महिला बेचबिखनमा नेपालगन्ज नाकाको प्रयोग बढ्दो

नेपालगन्ज,  १  कात्तिक । पछिल्लो समय नेपालगन्ज नाका भएर भारत हुँदै गैरकानुनी तरिकाले खाडीमुलुक जाने महिलाको संख्या बढेको छ । नागरिकता र पासपोर्टमा उमेर बढाएर भारतीय बाटो भएर खाडी मुलुक जाने महिलाको संख्या बढेको हो ।

खाडी मुलुक पुर्‍याउन लागिएकामध्ये केही महिलालाई प्रहरी र मानव बेचखिनविरुद्ध कार्यरत संघसंस्थाले सीमामा रोक्छन् भने कति त उनीहरूलाई छकाएर जान सफल हुने गरेका छन् । नेपालगन्ज नाका हुँदै भारत पुर्‍याइएका महिलालाई एक महिनासम्म दिल्ली र मुम्बईमा राखेर खाडी मुलुकमा पठाइने गरेको प्रहरीले जनाएको छ ।
तीमध्ये धेरै महिला दिल्ली र मुम्बईबाटै भारतमा बेचिने र दलालबाटै यौन शोषणमा पर्ने गरेको माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले जानकारी दिए । माइती नेपालले नेपालगन्ज नाकामा आव ०६८/६९ मा जोखिमपूर्ण यात्रामा रही सिमानाबाट २ सय ४५ जनालाई उद्धार गरी आवधिक गृहमा राखेको जानकारी दिएको छ । त्यस्तै, मानव बेचबिखन तथा सुरक्षित बसाइँ–सराइबारे जानकारी दिएर २ सय ५५ जनालाई परिवारको जिम्मा लगाइएको छ ।
बाँके प्रहरीका अनुसार आर्थिक वर्ष ०६७/६८ मा मानव बेचबिखनका १५ मुद्दा परेका थिए भने ०६८/६९ मा ५ जनाविरुद्ध मुद्दा चलाइएको छ । साउनयता तीनविरुद्ध मुद्दा चलाइएको बाँके प्रहरीले जानकारी दिएको छ ।
‘मुख्य नाकामा कडाइ गरेपछि दलालले सहायक तथा भिडभाड नहुने ठाउँबाट लैजान थालेका छन्,’ माइती नेपालका नेपालगन्ज संयोजक कोइरालाले भने, ‘भारतीय बाटो भएर गैरकानुनी ढंगले खाडी पुर्‍याएर अलपत्र पारिएका महिलाको उद्धार प्रयास विफल हुने गरेको छ ।’
ती मुलुकमा उद्धारसंयन्त्र नहुँदा र एउटाको पासपोर्टबाट अर्को जाने जस्ता गैरकानुनी कामले उद्धारमा कठिनाइ हुने गरेको माइती नेपालले जनाएको छ । केही दिनअघि मात्र प्रहरी र माइती नेपालले जोखिमपूर्ण तरिकाले भारतीय बाटो भएर विदेश जान लागेका दुई महिलालाई नेपाल–भारत सीमा जमुनाहाबाट उद्धार गरेको छ । भोजपुर र दाङका ती महिलालाई दलालले नि:शुल्क भिसा र टिकटको प्रलोभन देखाएर खाडी लैजान खोज्दा मंगलबार उद्धार गरिएको हो ।
भोजपुर वैकुण्ठे–३ की २५ वर्षीया सुनिता मगर र दाङ शान्तिनगर–६ की ३७ वर्षीया रीमा विकलाई एउटै रिक्सामा बसेर रुपैडिहातर्फ जान लाग्दा शंका लागेर माइती नेपालका कर्मचारीले केरकार गर्दा तथ्य खुलेको हो । पछिल्लो समय नि:शुल्क भिसा र टिकट दिएर विदेश पठाएर जोखिमपूर्ण काममा लगाउने गिरोह सक्रिय भएको छ ।

प्रतिक्रिया