बढे सम्बन्धविच्छेद गर्ने

ताप्लेजुङ : सम्बन्धविच्छेद गर्नेको संख्यामा दोब्बर वृद्धि भएको छ । जिल्ला अदालत ताप्लेजुङका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा मात्रै १० सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् ।
दर्ता भएका सम्बन्धविच्छेदका मुद्दामध्ये केहीको फस्र्योट भएको निमित्त स्रेस्तेदार विधानचन्द्र झाले बताए । उनका अनुसार चालु आर्थिक वर्षको हालसम्म दर्ता भएको र अघिल्लो वर्षको बाँकी १४ गरी २० वटाभन्दा बढी मुद्दा कारबाही प्रक्रियामा छन् ।
अदालतको तथ्यांकअनुसार गत आव ०६८/६९ मा ३३ वटा दर्ता भएकामध्ये १९ वटाको फस्र्योट भएको छ । यो संख्या चार वर्षको तुलनामा दुईगुणा बढी हो । अदालतको तथ्यांकअनुसार आव ०६५/६६ मा १५ वटा मात्र सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा आव ०६६/६७ मा १७ र आव ०६७/६८ मा २३ मुद्दा दर्ता भएका थिए । सम्बन्धविच्छेद गर्नेमा २० देखि ३५ वर्ष उमेरसमूहका बढी रहेको अदालतले जनाएको छ ।
सम्बन्धविच्छेद गर्नेको संख्यामा धेरैजसो रोजगारीका सिलसिलामा विदेश गएका व्यक्तिका दम्पती छन् । त्यस्तै घरायसी झगडा, एकअर्काले परव्यक्तिसँग सम्बन्ध राख्ने गरेका कारण र अंशवण्डाका कारणले समेत सम्बन्धविच्छेद गर्ने गरेको अदालतले जनाएको छ । (सौस)

प्रतिक्रिया