महिनावारी हुँदा बाहुनधारामा प्रतिबन्ध

दैलेख, १ कात्तिक । दैलेखको वस्तकोट गाउँमा चार जातिका चारवटा धारामध्ये दुई धारा सुधारिएका छन् । गाविसका ९३ हजार रुपियाँको लगानीमा धारा सुधारिएका हुन् ।

परापूर्वकालदेखि बेग्लाबेग्लै रूपमा बनाइएका चार धारा एकै ठाउँमा भए पनि दलित र गैरदलित समुदायले छुट्टाछुट्टै प्रयोग गरिरहेका छन् । धारा रहेको स्थानलाई बाहुनधाराले चिनिन्छ । छुवाछुतको अन्त्य भए पनि उच्च जातिका मानिसले प्रयोग गर्ने धारामा पुरानै संस्कारका कारण छाउपडी कायम छ । स्थानीयका अनुसार धाराहरू जनसंख्या र जातिकै आधारमा पहिले निर्माण गरिएका थिए । चार धारामध्ये दमार्इं, कामी, कार्की र बाहुन समुदायले प्रयोग गर्ने गरेको मन्नामे नेपालीले बताए । केही महिनाअघि दलितका धारा सुधारिएपछि कथित माथिल्लो जातिले पनि दलितको धारामा पानी भर्न थालेको खड्के नेपालीले जानकारी दिए ।
‘अझै पनि माथिल्लो जातका व्यक्तिलाई अगाडि पानी भर्न दिएपछि मात्र हाम्रो पालो आउँछ,’ उनले गुनासो पोखे । दलितधारा मर्मत गरिए पनि दलित समुदायलाई माथिल्लो जातकाले काम गर्न नदिएको ललिता नेपालीले बताइन् । ‘महिलाले काम गर्न सक्दैनौ, घर जाऊ भनेर हकारे, कामै नगरी घर फर्कियौँ  । धारामा अझै पनि महिलाले छुवाछुत गर्छन्,’ उनले भनिन् ।
जबमुकाँध–८ घर भएका सामाजिक कार्यकर्ता हिमबहादुर कार्कीले गाउँमा चार जातिका समुदायको मात्र बसोवास भएकाले जातिगत आधारमा परापूर्वकालमा धारा निर्माण गरिए पनि हाल मर्मत गरिएका दलितधारामा खानेपानी र छुइनेरीका लागि प्रयोग हुने गरेको बताए । ‘धारामा दलित र गैरदलितले खानेपानीका लागि प्रयोग गर्छन् र अर्को धारामा छाउपडीलाई नुहाउन र कपडा धुन प्रयोग गरिएको छ,’ उनले जानकारी दिए ।
उच्च जातिकाले प्रयोग गर्ने दुई धारा जीर्ण भएकाले सबै जातिले दलितधाराकै पानी पिउने गरेका छन् । दलित र गैरदलितबीचको छुवाछुत विस्तारै हट्दै गए पनि दलित–दलितबीचको छुवाछुत कायमै रहेको छ,’ उनले भने ।

प्रतिक्रिया