काठमाडौं, १ कात्तिक । राष्ट्रिय स्वाधीनताका लागि भन्दै भारतविरोधी अभियान चलाइरहेको नेकपा–माओवादीले काठमाडौंको चोभारमा रहेको हिमाल सिमेन्ट कारखाना कब्जा गर्ने तयारी गरेको छ । उद्योगमन्त्री अनिलकुमार झाले कारखानाको मेसिन–औजार कौडीको भाउमा बेच्न लागेको भन्दै उसको भ्रातृसंगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले कारखाना कब्जामा लिने तयारी गरेको हो ।
मन्त्री झाले लाखाँै कमिसन लिएर कारखानाको मेसिन–औजार कौडीको भाउमा बेच्न लागेकाले कारखाना कब्जाको तयारी गरिएको क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष रामदीप आचार्यले बताए । ‘राष्ट्रिय उद्योग ध्वस्त पारेर मेसिन–औजार कौडीको भाउमा बेच्ने, विदेशी पँुजीलाई देशमा लुट्न निम्त्याउनेलाई जनकारबाही गरिन्छ,’ अध्यक्ष आचार्यले भने, ‘हिमाल सिमेन्टको कारखाना कब्जा गरेर हामी अभियानको सुरुआत गर्दै छौँ ।’ कारखानाका मेसिन र औजार कबाडी भाउमा बेच्ने पहल भइरहेको समाचार सार्वजनिक भएलगत्तै क्रान्तिकारी ट्ेरड युनियनले यस्तो तयारी गरेको बताइन्छ । उद्योगमन्त्री अनिलकुमार झाले नै कारखानाका मेसिन कबाडीको भाउमा बेच्ने पहल गरेको स्रोतको दाबी छ । काठमाडांैको चोभारमा रहेको हिमाल सिमेन्ट कारखानाको कारणले राजधानी प्रदूषित भएको भन्दै ०५८ सालमा बन्द भएको थियो ।
मन्त्री झाले १० करोडभन्दा बढी कमिसनको लोभमा कारखानाको सामान बेच्ने चलखेल गरेको स्रोत बताउँछ । अध्यक्ष आचार्यले पनि सोमबार नै ठेकेदार र मन्त्रीबीच सम्झौता भएको दाबी गरे । ‘सोमबार नै कारखानाको सामान बेच्ने विषयमा ठेकेदारसँग सम्झौता भएको छ,’ उनले भने, ‘कारखानाका मेसिनहरू २१/२२ करोडमा बेच्ने सम्झौता र कानुनी प्रक्रिया पूरा भइसकेको थाहा पाएका छौँ ।’ उनका अनुसार ट्रेड युनियन महासंघले हिमाल सिमेन्ट कारखाना कब्जा गर्ने सबै योजना बनाइसकेको छ । ‘हामी हिमाल सिमेन्ट कारखानामा झन्डा गाडेर नियन्त्रणमा लिन्छौँ,’ उनले भने ।
हिमाल सिमेन्ट कारखानाको सामान बेच्न यसअघिका उद्योगमन्त्रीहरूले प्रयास गरे पनि असफल हुँदै आएका थिए । सरकारले हिमाल सिमेन्टको खाली जग्गामा थापाथलीबाट विस्थापित सुकुम्बासी राख्ने तयारी गरे पनि स्थानीयवासीको विरोधपछि सुकुम्बासी राख्ने सरकारी प्रयास असफल भएको थियो । हिमाल सिमेन्ट कारखानाको मेसिनसँगै जग्गा हात पार्न पनि भू–माफिया लागिपरेको स्रोतको दाबी छ । हिमाल सिमेन्ट कब्जापछि अन्य रुग्ण उद्योग पनि कब्जामा लिएर पुन:सञ्चालनका लागि सरकारलाई दबाब दिइने अध्यक्ष अचार्यले बताए । विदेशी पँुजीपतिलाई लुट्न दिनेहरूलाई जनकारबाही गर्ने तयारी भइरहेको पनि उनले बताए । स्रोतका अनुसार यससँगै कारबाहीको अभियानलाई तीव्र बनाउने तयारीमा ट्रेड युनियन महासंघ लागेको छ । महासंघले राष्ट्रिय युवा जनस्वयंसेवकले पनि साथ दिने बताइएको छ ।
प्रतिक्रिया