महिलासम्बन्धी कामगर्ने राष्ट्रसंघीय निकाय यु.एन. वीमनका अनुसार सन् २०११ जनवरी यता खाडी क्षेत्रमा कार्यरत ८२ जना नेपाली महिलाले आत्महत्या गरेका छन् । मुख्यगरी कतार, साउदी अरेबिया, युएई र कुवेतमा गएका नेपाली महिलाले बढी मात्रामा आत्महत्या गरेको अध्ययनबाट पत्ता लागेको हो । उक्त अबधिमा २ हजार ८ सय २२ नेपाली महिला कामदारलाई अत्यन्तै दयनीय अवस्थामा उद्दार समेत गरिएको थियो । खासगरी अबिबाहित नेपाली चेलीहरूमाथि रोजगारदाताबाटै यौन शोषण हुने गरेको पाइएको छ । सोही अबधिमा २५ जना नेपाली चेली रोजगारदाताको यौनशोषणपछि गर्भ बोकेर घर फर्किएका छन् । खाडी क्षेत्रमा पुगेका अधिकांश अबिबाहित र कलिलो उमेरका नेपाली महिला बढी मात्रामा यौन शोषणमा पर्ने क्रम बढेपछि सरकारले ३० बर्ष उमेर पुगेपछिमात्र खाडी मुलुकमा घरेलु कामदारका लागि जान पाइने नियम बनायो । कम उमेरका महिला शोषणमा नपरुन भन्ने उद्देश्य भए पनि पछिल्लो दिनमा भारतीय भूमी हुँदै दलालले महिला कामदार खाडी पठाइरहेका छन् । अहिलेसम्म छिमेकी मुलुक भारतको मुम्बईमा मात्रै बेचिने गरेका नेपाली चेली कुवेतमा पनि बेचिन थालेको तथ्य सार्वजनिक भएको छ ।
खाडी मुलुकमा ‘केयर गिभर’को रूपमा जति पनि नेपाली महिलाहरू छिरेका छन् एकाध बाहेक अधिकांश महिला कुनै न कुनै रूपमा प्रताडित भएकै छन् । आफूले थेग्ने अवस्थासम्म महिलाहरू खुल्दैनन् जसरी हुन्छ उनीहरू सहनतिर लाग्छन् जतिबेला अति पीडा बोध हुन्छ जीवनले अन्तिम रूप लिन थाल्छ त्यतिबेला मात्रै तथ्य खुल्न जान्छ । घरेलु कामदार नेपाली महिला शारीरिक, मानसिक एवं आर्थिक शोषणको चंगुलमा यति नराम्रोसँग फसेका छन् कि उम्कने कुनै माध्यम नै छैन । जसोतसो ज्यान जोगाउन सक्नेहरू नारकीय जिन्दगी लिएर स्वदेश फिर्ता भएका छन्, कतिपय महिलाका शवसमेत खाडी मुलुकमै कुहिनुपर्ने अवस्थासम्म सिर्जना भएको छ । झूठो आश्वासनका पछाडि लागेर आफ्नो अमूल्य जीवन बर्बादी गर्नतिर उद्यत नेपाली महिलाहरूको यो क्रम रोक्नतिर नलाग्ने हो भने एकदिन निकै विकराल अवस्था सिर्जना हुनेछ । खाडी क्षेत्रमा करिब साँढे दुई लाख नेपाली महिला घरेलु कामदारका रूपमा कार्यरत रहेको अनुमान गरिएको छ । वैदेशिक रोजगार बिभागले भने खाडी क्षेत्रमा ५७ हजार नेपाली महिला कामदार रहेको बताएको छ । सन् २००७ यता मात्रै बिभागले महिला कामदारको तथ्यांक राख्न थालेको हो । त्यो समयभन्दा अघि कति नेपाली महिलाहरू खाडी मुलुकमा छिरे त्यसको लगत सरकारी निकायसँग छैन । यसले गैरकानुनी बाटोलाई झन् प्रोत्साहन दिइरहेको छ ।
अधिकांश महिलाहरू मानसिक र शारीरिक यातना सहन नसकेकै कारण आत्महत्या गर्न विवश छन् । रोजगारदाताको गर्भ बोकेर स्वदेश फर्किएका महिला समाज अनि घरपरिवारबाट पुन: अपहेलित हुन पुग्छन् । विदेशमा विदेशीको अपहेलना सहन नसकेर आफ्नो घर फर्किएका महिलालाई समाजले उल्टै आरोप लगाउँछन, दुनियाँको पेट बोकेर गाउँमा के मुख देखाउन आउनु ? छि:छि: र दुर्दुर्को पात्र बनाइएपछि पुन: उनीहरू मृत्युको बाटो समाउन पुग्छन । आखिर गल्ती महिलाकै ठहरिन पुग्छ, समाजले महिलालाई नै गलत साबित गरिदिन्छ । पैसा कमाउने, सुखसँग बस्ने आशा साँचेका महिला खाडीमा उस्तै शोषणमा पर्छन, आफ्नो देशमा गएपछि त ढुक्कसँग बाँच्न सकिएला भनेको तुच्छ वचनका कारण पलपलमा मर्न विवश छन् । गरिबी, श्रीमान् अनि घरपरिवारको हेपाइ, रातदिनको कुटपिट र यातना सहन नसकेकै कारण बर्सेनि सयौँ महिला देशभित्रै मर्न बाध्य छन् । वर्षौदेखि घरेलु हिंसा सहँदै आएकी कचनापुर ६ हरिहरपुर बाँके कि २७ वर्षीया सुशीला राना क्षत्रीले हिंसाको सीमा अति भएपछि श्रीमान् निदाएको बेलामा बन्चरो प्रहार गरी हत्या गरिन् । उनलाई प्रहरीले पक्राउ गरिसकेको छ आवश्यक कारवाहीको पक्रिया समेत अगाडि बढिरहेको छ । कानुनी बाटो हुँदाहुँदै उनले नराम्रो बाटो अवलम्बन गरेको ठहर प्रशासनको छ, उनले गल्ती स्वीकार गरिसकेकी छिन् । रातदिनको हिंसा सहन नसकेरै उनले यस्तो कठोर कदम चाल्न विवश भइन् । उता बैतडीका एक सैनिकले घरमा दुई श्रीमतीको झगडा मिलाउन नसकेपछि २४ वर्षकी जेठी श्रीमती र ४ वर्षकी छोरीको हत्या गरे । घरायसी कलह सदाका लागि साम्य पार्न कन्चनपुरदेखी नै योजना बनाएका उनी बैतडीको सिद्धेश्वर ९ स्थित धुरा जंगलमा श्रीमती र छोरीको हत्या गरे ।
गत सोमबार जोरपाटीकी एक महिलाले आत्महत्या गरिन् । आफूले आत्महत्याको बाटो रोज्नुको पछाडि उनले आफ्नो रोगी शरीरलाई दोष दिएकी रहिछिन् । दुई सन्तानकी आमा उक्त महिलाले आफू रोगी भएकै कारण आफ्नो उपचारमा धेरै रकम खर्च भइसकेको र अब पनि धेरै रकम खर्च हुने देखेपछि बाँच्न नचाहेको भन्दै आत्महत्या गर्न पुगिन् । सोही दिन बाराकी एक २७ वर्षीय महिलाले आफ्ना श्रीमान्ले हरेक दिन मदिरा सेवन गरेर आफूलाई निर्घात कुटपिट गर्ने ,छोराहरूलाई गाली–गलौज गर्ने गरेका कारण अवोध दुई छोरालाई इनारमा खसालेर हत्या गराई आफूले पनि आत्महत्या गर्ने योजना बनाईन् । ४ वर्ष र ६ वर्षका दुई साना छोराहरूको प्राण इनारभित्र गयो तर आमा भने गाउँलेले उद्धार गरेपछि मर्न पाइनन् । खासमा उनले आफ्ना छोरा मारेर आफू मर्न चाहनुका पछाडि घरेलु हिंसा नै मुख्यरूपमा देखियो । पटकपटक आफूले श्रीमान्लाई मदिरा सेवन गरेर घरमा नआउन र आफू अनि छोरालाई दुब्र्यवहार नगर्न आग्रह गर्दागर्दै पनि श्रीमान्को निरन्तरको यातना सहन नसकेर उनले यस्तो अप्रिय योजना बुनेकी रहिछिन् ।
प्रतिक्रिया