठूला पोस्टर लाग्नेछन् । चलचित्र राम्रो बन्यो तर व्यापार भने गर्न सकेन ।
पहिलो पटक चलचित्रमा अभिनय गर्दा ८ हजार रुपियाँ पारिश्रमिक पाएको थिएँ । त्यो समयमा आठ हजारको महत्त्व धेरै हुन्थ्यो । मैले त्यो पैसा श्रीमतीलाई दिएँ, उनी एकदमै खुसी भएकी थिइन् । अहिलेसम्म करिब १५ वटा चलचित्रमा काम गरेको छु । पछिल्लो चलचित्र हो, ‘सुन्दर मेरो नाम’  । यसले व्यापारिक हिसाबमा पनि राम्रै गरेको थियो । ढाड कुप्रो बनाएर हिँड्ने अपांगता भएको व्यक्तिको अभिनय गर्नुपर्ने भएकाले सुटिङ सकिँदाताका मेरो ढाडै कुप्रो पो भएको थियो । अभिनय गरेका मध्ये मलाई शारीरिक रूपमा समस्या परेको चलचित्र पनि यही नै हो ।
चलचित्रअघि पनि सानो पर्दाका ट्वाक्कटुक्क, काउकुती लगायत हास्य सिरियलमा अभिनय गरिसकेको थिएँ । सानो पर्दामा ब्रेक गरेको ट्वाक्कटुक्क बाटै हो । पहिलोचोटि क्यामेराअघि अभिनय गर्दा एकदमै डर लागेको थियो । डाइरेक्टर दिनेश डिसी एकदमै कडा हुनुहुन्थ्यो । गाली गरीगरी सिकाउनु हुन्थ्यो । मैले पनि सुरुसुरुमा चाहिँ निर्देशकको खप्की सहनु परेको थियो । क्यामेरामा कसरी हेर्नेलगायत अन्य धेरै कुरामा गाह्रो भएको थियो । सोच्थेँ, कहिलेचाहिँ आनन्दसँग अभिनय गर्न सक्ने भइएला । तर, अहिले पनि त्यो सोचाइ कायमै छ किनकि अभिनय गर्न कहिल्यै पनि सजिलो रहेनछ । ढुक्कले आनन्दसाथ लिनै नसकिने । ‘राम्रो गरिनँ कि †’ भन्ने कौतूहलता अहिले पनि लागिरहन्छ । मेरो भोगाइका आधारमा हेर्दा मलाई सानो पर्दा आमाजस्तो लाग्छ भने ठूलो पर्दा श्रीमतीजस्तो । किनकि मलाई सानो पर्दाले जन्माउने, हुर्काउने र बढाउने काम गर्‍यो । हुर्किसकेपछि छोरोले बिहे गरेजस्तै बन्यो ठूलो पर्दा । कसैले श्रीमतीलाई माया गर्छन् तर म चाहिँ आमालाई माया गर्छु । अर्थात् सानो पर्दालाई, जसले मलाई ठूलो पर्दामा ल्याउन मद्दत गर्‍यो ।

प्रस्तुति : विशाल राई

प्रतिक्रिया