‘शाकाहारी केटा पाए बिहे गर्छु’

काठमाडौं, २९ असोज । प्रधानबाट ‘स्त्री’ बनेपछि अभिनय क्षेत्रमा नायिका पूजनाको उपस्थिति पातलिँदै गएको छ । आध्यात्मिक जीवनशैली अँगाल्न थालेपछि उनले आफ्नो थरको सट्टा स्त्री लेख्न सुरु गरेकी हुन् । के चलचित्रमा काम पाउन छोडेपछि उनले फरक बाटो समातेकी हुन् ? ‘होइन’, उनी भन्छिन्– ‘अफर त अझै पनि थुप्रै आउँछन् तर कथावस्तु चित्त नबुझेकाले मलाई गर्नै मन लागेन, बरु समाजसेवाका कामतिर बढी रुचि लाग्यो ।’ आफू निकट भविष्यमै चलचित्र निर्माण गर्ने तयारीमा रहेको पनि उनले सुनाइन् । तर, कस्तो चलचित्र कहिले बनाउने भन्नेबारे भने खुलाउन चाहिनन् ।
केही वर्षअगाडिदेखि जय संगत नामक आध्यात्मिक संस्थामा क्रियाशील हुँदै आएकी उनले चलचित्र क्षेत्र पूरै छाडेकी भने होइनन् । भर्खरै मात्र सम्पन्न चलचित्र कलाकार संघको चुनावमा सदस्य चुनिएकी छन् । पछिल्लो समय ‘श्रीमान्’ चलचित्रमा अभिनय गरेर चर्चा कमाएकी उनले निर्माणोन्मुख चलचित्र ‘मदन भण्डारी माई लिडर’ र कल्याण घिमिरेको ‘धनवान्’ मा अनुबन्धित भएको बताइन् । आध्यात्मिक जीवनशैली अँगालेपछि पूरै शाकाहारी बनेकी पूजनाले चित्तबुझ्दो कथावस्तु पाए वर्षमा एक–दुईवटा मात्र चलचित्र गर्ने योजना सुनाइन् । नयाँ र फरक खालका चलचित्र वर्षमा एक वा दुईवटा मात्र गर्ने खुलाइन् । अहिले गर्न लागेका चलचित्रका कथावस्तु उनलाई मन परेका रहेछन् । भनिन्, ‘मलाई सधैँ हिरोको हिरोइन बनेर चलचित्र खेल्न मन लाग्दैन, त्यसैले पनि मेरा चलचित्र कम भएका हुन् ।’ यी चलचित्रको कहिलेदेखि छायांकन सुरु हुन्छ भन्नेचाहिँ उनलाई पनि थाहा रहेनछ, ‘साइन गरेकी छु, हेरौँ कहिलेदेखि काम सुरु हुन्छ ।’
दैनिक योगध्यान गर्दै आएकी उनी धर्मसभा नामक संस्थाकी केन्द्रीय सदस्य पनि छिन् । धर्मकर्ममा लागेपछि जिन्दगीका हरेक पक्षमा परिवर्तन आएको उनलाई लाग्छ । ‘यो क्षेत्रमा लागेपछि रमझम गर्ने बानी हटेको छ, पहिले त फुर्सद भयो कि साथीसंगी भेट्न दरबारमार्गका क्याफे पुगिन्थ्यो । अहिले जान्नँ ।’ उनले सुनाइन् । ग्ल्यामरको क्षेत्रमा ‘हट’ छवि बनाएकी पूजना एक्कासि किन अध्यात्मतिर मोडिइन् त ? के उनी कुनै वैराग्यमा फसेकी थिइन् ? भनिन्, ‘मानिसहरू जीवनदेखि थाकेर, दिक्क भएर यो बाटोमा लाग्छन् तर मचाहिँ रुचि र इच्छाले गर्दा यता लागेकी हुँ ।’
२६ वर्षीया पूजना अविवाहित छन् । अध्यात्मतिर लागेकाले उनले अब बिहे नगर्लिन् भन्ने अनुमान पनि हुनसक्छ । तर, जीवनसाथी बनाउन उपयुक्त केटा नपाएर बिहे नगरेको उनले खुलाइन् । उनका अनुसार स्वदेशदेखि विदेशसम्मका केटाले बिहेको प्रस्ताव गरेका छन् रे † त्यसो भए उनी कुन योग्यताको वर पर्खिरहेकी छन् त ? भनिन्– ‘धर्मकर्ममा विश्वास राख्ने शाकाहारी केटासँग मात्र बिहे गर्छु ।’
बिहे नगरे पनि पूजनालाई ‘आमा’ भन्ने दुई सन्तान भने छन् । दुई अनाथ बालबालिकालाई उनले धर्मसन्तानका रूपमा अँगालेकी रहिछन् । भन्छिन्, ‘यो मेरो धर्म हो । आमा बन्नका लागि विवाह नै गर्नुपर्छजस्तो लाग्दैन ।’ सेवालाई धर्मको विम्ब बताउँछिन् । आश्रममा अर्धगुप्तवास बसेकी पूजनाले दुई बालबालिकातर्फ औँल्याउँदै भनिन्, ‘अहिलेलाई यिनै हुन् मेरा सन्तान ।’
अब आएर बिहे गर्नै परे मागीविवाह गर्ने पनि उनले सुनाइन् । भनिन्, ‘विवाह गर्नैपर्छ भन्ने त छैन तर गर्नै पर्‍यो भने पनि एरेन्ज म्यारिज नै गर्छु ।’ पहिले कसैसँग प्रेममा परे पनि अहिले कुनै प्रेमचक्करमा नरहेको उनले प्रस्ट्याइन् ।

प्रतिक्रिया