माओवादी युवा संगठनले दसैँलगत्तै आन्दोलन थाल्ने

काठमाडौं : नेकपा–माओवादीको युवा संगठन राष्ट्रिय युवा जनस्वयंसेवकले दसैँलगत्तै राष्ट्रियता र भ्रष्टाचार मुद्दा उठाएर आन्दोलन थाल्ने भएको छ ।

हालै राष्ट्रिय सम्मेलन सम्पन्न गरेको जनस्वयंसेवकको केन्द्रीय समिति बैठकले एमाओवादी नेतृत्वको सरकारले गरेका ‘राष्ट्रियताविरोधी निर्णय र भ्रष्टाचारविरुद्ध’ विरोधमा उत्रिने निर्णय गरेको हो । बैठकको निर्णय सार्वजनिक गर्न आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जनस्वयंसेवकका अध्यक्ष उदयबहादुर चलाउनेले माथिल्लो कर्णाली, कोसी उच्च बाँध र अरुण तेस्रो आयोजनाका मुख्य कार्यालयमै गएर विरोधसभा गर्ने जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको जिम्मा भारतीय कम्पनीलाई दिने सरकारको निर्णयविरुद्ध पनि आन्दोलन केन्द्रित गरिने अध्यक्ष चलाउनेले बताए । सार्वजनिक संस्थानमा हुने भ्रष्टाचारको विरोधमा नेपाल वायुसेवा निगम, भृकुटी कागजकारखाना, विराटनगर जुटमिल, हेटौंडा कपडा उद्योग बाहिर विरोधसभा गरिने चलाउनेको भनाइ थियो ।
सामन्ती भू–स्वामित्वविरुद्ध जनस्वयंसेवकले बर्दियामा र अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पोखरा विमानस्थलबाहिर विरोधसभा गर्ने जनाएको छ । भारतीय नम्बर प्लेटका गाडीको आवागमन बन्द गरिनुपर्ने, रोजगारी सुनिश्चित हुनुपर्ने, अनमिनको प्रमाणीकरणमा अयोग्य ठहरिएका लडाकुलाई जनही एक लाख रकमसहित राहत दिनुपर्नेलगायत मागसहित विरोध कार्यक्रम उसले सार्वजनिक गरेको छ ।
तत्कालीन माओवादीको सैन्य संरचनाजस्तै पाँचवटा कमान्ड पूर्वाञ्चल, मधेस, मध्य, पश्चिम र सुदूरपश्चिम कमान्ड बनाएको उसले आन्दोलनलाई युद्धको तयारी नभएको जनाएको छ । ‘संघर्षको तयारी हो, युद्धको तयारी होइन,’ चलाउनेले भने । (सौस)

प्रतिक्रिया