दसैंको कथा, गरिबको व्यथा

हिन्दू धर्मावलम्वीहरूको महान चाड बडादसैँ हाम्रो घर आँगनमै आइसकेको छ । संचारमाध्यममा दसैँका धुन बज्न थालिसके । शुभकामना आदानप्रदानको लहर चल्न थालिसक्यो । सहर बजारमा किनमेल गर्नेहरूको घुँइचो पनि बढ्दो छ । विदेश गएका दाजुभाइ दिदीबहिनीहरू घर आउने सुरसारमा छन् भने सहरमा रहेकाहरू पनि गाउँ फर्किने तरखरमा छन् । ढिलै भए पनि यस वर्ष दसैँको उल्लासमय वातावरणले सबैलाई छोइसकेको छ । सबैको मनमा दसँैले बास गरिसकेको छ । यही दसँै एक छाक खान र लाउन समेत धौ–धौ हुने परिवारका लागि दशा सावित हुन पुगेको छ । असत्य माथी सत्यको विजय स्वरूप मनाइने यो पर्व अधिकांशका लागि दशा बन्न पुगेको छ भने केहीलाई मात्र दसैँको महसुस हुन थालेको छ । हुने, खाने र कालाबजारिया गर्नेका लागि मात्र दसैँ तामझमका साथ आउने गर्छ । यी बाहेक अरूका लागि दशा सावित बनेको छ । ‘दसँै आयो खाउँला पिउँला’ भनेर रमाउने छोराछोरीको मुखमा एक गाँस मासु ख्वाउन नसक्दा को चाँही आमाबुवाको मन नरोला र ?
छोराछोरीको चाहना पुरा गर्ने धुनमा घरघडेरी बेचेर दसँै मनाउन पनि त भएन । सामान्य आय भएकाहरूले सामान्यस्तरबाट पनि दसैँ मान्न नसक्ने अवस्था आइसकेको छ । नेपालीमा एउटा उखानै छ ‘आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई’ । हो, यस्तै छ आम सर्वसाधारणको अवस्था । कृत्रिम महंगी र अभावले आम नेपालीको ढाड सेकिसकेको अवस्था छ । त्यसमाथि अनुगमनको नाममा हुने कालाकर्तुत र व्यापारीहरूको मनोमानीका कारण सर्वसाधारणलाई छाक टार्न समेत मुस्किल पर्न थालेका छन् । यस्तो अवस्थामा धुमधामका साथ दसँै मनाउनु केवल सपना सावित बन्न पुगेको छ ।
यतिखेर हुँदाखाने मात्रै होइन हुनेखानेहरूको भान्छामा समेत ‘छैन’ भन्ने बोलीको बास बसेको छ । समयानुकुल सान्दर्भिक मूल्यवृद्धिलाई नकार्न मिल्दैन तर अस्वभाविक र अव्यवहारिक मूल्यवृद्धिलाई भने स्वीकार गर्न सकिँदैन । बिडम्वना हामी यस्तै मूल्यवृद्धिको सिकार हुनु परेको छ । दैनिक उपभोगमा आउने वस्तुदेखि अत्यावश्यक वस्तुहरूमा समेत उच्चदरमा मूल्यवृद्धि भइरहेको छ । यसविरुद्ध आवाज उठेसँगै सरकारले केही खाद्यान्नमा अधिकतम मूल्य निर्धारण गरिदिएको थियो तर यो पनि एकादेशको कथा सावित बन्न पुगेको छ । व्यवसायीहरूको रोहवरमा निर्धारण गरिएको उक्त एमआरपीले जनतालाई राहत होइन, आश्वासन मात्रै दिएको छ । जनताको आँखामा भ्रम छर्नकै लागि मात्रै एमआरपी लागू गरेको देखिन्छ । किनकी एकातिर यो व्यवहारिक हुन सकेको छैन भने अर्काेतिर व्यवसायीहरूकै सहमतिमा उनीहरूकै पक्षमा निर्धारण गरेको गुनासो यथार्थ नजिक छ । हुन त यो एउटा सरकारको बजार हस्तक्षेपको आधारबिम्ब हो तर मात्र नाटकको रूप लिएको आभास हुन थालेको छ । प्रधानमन्त्रीको कुर्सीमा बस्नासाथ राहतको पोको ल्याएर जनताको वाहवाह बटुलेका प्रम भट्टराई पनि यतिखेर सेलाएका छन् । जनहितका कार्यक्रमभन्दा पनि जनचासोका कार्यक्रमहरू ल्याएर लोकप्रिय बन्न खोजेको भानमात्रै गराएको छ । भुईको टिप्न खोज्दा पोल्टाको खसे जस्तै लोकप्रिय कमाउने नाममा उल्टै भएको लोकप्रियता पनि गुमाउन पुगेको छ । महँगीले आकाश छोइरहँदा सरकार भने धमिलो पोखरीमा आफ्नो अनुहार हेर्नै ब्यस्त छन् । जनतालाई वर्षमा एकपटक आउने दसैँ दशासावित भइरहँदा सत्ता केन्द्रीत दलहरूलाई दिनहँु दसैँ लागिरहेको छ । सरकारले करिब ९ प्रतिशत मूल्यवृद्धि भएको तथ्यांकमा देखाए पनि व्यवहारमा यो फिटिक्कै सुहाउँदैन ।
व्यवसायीहरू मालामाल हुने अवसर दसैँ नजिकिरहँदा हरेक वस्तुको बजारभाउ अकासिएको छ । अहिले बजारमा अत्यावश्यक आयो नुनदेखि सुनसम्मको मूल्यवृद्धि भइरहेको छ । आयो नुनको मूल्यसमेत पसलैपिच्छे फरक पाइन्छ । तरकारी, गेडागुडी र अन्य आवश्यकस्तरका वस्तुहरूको मूल्यवृद्धिको कुनै सीमा नै छैन । गोदाममा सामान थन्काएर मूल्यवृद्धि गर्न सामान नभएको नाटक गर्ने व्यापारीको कर्तुत भनिरहन पर्दैन । अनुगमन गर्ने निकायलाई झुक्याएर र नसके लोभ्याएरै भए पनि बजारलाई नियन्त्रणमा लिने व्यवसायीहरूका कारण बजार नियन्त्रण बाहिर गएको हो । यस्तो बजारमा न उत्पादकले उचित लाभ प्राप्त गर्न सक्छ न त उपभोक्ताले सर्वसुलभ मूल्यमा वस्तुको उपभोग गर्न पाउँछ । यस्तो महँगीको अवस्थामा दसँै आएर रमाउनेहरू भन्दा दु:खी हुनेहरूको जमात बाक्लो छ । अर्थात्, महान पर्वको रूपमा लिइने बडादसैँ समेत महँगीको मारमा परेको छ । दसँैको कथा भन्दा गरिबहरूको व्यथा दर्दनाक छ । यहाँ राजनीतिक दलहरू पलपल रिसोर्ट र तारेहोटलमा मोजमस्ती गरेर दसँै मनाइरहेका छन् । जनताको नाममा राजनीति गर्नेहरूले छाक टार्न धौ–धौ हुने जनतालाई मुख देखाउने चेष्टासम्म गर्न सकेका छैनन् ।

प्रतिक्रिया