युनिटीको दुई अर्बको सम्पत्ति नष्ट

काठमाडौं, १ कात्तिक । सरकारको अनिर्णयका कारण युनिटी लाइफ इन्टरनेसनलको स्वामित्वमा रहेको करिब २ अर्ब रुपियाँ बराबरको सम्पत्ति नष्ट हुने स्थितिमा पुगेको छ । दुई वर्षअगाडि सरकारले युनिटीलाई प्रतिबन्ध लगाउनुका साथै यसका सबै व्यापारिक तथा सामाजिक कार्यमा पनि रोक लगाएको थियो ।

युनिटीलाई प्रतिबन्ध गरेको दुई वर्षसम्म सरकारले थप कुनै कदम चालेको छैन । फलस्वरूप युनिटीद्वारा सञ्चालित सबै व्यवसाय अहिले अलपत्र अवस्थामा छन् । युनिटीअन्तर्गतका अस्पताल तथा डिपार्टमेन्टल स्टोरका सामग्री दुई वर्षदेखि स्टोरमा थन्किँदा काम नलाग्ने भएका छन् । युनिटीले काठमाडांै, कास्कीलगायत विभिन्न जिल्लामा १९ वटा डिपार्टमेन्टल स्टोर र १७ वटा अस्पताल सञ्चालन गर्दै आएको थियो ।
युनिटी उपभोक्ता समितिका अध्यक्ष रामलाल गिरीले डिपार्टमेन्ट स्टोर र अस्पतालका सामग्री दुई वर्षदेखि प्रयोग नभएकाले कामै नलाग्ने अवस्थामा पुगेको बताए । उनले भने, ‘डिपार्टमेन्ट स्टोर दुई वर्षदेखि बन्द छन् । कति सामान चोरी भए, कति मक्किए, कति बिग्रिए, कुनै रेकर्ड छैन ।’
२ जेठ ०६७ मा युनिटीले अवैध रूपमा जनताको ठूलो रकम संकलन गरेको भन्दै प्रहरीले सञ्चालकहरूलाई पक्राउ गरेको थियो । त्यसलगतै युनिटीमातहतका डिपार्टमेन्ट स्टोर, अस्पताल, उद्योग मात्र नभई सम्पूर्ण कारोबार बन्द भएका हुन् । यसबीचमा न नेटवर्किङ व्यवसायलाई कानुनी दायरामा ल्याइएको छ न त युनिटीका सदस्यहरूको पैसा फिर्ता दिलाइएको छ । संस्थापकहरूले ‘लाइन लगाएर सबैको पैसा फिर्ता दिन्छौँ’ भन्दा पनि सरकारी निकायले वास्ता गरेको छैन ।
अस्पतालमा रहेका एआरआई मेसिन, सिटिस्क्यान, एक्स–रे मेसिनलगायत अत्याधुनिक उपचार सामग्री कति स्टोरमा थन्किएका छन् भने, कति विभिन्न अस्पतालले सित्तैमा सञ्चालन गरिरहेका छन् । युनिटीको नाममा तीन सय रोपनीभन्दा धेरै जग्गा रहेको कम्पनीको रेकर्ड फाइलमा देखिन्छ । तर, ती जग्गा कुन अवस्था छन्, कसैलाई थाहा छैन । —रुपन्देहीमा भएको युनिटीको एक बिघा जग्गा जसले बेचेको थियो उसैले भोगचलन गरिरहेको गिरीले बताए । ‘मुलुकभर युनिटीका नाममा तीन सय रोपनीभन्दा धेरै जग्गा छ भनिएको छ तर ती जग्गा कहाँ, कुन अवस्थामा छन्, त्यसको कुनै रेकर्ड छैन । मलाई लाग्छ, सबै जग्गा दलालहरूले दुरुपयोग गरिसके ।’
युनिटीले व्यवसाय गर्ने क्रममा अन्य स्वतन्त्र व्यवसायीसँग समेत सहकार्य गरेको थियो । त्यस्ता उद्योगमा युनिटीको ५० प्रतिशतभन्दा धेरै सेयर थियो । युनिटी बन्द हुँदा सबै सेयर उद्योगका मालिकले एकलौटी रूपमा उपभोग गर्दै आएका छन् । युनिटी स्रोतका अनुसार बेम्वो प्लाइउडमा युनिटीले ६० प्रतिशत सेयर हालेको थियो, अहिले ती सबै सेयर उद्योग सञ्चालन गर्नेले आफूखुसी किनबेच गरिरहेका छन् । चितवनमा रहेको दुग्ध डेरी उद्योग र युनिटी सोप इन्ड्रस्ट्रिजको स्थिति पनि त्यस्तै छ ।
युनिटीको कुल सम्पत्ति ४ अर्ब रुपियाँ भएको अनुमान छ । यसले प्रतिव्यक्ति १५ हजार रुपियाँ उठाएर ६ लाख जना सदस्य बनाएको थियो । यसरी पैसा हाल्नेमा सहरी मात्रै नभएर ग्रामीण क्षेत्रका निम्न आय भएका जनतासमेत अत्यधिक संख्यामा छन् । युनिटीको सम्पत्ति नष्ट हुुनुले यसका ६ लाख सदस्यमा चिन्ता छाएको छ ।
‘बाँकी सम्पत्ति जोगाउन सके मात्रै पनि जनताको रगत–पसिनाको कमाइ धेरथोर जोगिन्थ्यो,’ युनिटीका एक संस्थापकले भने, ‘सञ्चालक समितिका सदस्यलाई जेल हालेपछि जनताको सम्पत्ति जोगाउन सरकारले कुनै पहल गरेन ।’ कतिपय सम्पत्ति त सञ्चालक समिति सदस्यको आफन्तका नाममा समेत नामसारी भएको उनले बताए । ‘जनताको पैसा जनतालाई नै फिर्ता गर्न राज्यले चाँडो पहल नगरे बाँकी भएको दुई अर्ब बराबरको सम्पत्ति पनि मासिने निश्चित छ ।’
यता, सरकारी अधिकारीहरू भने युनिटीको मुद्दा अदालतमा विचाराधीन रहेकाले केही बोल्न नमिल्ने भन्दै पन्छिन्छन् । गृहका प्रवक्ता शंकर कोइरालाले भने, ‘अदालतले फैसला नगरेसम्म हामीले केही गर्न मिल्दैन, बोल्न पनि मिल्दैन ।’ जनताको सम्पत्ति रक्षा गर्नु सरकारको दायित्व होइन र भन्ने प्रश्नमा उनी केही बोल्न चाहेनन् ।
सिआइबी प्रमुख डिआइजी उपेन्द्रकान्त अर्यालले युनिटीको व्यवसायबारे प्रहरी अनुसन्धान गरी सम्पूर्ण विवरण अदालतमा बुझाएको बताए । ‘मुद्दा अदालतमा अझै पनि विचाराधीन छ । अदालतले फैसला नगरेसम्म हामीले केही बोल्न मिल्दैन,’ उनले भने । युनिटीका नाममा रहेका सम्पत्ति नष्ट हुँदै गएको आफूले पनि सुनेको तर केही गर्न नसक्ने उनको भनाइ छ ।
युनिटी लाइफ इन्टरनेसनलको प्रधानकार्यालय रहेको जावलाखेलस्थित भव्य टावर अहिले प्रयोगविहिन छ । सरकारले युनिटीमाथी कारवाही गरेपछि टावर पनि बन्द भएको थियो । त्यतिबेला आक्रोशित समुहले युनिटी टावरमा आगजनी गर्दा पनि ठूलो क्षति पुगेको थियो । युनिटीमाथिको मुद्दा दुई वर्षदेखि काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । यति धेरै मानिसको सरोकारसित जोडिएको मुद्दालाई चाँडो किनारा लाउन अदालतले पनि कुनै तदारुकता देखाएको छैन ।

प्रतिक्रिया