हुम्ला, १ कात्तिक । चाडपर्वको मुखमा आएर हुम्लाका लागि उडान भर्दै आएका निजी क्षेत्रका हवाई कम्पनीले भाडा वृद्धि गर्दा यात्रु मर्कामा परेका छन् । भाडा वृद्धिसँगै हुम्लाका बासिन्दा नेपालगन्ज र सुर्खेतको विमानस्थलमै अलपत्र परेका छन् ।
हुम्लाका लागि प्रतियात्रु १० हजार रुपियाँ लिँदै आएका विमान कम्पनीले एकाएक ११ देखि १३ हजार रुपियाँसम्म लिएपछि यात्रु घर आउन समस्यामा परेका हुन् । नेपालगन्ज र सुर्खेतमा भएका तथा काठमाडांैलगायत सहरमा रहेकाहरू अलपत्र परेको रविकुमार बस्नेतले
जानकारी दिए ।
असारमा नेपालगन्ज र सुर्खेतदेखि नियमित उडान भर्दै आएका विमान कम्पनीले दसैँको मुखमा गैरकानुनी रूपमा भाडा बढाएको हिल्सा टुर एन्ड ट्राभल्सका विष्णु रावतले बताए । पछिल्लो समय गोमा एयरले भाडा वृद्धि गरेको हो ।
हवाई भाडामा २० देखि ३० प्रतिशतसम्म वृद्धि गरेका विमान कम्पनीले सिमीकोटमा ल्याउन लागिएको सामानमा समेतमा मनोमानी भाडा असुलेका छन् । प्रतिकेजी ९५ देखि १ सय ५ रुपियाँसम्म लिएर सामान ढुवानी गर्दै आएका विमान कम्पनीले १ सय ३० रुपियाँ असुलेका छन् । गोमा एयरका केही प्रतिनिधिले लिखित रूपमा प्रतिटिकट ११ हजार रुपियाँ उल्लेख गरेको भए पनि आन्तरिक टिकट मिलाइदिएको भन्दै १३ देखि १५ हजार रुपियाँसम्म लिने गरेका छन् ।
प्रतिक्रिया