काठमाडौं, ३० असोज । राजधानीको सतुंगलस्थित चौधरी ग्रुपको सिजी कम्पनीमा भएको भीषण आगलागी गोदाम ध्वस्त भएपछि अन्तत: आफँ नियन्त्रणमा आयो । कम्पनीको गोदाममा आइतबार साँझ ५ बजे आगलागी भएको थियो, नियन्त्रणमा आयो सोमबार दिउँसो २ बजे पछि मात्र । त्यसबेलासम्म गोदामका ८५ प्रतिशत सामग्री जलेर नष्ट भइसकेका थिए ।
नियन्त्रणका लागि अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका अत्याधुनिक दुईवटै दमकलसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जुद्ध वारुणयन्त्रमा रहेका सबै दमकल प्रयोग भए । तर, प्रयास निश्प्रभावी बन्यो । २१ घन्टा दन्किएको आगोले हेर्दाहेर्दै एक अर्बभन्दा धेरै मूल्य बराबरको धनमाल खरानी बनायो । महानगरी प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी जयबहादुर चन्दले भने, ‘आगो नियन्त्रणभन्दा बाहिर गयो, हामीले अथक प्रयास गर्यौँ तर सकेनाँ । सोमबार २ बजे बल्लतल्ल नियन्त्रणमा आयो । त्यो पनि हाम्रो प्रयासले नियन्त्रण भएको होइन, आफैँ निभ्यो ।’
चन्दका अनुसार आगो नियन्त्रण गर्न नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका गरी तीन सय ५० भन्दा बढी सुरक्षाकर्मी अन्तिम क्षणसम्म पनि खटिए । उनले भने, ‘हाम्रो प्रयासले गोदाममा रहेका १५ प्रतिशत सामग्री जोगिए तर पूर्णरूपमा जोगाउन सकिएन ।’
२४ रोपनी क्षेत्रफलमा फैलिएको थियो गोदाम । सामग्री लोड–अनलोड गर्ने क्षेत्रतर्फबाट आगो सल्किन सुरु गर्यो । गोदाममा कार्टुन थिए । आगोले कार्टुन भेटेपछि दन्किँदै अन्यत्र फैलियो । एसएसपी चन्दका अनुसार आगोले टेलिभिजन, ओभन, मोबाइललगायत प्रज्वलनशील वस्तु भेटेपछि नियन्त्रण नै गर्न नसकिने गरी भीषण बन्यो ।
गोदाम ठूलो छ तर बाटो साँघुरो छ । आगलागी भएका सबै गोदाममा दमकलको पहुँच सहज नभएकाले पनि गोदाम ध्वस्त बन्यो । एसएसपी चन्दले भने, ‘आगो लागेको सुरुकै स्थानबाट नियन्त्रणमा लिन सकिन्थ्यो तर बाटो अभावका कारण त्यहाँसम्म दम्कल नै पुग्न सकेन, गोदामका अन्य क्षेत्रमा पनि स्थिति उस्तै थियो, यस कारण पनि आगो नियन्त्रण हुन सकेन ।’ आगलागीका कारण र भएको क्षतिबारे भने अझै खुल्न नसकेको उनले बताए । भने, ‘यो अनुसन्धानको विषय हो, अहिले नै केही भन्न सकिन्न ।’
आगलागीका कारण भएको क्षति विवरण भने अझै आउन सकेको छैन । कम्पनीका कर्पोरेट उपाध्यक्ष सुरेश सबुका अनुसार आगलागीका कारण सय करोड बराबरको धनमाल जलेको छ ।
प्रतिक्रिया