आन्दोलनरत दलहरूबीच मतभेद

राजविराज, १ कात्तिक । भ्रष्टाचारविरुद्ध १५ दिनअघिदेखि आन्दोलनरत सप्तरीका १० दलले आन्दोलन फिर्ता लिएका छन् ।

जिल्ला विकास समिति तथा स्थानीय प्रशासनको दबाबमा परेर दलहरूले आन्दोलन फिर्ता लिएका छन् । सप्तरीका सिडिओ हरिराज पन्तको अध्यक्षतामा सोमबार बसेको बैठकमा आन्दोलनरत दललाई समेत सहभागी गराई विकासका कामको अनुगमन गर्ने सहमतिकै आधारमा दलले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको घोषणा गरेका छन् ।
दलहरूद्वारा जारी विज्ञप्तिमा आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिँदै माग पूरा नभए पुन: आन्दोलनमा उत्रिने जनाइए पनि उनीहरूले दबाबमा परेर आन्दोलन फिर्ता लिएको बताइएको छ । जिविसमा भएको अनियमितता छानबिनका लागि मन्त्रालयस्तरीय टोलीको माग गर्दै आएका दलहरूले टोली आउन नदिएको आरोपमा एलडिओ र सिडिओको पुत्लासमेत दहन गरेका थिए । तर, सामान्य अवस्थामा दलहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि शंका उत्पन्न भएको आन्दोलनकारी मधेसी जनअधिकार फोरम गणतान्त्रिकका निरज मुक्तिले बताए ।
आन्दोलनमा रहेका मधेसी जनाधिकार फोरम गणतान्त्रिक र राष्ट्रिय समाजवादी पार्टीलगायत तीन दलले भने आन्दोलन यथावत् रहेको जनाएका छन् । उनीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गरी अनियमितताको छानबिन नभएसम्म आफूहरू आन्दोलनबाट पछि नहट्ने जनाएका छन् । १० दलले आन्दोलन फिर्ता लिएर आफूहरूलाई धोका दिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया