दसैझ्मा अस्वस्थ मासुको बिगबिगी

दसैं सुरु हुन केही दिन मात्र बाँकी छ । यो पर्वलाइ लक्षित गरी देशभरबाट राजधानीलगायत सहरी क्षेत्रमा खसी, कुखुरा, राँगा, हाँस, सुँगुर भित्रिरहेका छन् ।
विजयोत्सवको प्रतीक दसैँलाई मासु खाने पर्वका रूपमा पनि लिइन्छ । यस बेला मासुको व्यापार अत्यधिक हुन्छ । तर, यही भिडभाडमा केही व्यापारीले व्यक्तिगत स्वार्थका लागि रोगी तथा असुरक्षित पशुपंक्षीको मासु बेचिरहेका हुन्छन्, जसले जनस्वास्थ्यमा गम्भीर समस्या निम्त्याउँछ । गत शुक्रबार मात्र सरकारी अनुगमन टोलिले राजधानीमा भित्र्याउन लागिएका मरेका तथा रोगी पशुपंक्षी फेला पारेको थियो । केन्द्रीय मासु अनुगमन समितिले नागढुंगामा अनुगमनका क्रममा ती खसी तथा कुखुरामा निमोनिया भेट्टाएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य विभाग, काठमाडौं महानगरपालिकादेखि लिएर चिकित्सक तथा अपभोक्ता हितका लागि कार्य गरिरहेका संघसंस्थाले आमउपभोक्तालाई सुरक्षित पशु तथा मासु उपभोग गर्न आग्रह गरिरहेका छन् ।
दसैँको हुलमुलमा राम्रा सरससफाइ नगरिएको अनि रोगी पशुको मासु खाँदा रोगजन्य किटाण्ुाबाट प्रभावित भएर उपभोक्ताले टाइफाइड, झाडापखाला तथा पेटका अन्य समस्या झेल्नुपर्ने हुन्छ । यसबाट बच्न उपभोक्तालाई स्वस्थ मासु किन्न अग्रह गरिएको वीर अस्पतालका फेमिली फिजिसियन डा. डिपी सिंहले बताए । उनका अनुसार विगत वर्षमा अस्वस्थ्यकर मासु खाँदा टिकाको दिनदेखि नै अस्पतालमा मानिसको भीड लाग्ने समस्या देखिँदै आएको छ ।
नेपालमा पशुचिकित्सकबाट जाँच गराएका पशुपक्षीको मात्र मासु बेच्ने तथा वैज्ञानिक तरिकाले पशुवध गर्ने उपयुक्त व्यवस्था नभएको र आम उपभोक्ता पनि मासुप्रति सचेत नभएका कारण बिरामीको संख्या पनि बढिरहेको जनस्वास्थ्यका क्षेत्रमा कार्यरत अनिल न्यौपानेले बताए । ‘पशुचिकित्सकले जाँचेपछि निरोगी पाइएका पशुहरूको व्यवस्थित वधशालामा काटिएको मासु खाने बानी सुरू हुनु जरूरी छ’, उनले भने, ‘मासुको अधिक सेवन आफैँमा हानिकारक छ, त्यसमाथि चाडबाडमा रोगी पशुपन्छी बेचिँदा थप समस्या आइरहेको छ ।’ केही वर्षअघिसम्म मासुका कारण झाडापखाला, आउँजस्ता सरुवारोग मात्र देखिँदै आएकोमा अहिले अहिले अस्वस्थकर मासुले नसर्ने तर थप जटिल रोग पनि तिम्त्याउन थालेको उनले बताए ।
अस्वस्थकर मासुले मानिसलाई जुनोटिक रोगहरू बढी लाग्ने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । अस्पतालका अनुसार मानिसलाई बर्डफ्लु, स्वाइनफ्लु, एन्थ्राक्स, लुतो, क्षयरोग, जुकाका समस्या धेरै देखिएको छ । यसबाहेक आउँ, पेट फुल्ने, मिर्गौलाको रोग, क्ओसटियल इन्फेक्सन फुड पोइजनिङ आदि समस्या त छँदै छन् ।
चिकित्सकका अनुसार अस्वस्थ राँगाभैँसीको मासु खानाले टेनिया सोडियम, बंगुरबाट टेनिया स्याकिटेटा नामक जुकाको संक्रमण, अस्वस्थ माछाबाट एच नाना र अस्वस्थ कुखुराबाट बर्डफ्लुको समस्या निम्तिन्छ । नपाकेको मासु खानाले दिमागमा स–साना टेपवर्मको विकास भएर मानिसको मृत्युसमेत हुन सक्छ ।
जनचेतना अभावका कारण उपभोक्ताले भर्खर काटेको ताजा मासु किन्न चाहने र चिस्यान (फ्रिज) मा राखेको मासु लिन नचाहने प्रवृत्ति छ । तर, फ्रिजमा राखी प्रयोग गर्दा धेरैजसो हानिकारक जीवाण्ुाको मृत्यु हुने भएकाले त्यस्तो मासुचाहिँ स्वस्थ हुने चिकित्सक बताउँछन् । मासुलाई सम्भव भएसम्म १२ घण्टा र नभएमा कम्तीमा १ घण्टा चिस्यानमा राखेर मात्र पकाएर खाँदा धेरै हदसम्म मासुजन्य रोगबाट बच्न सकिन्छ ।
दसैँमा धेरै मासु खाने प्रचलन रहे पनि आफ्नो स्वास्थ्यलाई ख्याल राख्न चिकित्सकले सुझाव दिएका छन् । अस्वस्थकर मासुको सेवनबाट मात्र नभई भान्सामा बन्ने मासुका परिकारबाट पनि धेरै रोग लाग्न सक्छ । धेरै मात्रामा चिल्लो हालेर बनाइएको मासुले उच्च रक्तचाप तथा मुटुका रोगहरू निम्त्याउन सक्छ । धेरै दिन सुकाएर राखेको, सुकुटी बनाएको र धेरै मसला हालिएको मासुले पनि फाइदा गर्दैन ।
स्वस्थ पशुपक्षी कसरी चिन्ने भेटेरिनरी जनस्वास्थ्य कार्यालयका पशु चिकित्सक डा. हरिरघु श्रेष्ठका अनुसार पशुको राम्ररी अवलोकन गर्ने हो भने रोगी र निरोगी छुट्याउन सकिन्छ । अधिकांश पशुले नियमित रूपमा खाएको खाना उग्राउने गर्छन् । नउग्राउने, काम्ने, र्‍याल चुहाइरहने, आँखाबाट चिप्रा निकाल्ने, राम्ररी हिँडडुल गर्न नसक्ने पशुहरू रोगी मानिन्छन् । ‘यस्ता पशुको मासु बेच्नु उपभोक्तालाई मन्दविष दिनु जत्तिकै हो,’ डा. श्रेष्ठले भने ।
जनावर स्वस्थ भए पनि वध गरिसकेपछि सफा पानीले सफा नगर्ने, ढुवानी गराउने साधन उपयुक्त नहुने, मासु राख्ने ठाउँ सफा नहुने र मासुलाई धूलो र झिँगाबाट जोगाउन रातो कपडाले छोपेर नराख्ने हो भने पनि जोखिम उत्तिकै रहन्छ । यस्तो मासुको प्रयोगबाट झाडापखाला, हैजा, फुड पोइजनजस्ता तात्कालिक असरका साथै अन्य ज्यानै लैजान सक्ने दीर्घकालीन असर पनि देखा पर्छन् । चिकित्सकहरूले दसँैपछि खानाकै कारण बिरामीको चाप बढ्नुमा अस्वस्थकर मासुलाई दोष दिने गरेका छन् । काठमाडौं उपत्यका तथा सहरी क्षेत्रमा मासु काट्ने तथा त्यसको भण्डारण गर्ने व्यवस्थित तरिका छैन । असुरक्षित पशु वधस्थलका कारण मानिसमा स्वास्थ्यसमस्या उत्पन्न भएको चिकित्सकहरू बताउँछन् ।

प्रतिक्रिया