वासस्थान बिगार्दै माइकेनिया झार

काठमाडौं : माइल–अ–मिनेट (प्रतिमिनेट एक माइल) को नामले चिनिने माइकेनिया मिक्रान्था झारका कारण चितवन राष्ट्रिय निकुञ्जको केही भागमा जीवजन्तुको वासस्थान बिग्रिँदै गएको छ । रूख–बिरुवालाई घामको प्रकाशसमेत छिर्न नदिने गरी ढाक्ने माइकेनिया फैलिएको भागको रूखपात मर्दै गएको हो ।
निकुञ्जको पदमपुर, कसरा, खरिया, वाग्मारा, भिम्लेलगायतमा माइकेनिया फैलिएको निकुञ्जले जनाएको छ । ‘माइकेनिया झारले ढपक्कै ढाकेर रूख–बिरुवा सुकाउने हुँदा विस्तारै वासस्थान बिग्रँदै गइरहेको छ,’ निकुञ्जका सहायक संरक्षक अधिकृत टीकाराम पौडेलले भने, ‘तर झारकै कारण जनावर सरेर अन्त सर्ने गरी वासस्थान बिग्रिसकेको भने छैन ।’ यत्ति नै भूभाग ढाकेको छ भन्नेचाहिँ कुनै अध्ययन नभएको उनको भनाइ छ । उनले धेरै पहिलादेखि झारको व्यवस्थापन गर्ने भनिए पनि बेला–बेलामा झार निकाल्ने मात्रै काम भएको बताए । उनका अनुसार ओसिलो, खोला किनार र दबदबे हिलो भएको क्षेत्रमा माइकेनियाको मौलाएको छ ।
वन प्राविधिकका अनुसार माइकेनिया मिक्रान्था नेपालको प्रजाति होइन । यो दक्षिण अमेरिकाका जंगलमा पाइने प्रजाति हो । यो झार तीन दशकअघि आगन्तुक चरा र ओहोरदोहोर गर्ने पर्यटकमार्फत नेपाल भित्रिएको बताइन्छ । यो झार अहिले चितवन राष्ट्रिय निकुञ्जको धेरैजसो भू–भागमा फैलिरहेको छ । ‘माइकेनिया नेपालको प्रजाति नभएकाले यसलाई नियन्त्रण गर्ने प्रजाति छैन यसर्थ यो अनियन्त्रित रूपमा फैलिरहेको छ,’ वन प्राविधिक देवेशमणि त्रिपाठीले भने, ‘यसले ढाकेका रूख–बिरुवामा घाम छिर्न नपाउने हुँदा खाना बनाउने प्रक्रिया (फोटोसिन्थेसिस) हुन पाउँदैन र ती सबै केही दिनमै मर्छन् ।’
हिमालयन नेचरका मुख्य प्राविधिक डा. हेमसागर बरालका अनुसार हाल चितवन राष्ट्रिय निकुञ्जको सबैजसो बाहिरी क्षेत्र, मध्य क्षेत्र तथा नेपालका अन्यत्रका सामुदायिक वनमा यो झार फैलिँदै गएको छ । वस्तुभाउले नखाने र मनसुनको समयमा सबैभन्दा तीव्र रूपमा फैलने हुँदा तत्काल सरकारले यसको नियन्त्रण गर्नुपर्ने उनले बताए । नेपालमा झन्डै तीन दशकदेखि भित्रेको मानिने उक्त आगन्तुक झार दिनदिनै निकुञ्जमा फैलिँदै गएपछि सात वर्षअघि सरकारले यसबारे चासो राख्न सुरु गरेको थियो । (सौस)

प्रतिक्रिया