अक्षरको शक्ति

एक दिन एक प्रभावशाली, बुद्धि र वैभवद्वारा सम्पन्न राजा पलङ्मा आराम गर्दै सोच्दै थिए : मेरो राज्य, ढुकुटी, सैन्यशक्ति र प्रभाव देखेर स्वर्गका राजा पनि इष्र्या गर्दा हुन् । यो विपुलतालाई कवितामा सटीक रूपले कसरी व्यक्त गर्न सकिएला ? कवि हृदय राजा भावमा डुबेर गुनगुनाउन थाले –
चेतोहरा युवतय: सुहृदोनुकूला:
सद्बान्धवा: प्रणयगर्भगिरश्च भृत्या: ।
गर्जन्ति दन्तिनिवहाश्चपला तुरुंगा:
(रानीहरू अप्सरातुल्य सुन्दरी छन्, परिवारजन प्रिय छन्, भाइबन्धु सज्जन छन्, सेवक विनम्र छन्, हात्ती–घोडासहित विशाल शक्तिसम्पन्न सेना छन्, …) तर, जति सोच्दा पनि राजालाई कविताको अन्तिम पाउ फुरेन ।
संयोगले त्यही समयमा एउटा चोर दरबारमा पसेको रहेछ । अचानक राजा आइपुगेपछि पलङमुनि लुकेको रहेछ । र, संयोगले चोर पनि कवि–हृदय परेछ । राजाले उनको वैभवका बारेमा कविता लेख्न कोसिस गरिराखेको र अन्तिम लाइन सोच्न नसकेको उसले सुनिरहेको थियो । ऊ चोरी गर्न आएको थियो तर कविता सुन्दा ऊ कवितामै हराउन थालेको थियो । अनायासै राजाको अधुरो कविताको चौँथो पाउ उसको दिमागमा फुर्‍यो । उसले आफूलाई रोक्न सकेन र पलङमुनिबाटै गुनगुनायो :
सम्मीलने नयनयोर्नहि किञ्चिदस्ति ।
(वैभव त आँखा खुला हुँदासम्म देखिने हो, आँखाको पर्दा खसेपछि केही रहँदैन ।)
भनिन्छ, यति सटीक र तर्कपूर्ण ढंगले कविता पूरा गरिदिएको हुँदा राजाले चोरको गल्ती क्षमा गरिदिए र ऊसँग मित्रता गरे । यो मिथकीय प्रसंगले जीवनमा साहित्यको, शव्दको प्रभाव बारे अगणित रहस्य बोल्छ ।
अक्षरको प्रभाव यति नै हुन्छ भनेर आँकलन गर्न सायद सम्भव हुँदैन । हिन्दूहरूले शब्दं ब्रह्म भन्नुमा निश्चय नै गहन वोध लुकेको छ । समाज र व्यक्तिले आ–आफ्नो ढंगले अक्षरको सामथ्र्यको अभ्यास गरिराखेका हुन्छन् । कहिले समाज हावी भइदिन्छ, कहिले व्यक्ति । संस्थागत संरचनाले व्यक्तिलाई प्रभावित गर्ने र व्यक्तिले मक्किएका विद्यमान संरचनालाई फ्याँक्न आफ्नो ताकत लगाउने बलियो माध्यम हो अक्षर । यो कुस्ताकुस्ती सदियौंदेखि जारी छ ।
सेतो धरतीका लागि मदन पुरस्कार पाएका अमर न्यौपाने र आफ्नै आँखाको लयमा कृतिका लागि पद्मश्री पाएका खगेन्द्र संग्रौलालाई सम्मान गरिएको यौटा कार्यक्रममा संग्रौलाले भने, ‘यी पुरस्कार दिएर हामीलाई मानौ नुन चटाइएको छ र, नुन चाट्नुको खतरा के हो भने फेरि फेरि चाट्न मन लागिरहन्छ ।’ उनको आशय थियो : यथास्थितिवादी संस्थाहरूले लेखक–कलाकारहरूलाई सम्मान–पुरस्कार आदिको माध्यमबाट आफ्नो प्रभावमा राखिरहन चाहन्छन् ताकि साहित्य वा कला सिर्जना गरेर तिनीहरूले जनतालाई यथास्थितिविरुद्ध विद्रोह गर्न प्रेरित नगरुन् ।
यद्यपि जुझारु लेखक कसैको ललिपपमा रमाउनुभन्दा आफ्नो सिर्जनाले समाजमा रूपान्तरण ल्याउन तन्मय हुन्छ । ऐतिहासिक घटनाक्रमहरूलाई नियाल्दा केही मूर्धन्य कवि–लेखकहरूले तरवारले गर्न नसक्ने काम कलमले गरेर देखाइदिएका ज्वलन्त उदाहरण हाम्रा सामु छन् । कवि युद्धप्रसाद मिश्रको ‘आयो क्रान्ति जनहृदयको पूर्ण दैलो उघारी’ कविताले शोषित–पीडित जनतालाई राणा शासकहरूविरुद्ध उद्वेलित गरेकै हो । गोपालप्रसाद रिमालको ‘एक जुगमा एक दिन एक चोटी आउँछ, उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ’ कविताले ती तानाशाहविरुद्ध जनतालाई सडकमा उतारेकै हो । भूपि शेरचनको ‘हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन देश दुई चार सपुत मरेर नगए’ कविताले बलिदानी भावना जगाएकै हो ।
विश्व परिवेशमा साहित्यको प्रभाव अझै जाज्वल्यमान देखिन्छ । अंग्रेजहरूले सदियौँसम्म देशको खजाना र अस्मिता लुटिरहेपछि भारतलाई ती फिरंगीहरूको खुंखार पञ्जाबाट मुक्ति दिलाउन जनतालाई स्वतन्त्रता संग्राममा सहभागी हुन प्रेरित गर्दै श्री अरविन्दोले भने, ‘देश भनेको मातृभूमि हो । आफ्नी आमाको छातीमा बसेर कुनै राक्षसले आमाको रगत चुस्छ भने छोराहरू रमिता हेरेर बस्दैनन् । राक्षसको गर्दन निमोठ्न दौडन्छन् ।’ इष्ट इन्डिया कम्पनी सरकारले अरविन्दोलाई सबभन्दा खतरनाक व्यवस्था विरोधी भन्दै गिरफ्तार गर्‍यो । तर, कालक्रममा भारतीयले संसारभरि एक छत्र साम्राज्य फैलाउन सफल भएका ब्रिटिसहरूलाई खेदेरै छोडे ।
अमेरिकी स्वतन्त्रता संग्राममा तिनै ब्रिटिसहरूलाई खेद्न टमस जेफरसनले प्रसिद्ध डिक्लारेसन अफ इन्डिपेन्डेन्स लेखे । यो घोषणापत्रको प्रस्तावना अविस्मरणीय छ । जेफरसन लेख्छन् : ‘सबै मानिसहरू समान छन्, यतिमात्रै होइन, केही निश्चित अधिकारबाट कसैलाई कुनै हालतमा वञ्चित गराउन सकिँदैन, भलै केही कालका लागि कुनै तानाशाह ती अधिकारलाई उपेक्षा गर्न वा कुल्चन सफल होस् । ती अधिकार हुन्–  बाँच्न पाउने अधिकार, स्वतन्त्रताको अधिकार र सुखको खोजीको अवसर ।’ यही थियो अमेरिकी सपना जसले सारा अमेरिकीहरूलाई बेलायती शासकहरूको पञ्जाबाट मुक्ति दिलायो ।
यथास्थितिलाई कायम राख्न विद्यमान राज्य संयन्त्रले एउटा अर्को उपाय पनि अपनाउँछ,  दमनको बाटो । मकैको खेती लेखेका कृष्णलालदेखि राजतन्त्रको दोहोलो गर्न चन्द्रागिरीको आवाज लेख्ने कृष्णसेन इच्छुकसम्म हाम्रो स्मृतिमा ताजै छन् । तिनले आफू बाँचेको कालखण्डमा दमनकारी राज्यको धारिलो संगीनको प्रहारसामु झुक्दै नझुकी ज्यान दिएका कारण आज हामी स्वतन्त्रता र उन्मुक्तिको सास फेर्न पाएका छौँ । यद्यपि दमनको बाटो अबको युगमा त्यति जाँच्दैन क्यारे । प्रजातन्त्र, विधिको शासन, स्वतन्त्रता यस्ता शब्द भइसके जसलाई कसैले पनि उपेक्षा गर्न सक्तैन – कम्तीमा बोलीमा । खुंखार तानाशाहले पनि प्रजातान्त्रिक भावनामा विश्वास राख्ने गरेको बताउनुपर्छ । सायद, यही  कारणले अचेल स्थापित संरचनाले पद, प्रतिष्ठा, गाँठ आदिको प्रलोभन दिएर लेखक–कलाकार मार्फत् या त आफ्नो भजन गाउन लगाउँछ या घनघोर उपेक्षा या बहिष्करणको मन्दविषमार्फत् तिनको सिर्जनशील ऊर्जा क्षय गर्दै जाने प्रपञ्च अपनाउँछ ।
प्राकृतिक स्रोत साधन, पर्यटक आकर्षण गर्ने उत्तुंग हिमशिखर र रमणीय पाखापखेरा भएको, जनक र बुद्धजस्ता महामानवहरूले जन्म लिएको धर्तीलाई मातृभूमिको रूपमा हामीले पाएका छौँ । यो सौभाग्य अतुलनीय छ । यद्यपि हाम्रो मातृभूमिमा राजनीतिक अगुवा र वैचारिक माहौल बनाउने लेखक–साहित्यकारहरू अरूको खुट्टा तान्ने संस्कृतिमा चुर्लुम्म डुबेका छन् । तिनीहरू या त विदेश भाग्नमा गर्व गर्छन् या भविष्यप्रतिको निराशा पोख्नुमा आफ्नो सारा ऊर्जा क्षय गर्छन् । आज हाम्रो मुलुकमा लेखकको जीवन अधमरो भएको छ । उपभोक्तावादी संस्कृतिको प्रभावले एउटा अज्ञात त्रासदी बोकेर बाँच्न अभिशप्त छ ऊ । न लेखकले आत्मसम्मानलाई बचाउन सकेको छ न बेच्न । गाँजा खाएको हो कि जस्तो अर्धवेहोस अवस्था छ उसको । कुनै कविले ठीकै भनेको थियो : कुए में भांग डाल दी सभ्यता ने आज । देखें कहाँ पे जाकर ठहरता है आदमी ।
डेल्टा अफ विनसकी लेखिका एनाइस निन लेख्छिन्, म जल्न चाहन्छु, भित्रभित्रै टुट्दै गए पनि । म केबल परमानन्दका लागि बाँच्न चाहन्छु । त्यो बाहेक कम्तीले मलाई छुँदैन । स्यानो डोजले मलाई पुग्दैन । म ज्वाला हुँ क्यारे, खतरनाक लाभाजस्तो, नियन्त्रणमुक्त । म सायद कुनै जंगली जनावर हुँ जो चिडियाखाना तोडेर भाग्दैछ । लेखकको जस्तो होनाहार जीवन त्यस्तै लेखन पनि हुनुपर्छ भन्ने उनको आशय थियो । हरेक लेखकलाई उनी सल्लाह दिन्छिन् : यदि, तिमी आफ्नो लेखनद्वारा सास फेर्दैनौ भने, लेखनमा तिम्रो आक्रोश वा गीत प्रकट हुँदैन भने, बरु नलेख । किनभने यस्तो साहित्यको हाम्रो संस्कृतिलाई कुनै काम छैन ।
जन्मने मर्ने त कति हुन्छन् कति, रूपान्तरणकारी लेखनमा डट्ने, प्रलोभनको गुलियोमा नभन्कने र आततायीको बुटको प्रहारबाट  पनि विचलित नहुने हिम्मतिला लेखक विरलै पैदा हुन्छन् । यो स्वाभाविक हो : इतिहासको चक्र घुम्दै गर्दा कहिले यथास्थिति विजयी हुन्छ कहिले परिवर्तनकारी अक्षर । कहिले दाँतले लड्डू चपाइदिन्छन् कहिले लड्डूले दाँत भाँचिदिन्छन् ।

प्रतिक्रिया