हलो–कोदालोबाट किताबको संसारमा

किताब मेरा लागि ज्ञानको भण्डार मात्र हैनन्, सबभन्दा असली गुरु र बाटो देखाउने सबभन्दा नजिकको हितैषी हुन् । कुनै कुराको अभाव हुँदा गर्जो टार्ने, बाटो अल्मलिँदा हात समातेर डोहोर्‍याइदिने, पीडा र निराशामा हुँदा उत्साह र उमंग छरिदिने पुस्तकहरू नै हुन् । आज म जहाँ छु, जस्तो छु, किताबकै कारण छु । यस्तो सम्बन्धलाई ‘वेस्ट फ्रेन्ड’ भन्न यदि मिल्छ भने किताब मेरो सर्वोत्तम साथी हो । पहिलो रोजाइ हो ।
अति नै पढन्ते, आफूलाई देखाउन खोजेको होइन मैले । थोरै पढ्छु, पढ्दा सकेसम्म मन दिएर पढ्ने कोसिस गर्छु । किताबसँगका मेरा केही क्षण आज बाँड्न चाहेको हुँ ।
किताब मेरो विरासत होइन । पुस्तौनी खान्दानी भित्र पनि पर्दैन । गोर्खाको कुनै अनकन्टार गाउँको एउटा किसानको छोरा, मास्टरी जागिर गरेर जीवन गुजारा गर्ला भन्ने आसमा, बा–आमाले मलाई स्कुल पठाउनुभयो । भाग्यले, मौकाले र परिवारको सहयोगले स्कुले पढाइ सकेपछि राजधानी छिरेँ । त्यसपछि मात्र पुस्तक पढाइको मेरो यात्रा सम्भव भएको  हो ।
स्कुलमा हुँदा कोर्सबाहेक अरू किताब पढ्ने मौका र सुविधा दुवै थिएन । स्कुलमा र गाउँमा पुस्तकालय हुनसक्छ भन्ने कल्पनासम्म पनि थिएन । र, सरहरूले कोर्सबाहिरको कुरा पनि पढ्न हुन्छ भनेको सम्झना पनि छैन । त्यसबेलाको कुरा अहिले सम्झिँदा अनौठो लाग्ने केही यस्ता प्रसंग पनि छन्–
ल    गाउँ पञ्चायत भवनमा महिना दिनपछि आइपुग्ने गोरखापत्र, गोरखा जिल्लामा भएकाले ‘गोरखापत्र’ भएको होला, पारि धादिङमा ‘धादिङ पत्र’ र उता चितवनमा ‘चितवन पत्र’ को नाममा यस्तै पत्रिका छापिएको हुनुपर्छ ।
ल    कोर्षबाहेकको किताब भनेको दाइहरूले पाइन्टको पछिल्लो खल्तीमा बटारेर हालेको गोठालो जाँदा लैजाने युधीर थापा र प्रकाश कोविदका उपन्यासहरू मात्र हुन् । त्यस्ता किताब पढ्नु अपराध गरेजस्तै गल्ती गर्नु हो ।
ल    चितवनबाट माइत आएकी दिदीले भाइले पढ्ला भनी सम्झेर ल्याइदिने वर्ष दिन पुराना युवामञ्चका अंकहरू दर्जनभन्दा धेरै चोटि दोहोर्‍याएर पढ्नु ।
उच्च शिक्षाका लागि सहर छिरेपछि किताबको मेरो संसार फराकियो । गाउँका खुला चौरमा गाईगोठालो गरेर आएको केटो, सहरका गल्ली मलाई साँघुरा लाग्थे । तर, सहर आएपछि किताब पढ्न पाउने अवसर फराकिला भए । पुस्तक पसलमा पत्रपत्रिकाको लहर झुन्डिएको हुन्थ्यो । टुँडिखेलअघिको भारतीय सांस्कृतिक केन्द्र र नारायणहिटी पारिपट्टिको केशर पुस्तकालय मेरो पहुँचका केन्द्रहरू थिए । मबाट ती नजिक थिए । बिहान अमृत साइन्स क्याम्पसमा क्लास सकेपछिको मेरो कति समय ती पुस्तकालयको अँध्यारो कुनाका र्‍याकमा किताब खोज्दै बिते । कुन किताब राम्रो ? कुन नराम्रो ? खुट्याउन सक्ने सायद थिइनँ त्यसबेला । तर, पढ्न मन लाग्थ्यो । खुबै मन लाग्थ्यो । किताबले आफू पुग्न नसकेको संसारको ज्ञान दिन्छ, भोग्न नपरेको क्षणको अनुभव दिन्छ भन्ने लाग्थ्यो । किताबका पानामा अरूले भोगेको अनुभवमा डुबुल्की मार्दा रुमानी संसारमा उडिरहेजस्तो आफूलाई पाउँथेँ ।
बिकट गाउँको केटो सहर आइपुग्दा यो सहर भुमरीजस्तै थियो मेरा लागि । अविभावक कोही थिएनन् । त्यो अन्योलमा सही कुन, गलत के, नयाँ के हो, पुराना विचार कुन, जीवन र जगत्लाई गतिशील कसरी बनाउने ? त्यसबेला मलाई बाटो देखाउने मार्गदर्शक किताब मात्र भए ।
पारिजातका सबैजसो किताब त्यहीबेलातिर भ्याएको हुँ । ‘शिरीषको फूल’ र ‘अनिँदो पहाडसँगै’ –लेखन दर्शनले विपरीत ध्रुवीय हुन् । पहिलो घोर निराशावादी, दोस्रो क्रान्तिकारी । तर, यी दुवै किताब मैले सबभन्दा धेरै दोहोर्‍याएको छु । म्याक्सिम गोर्कीको ‘आमा’ र अरू रचनाहरू, चिनियाँ उपन्यास ‘युवाहरूको गीत’, आहुतिको ‘नयाँ घर’ त्यसबेलाका रोजाइका पुस्तक थिए । त्यो उमेरमा परिवर्तनको राप समाज र मनभित्र, दुवै ठाउँमा चर्को थियो । परिवर्तनको र व्यवस्था विरोधको रापलाई मलजल गर्न, त्यस्ता किताब खोजीखोजी पढेँ । माक्र्सवाद नै सर्वोत्तम विज्ञान हो, अरू भ्रम हुन् भन्ने ‘भ्रम’ मनमा थियो । त्यसबेला पढेका किताबले त्यो धारणालाई झन् उकेरा हालिदिएका थिए ।
पुस्तकको मोह कतिसम्म थियो भने पहिलो जागिरको पहिलो तलब बुझेको दिन सिधै डिल्लीबजारको प्रगति पुस्तक पुगेको थिएँ । रसियाली किताबमा त्यो महिनाको एक हजार रुपियाँ सकेँ । प्राइमरी स्कुल टिचर, त्यो महिनाको मेरो कमाइ १५ सय रुपियाँ थियो ।
तातो रगतलाई अझै तताउने त्यस उमेरका किताबपछि मेरो रुचि अन्तै मोडियो । सिरानी कविताका किताबले ओगटे । त्यस समयमा नेपाली बजारमा उपलब्ध सायद सबैजसो कविताका किताब हेरेँ हुँला मैले । मदन रग्मीका कविताहरू, पारिजात, ईश्वर बल्लभ, मोहन कोइराला, द्वारिका श्रेष्ठ मेरो रुचिको माथिल्लो सूचीमा परे । पढेका कति अहिले बिर्सें पनि । कति अझै पनि मनभित्रै छन् । अहिले पनि ती कविता बेला मौका पल्टाउँछु । मदन रेग्मीको कविता ‘आजा जुजे पहाड र घाउका आँखाहरू’ कतिचोटि दोहोर्‍याएँ हुँला, सीमा नै छैन । पीडामिश्रित अमूर्त भावको त्यो कविता अहिले पनि मेरो मन बहलाउन सक्षम छ ।
जब पत्रकारिताको पेसा सघन बन्यो, पेसाकै कारण थप किताब पढ्नुपर्ने भयो । राजनीति, विश्व इतिहास, कला, अर्थतन्त्र, समाज जसलाई पनि पढ्नैपर्ने भयो । पढ्दै जाँदा लाग्यो ती झन् रुचिपूर्ण रहेछन् ।
किताबले मानिसलाई कल्पनाशील बनाउँछ । त्यही कल्पनामा कतिचोटि म सोच्थेँ किन यो संसारमा धन–दौलतको वितरण असमान छ ? आज हामीले अनुसरण गरिरहेको सभ्याता किन युरोपमै विकसित हुन सम्भव भयो ? किन गोराहरूले नै संसारमाथि विजय हासिल गर्न सके ? कालाहरू वा अरू ठाउँका मानिस किन दमित हुनुपर्‍यो ? कहाँ पाइएला यी प्रश्नहरूको जवाफ ? गफ चल्दै थियो । अमेरिकाको वोस्टनमा थिएँ । प्रोफेसर ज्यारेड डाइमन्डको ‘गन, जर्मस एन्ड स्टिल,’ युनिभसिटि अफ म्यासाचुसेट्समा पिएचडी गर्दै गरेका साथीले जवाफ दिए । त्यसपछिको अर्को वर्ष लन्डन यात्रामा एउटा बुक सपमा त्यो किताब फेला पारेँ । नेपाल फर्केपछि पनि धेरै समय देशको राजनीतिलाई ओल्टाइपल्टाई गर्ने गोरख धन्दामै बित्यो । त्यो पुस्तक पल्टाउने मौका मिलेन । जब त्यो पल्टाएँ मेरा कतिपय प्रश्नको जवाफ त्यसमै पाएँ । यो पृथ्वीमा किन स्रोतहरूको असमान वितरण भयो ? गोराहरू धनी हुन किन सके र अरू जातका मानिस किन सकेनन् ? जवाफ मिल्यो – करिब दस हजार वर्ष पहिले कृषि युग सुरु हुनेबेला जुन ठाउँका मानिसले खाने कुराको सजिलै जोहो गर्न सके तिनीहरू नै कालन्तरमा बढी सिर्जनशील भए र मानव सभ्यता आज यो रूपमा छ । त्यही कारण पश्चिमाहरू आज शक्तिको शिखरमा छन् ।
आफूले खोजेको किताब पढ्न पाउनु पहाड आरोहण गरेभन्दा पनि ठूलोजस्तो हुन्छ कहिलेकाहीँ । जब त्यस्तो किताब पढिसकिन्छ, केहीबेरकै लागि सही, संसारै जितेजस्तो अनुभव हुन्छ ।
मेरो मनभित्रका प्रश्नको जवाफ दिने किताबको लामो सूची बन्न सक्छ । जोसेफ स्टिग्लिजको ‘ग्लोबलाइजेसन एन्ड इट्स डिस्कन्टेन्ट्स’, अमेरिकी राष्ट्रपति बाराक ओबामाको ‘ड्रिम्स फ्रम माई फादर’, गुरुचरण दासको ‘इन्डिया अनवाउन्ड’, अरविन्द अडिगाको ‘ह्वाइट टाइगर’, टेकनाथ रिजालको ‘निर्वासन’, नयनराज पाण्डेको ‘उलार’, नारायण वाग्लेको ‘पल्पसा क्याफे’, जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’, हर्क गुरुङको ‘मैले देखेको नेपाल’ र ‘विषय विविध’, डोरबहादुर विष्टको ‘फ्याटलिजम एन्ड डिभलवमेन्ट’, बिपी कोइरालाको ‘आत्मवृत्तान्त’, नेल्सन मन्डेलाको ‘लङ वाक टु डेमोक्रेसी’ मेरो सूचीको माथिल्लो लिस्टका पुस्तक हुन् ।
सानो कथामा पनि महत्त्वपूर्ण कुरा भन्न सक्ने नयनराज पाण्डेका ‘उलार’ नेपाली साहित्यकै महत्त्वपूर्ण कृति हो । यीमध्ये कति किताबले जीवन र जगत्लाई हेर्ने मेरो दृष्टिकोणलाई नै फेरिदिएका छन् । बिपीको ‘आत्मवृत्तान्त’ त्यही कोटिको किताब हो । जसले मलाई अन्तरमुखी नारायणबाट बहिर्मुखी नारायण बन्न उत्प्रेरित गर्‍यो ।
एउटा कथा छ जसले मेरो समस्याको निदान गरिदियो । अमेरिकी कथाकार जोन डिडियनको ‘इन बेड’ । त्यसबेला आफ्नै असफलताहरूले मलाई रोगी बनाएको थियो । म सधैँ टाउको दुख्ने ‘माइग्रेन’ले सताइएको थिएँ । त्यो कथामा पनि एउटा पात्र छ जसलाई सधैँ टाउको दुख्छ । सुरुसुरुमा टाउकोको दुखाइलाई ऊ घृणा गर्छ, त्यसले उसलाई झन पीडा थपिदिन्छ । टाउकाको दुखाइबाट ऊ यति पीडित हुन्छ कि कालान्तरमा ऊ टाउको दुखेन भने अचम्मित हुने र किन दुखेन भनेर चिन्तित हुन थाल्छ । अन्तमा त्यो पात्र टाउकाको दुखाइलाई नै साथी बनाउँछ । र, दुखाइबाट छुटकारा पाउँछ । मैले पनि त्यस्तै कोसि गरेँ । र, मैले पनि त्यो दुखाइबाट छुटकरा पाएँ ।
किताब एउटा कारणले मात्र मन पर्दैन रहेछ । कति किताबका विषयवस्तु उत्तम हुन्छन् । कतिका भाषा, कतिका नौलो विषयवस्तु वा कल्पनाशीलता । समग्रमा मालाई चाहिँ किताबमा प्रयोग भएको भाषाले बढी आकर्षित गर्छन् । खलिल जिब्रानको ‘द ब्रोकन विंग्स’ ले मेरो तन्नेरी उमेरको मनलाई कतिचोटि मल्हम लगाएको छ, कतिचोटि द्रवित बनाएको छ । १८ वर्षको उमेरमा प्रेमको बिउ रोपिएर पछि निमोठिनुपरेको त्यो किताबको मुलायम भाषा मेरो मनभित्रै टाँसिएर बसेको छ । अस्कार वाइल्डको ‘पिक्चर अफ डोरियन ग्रे’को विम्बात्मक लेखनी, जर्ज अरवेलको सटायर ‘एनिमल फार्म’ पनि सुन्दर लेखनीका नमुना हुन् मेरा लागि । विश्वमै रुचाइएको जापानी लेखक हारुकी मुराकामीको ‘नेर्वेजियन वुड’को कति प्रशंसा गर्नु ? कतिले साहित्य नै लेख्दैन भनेर आलोचना गर्ने भारतीय लेखक चेतन भगतको ‘रिभोल्युसन २०–२०’ पनि प्रेम र राजनीतिको घृणित खेललाई आख्यानमा उतार्ने राम्रो प्रयास हो जस्तो लाग्छ ।
मन परेका सबै किताब पढ्न पाइन्छन् भन्ने पनि हुन्न । किताब प्रेममा दिने र फिर्ता नदिनेको दोहोरी पनि चल्छ । जुन म पनि कहिलेकाहीँ गर्छु । कति किताब सापटीमा पनि मिल्छन् । तर, किताब सापटी यस्तो व्यवहार हो जो प्राय लगेपछि भुलिन्छ । एउटा उखानै छ ‘किताब माग्नु एक आँखो फुटे बराबर हो, दिनु दुवै आँखो फुटेको । ‘मेरा कति किताब त्यसरी नै गायब भए । मन परेका किताब त्यसरी अलप हुँदा कताकता मन दुख्छ । बारम्बार दुखिरहन्छ । अल्वर्ट क्यामुको ‘दि आउटसाईडर’ मेरो तखताबाट त्यसरी नै हरायो । विद्यार्थीकालमै डलरको मूल्यमा किनेको किताबलाई एउटी साथीले लगिन् । छिट्टै फिर्ता गर्ने वाचा गरेर । तर, त्यो चाँदी रंगको क्यामुको पातलो किताब ‘दि आउटसाइडर’ ले दोहोर्‍याएर मेरो दैलो टेकेन ।
अरूबाट सापटीमा आएका केही किताब मबाट पनि फिर्ता भएनन् । साझा प्रकाशनको ‘नाटक भाग–१’ एकजना साथीबाट ल्याएपछि त्यसले मेरो र्‍याकमै डेरा जमायो । विनोद प्रसाद धितालको ‘योजनगन्धा’ र महाभारतको नेपाली संस्करण त्यसरी नै मेरोमा घरजम गरेर बसेका छन् । मलाई विश्वास छ, ती किताबले मेरो कोठामा बिरानिनुपरेको छैन ।
जब विविधखाले किताब पढ्ने अवसर मिल्यो, मेरो विश्वास पनि फेरियो । उमेरसँगै रुचिका पुस्तक फेरिए । सोचाइको तरिका सायद बदलियो, अहिले मलाई त्यस्तै लाग्छ । साहित्यबाहेक राजनीति, इतिहास, अर्थतन्त्र, मानव समाज आदि विषयका पुस्तक पनि रुचिमा थपिए । यस्ता किताबले ज्ञानको भूगोल झन् फराकिलो बनाउन मद्दत गर्ने रहेछन् ।
किताब अध्ययनकै कारण थोरै भए पनि कुन कुरा ठीक र कुन बेठीक भन्ने तुलनात्मक विश्लेषण गर्नसक्ने क्षमता विकास भयो । र, यसैका कारण पत्रकारिताको मेरो पेसालाई म चलायमान बनाइरहेको छु । हलो कोदालोबाट कापीकलमको दैनिकीमा आइपुगेको छु । त्यसैले मैले सुरुमै भनेको हुँ मेरो गर्जो टारिदिने, हात समाएर डोर्‍याइदिने र अँध्यारोमा मलाई उज्यालो बाटो देखाइदिने किताब नै हुन् ।

प्रतिक्रिया