शुभबहादुरलाई लाइफटाइम अचिभमेन्ट

चितवन, २८ असोज । गीतसंगीतका विभिन्न विधालाई अवार्ड प्रदान गर्दै आठौँ कालिका म्युजिक अवार्ड आइतबार सम्पन्न भएको छ । कालिका एफएमद्वारा विगत आठ वर्षदेखि सञ्चालित अवार्डमा यसपटक गायक प्रमोद खरेलको ‘उसले जति माया गरे’ उत्कृष्ट गीत घोषित हुँदा सर्वोत्कृष्ट एल्बमको अवार्ड पनि उनकै ‘प्रवेग’ ले हात पार्‍यो ।

लामो समयदेखि नेपाली गीतसंगीतमा समर्पित संगीतकार शिवबहादुर सुनामलाई कालिका लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो । एफएमले मोफसलमा बसेर गीतसंगीतमा लागेका सर्जकलाई सम्मान गर्दै आएकोमा उनले खुसी व्यक्त गरे । सुनामले स्वरसम्राट नारायण गोपालको ‘एउटा मान्छे’ बोलको गीतलाई सेक्सोफोनको धुनमा प्रस्तुत गर्दा नारायणी कलामन्दिरको हलमा खचाखच दर्शक लट्ठ परेका थिए ।
यसै वर्षदेखि थप गरिएको युगल गायनको अवार्ड ‘कोरेर प्रेमपत्र’ गीतका लागि कमल खत्री र बुनु राईले प्राप्त गरे । त्यसैगरी ‘म त गोरीगोरी’ बोलको गीतबाट सुनीता दुलालले सर्वोत्कृष्ट आधुनिक गायिका, ‘कसलाई सोध्ने होला’ गीतबाट विष्णु माझीले लोकदोहोरी गायिका, ‘धेरै माया गर्छु’ गीतबाट एकनारायण भण्डारीले लयसंकलन तथा ‘मुटु जलाई’ गीतबाट पुस्कल शर्माले शब्दलेनखनका लागि अवार्ड पाए ।
‘नानीको चन्चले’ बोलको गजलका लागि नवप्रवेसी गायक प्रह्लाद तिमल्सिना उत्कृष्ट ठहरिए । त्यसैगरी, संगीत संयोजनमा राजन ईशान, वेस्टपप ब्यान्डमा नवक्रान्ति, पपगीतमा सोनाम शेर्पा, पपगायन पुरुषमा कमल खत्री र महिलामा मिलन अमात्यले अवार्ड हासिल गरे । सर्वोकृष्ट नेपाली चलचित्र पुरुष गायनमा राजेश पायल राई, महिलामा माण्डवी त्रिपाठी, चलचित्र संगीतमा ‘माया मेरो फूल’ बाट अर्जुन पोखरेल र चलचित्रगीत लेखनमा ‘के यो माया हो’ का लागि भूपेन्द्र खड्काले बाजी मारे ।
दिनभर सञ्चालित अवार्ड कार्यक्रममा राजेशपायलले दर्शन नमस्ते गीतबाट दर्शकलाई नचाएका थिए । यही क्रमलाई निरन्तरता दिँदै मिलन लामा , प्रमोद खरेल, देवकी प्रधान, कमल खत्री, बुनु राई मानन्धरलगायतले आ–आफ्ना गीतसंगीतमार्फत मनोरञ्जन गराएका थिए ।
एक वर्षभित्र बजारमा आएका गीतमध्येबाट लोकप्रियताका आधारमा विभिन्न २६ विधामा मनोनयन गरिएको थियो । एफएमका अध्यक्ष तथा प्रबन्धनिर्देशक विक्रम पाण्डेले सांगीतिक बिकासका लागि कालिका एफएम सधैँ तत्पर रहेको बताए । कार्यक्रममा एफएमका कार्यक्रम संयोजक मनोज पन्तको ‘प्रमोसन’ र प्राविधिक संयोजक राजकुमार लामिछानेको ‘मेरो सपना’ एल्बम समेत विमोचन गरिनुका साथै विभिन्न व्यक्तिलाई सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया