ओटिसीमा नेबैंलिको सेयर कारोबार

काठमाडौं, २६ असोज । ओटिसी बजारसम्बन्धी विनियमावली कार्यान्वयनमा आएको करिब चार वर्षपछि पहिलोपटक नेपाल बैंक लिमिटेड (नेबैंलि) को बिहीबार सेयर कारोबार भएको छ ।
सर्वसाधारण लगानीकर्ताको हित संरक्षणका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकरण हुन नसकेका तथा नेप्सेबाट सूचीकरण खारेज गरिएका कम्पनीको तरलता कायम गरी बजार सञ्चालनका लागि ओटिसी बजार विनियमावली २०६५ सालमै स्वीकृत भएर लागू भएको थियो । विविध कारणले गर्दा विनियमावली स्वीकृत भएको चार वर्षपछि मात्र ओटिसीमा नेपाल बैंकको सेयर कारोबार भएको हो ।
विनियमावलीका अनुसार नेप्सेमा सूचीकृत हुन बाँकी कम्पनी र सूचीकृत भएर पनि खारेज भएका कम्पनीको सेयर ओटिसी बजारमा कारोबार हुन्छ । कारोबार प्रणालीमा कारोबार गर्ने गरी सूचीकरणका लागि आवश्यक सर्त पूरा गर्न नसकेका र सूचीकरण प्रक्रियामा नआएका अन्य पब्लिक कम्पनीको सेयर कारोबार ओटिसी बजारमार्फत गर्न सकिने प्रावधान विनियमावलीमा छ ।
वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत सरकार तथा नेपाल राष्ट्र बैंकको पत्र एवं नेपाल बैंकसमेतको अनुरोधमा १९ फागुन २०६० बाट नेपाल बैंकको सेयर सूचीकरण खारज गरिएको थियो । सूचीकरण खारेज भएको करिब ९ वर्षपछि ओटिसी बजारमै भए पनि कम्पनीको सेयर कारोबार भएको हो । नेपाल बैंकमा सर्वसाधारणको ४९ प्रतिशत, सरकारको ४० दशमलव ४९ प्रतिशत, ‘क’ वर्गका वाणिज्य बैंकको ४ दशमलव ९२ प्रतिशत, नेपाल राष्ट्र बैंकले स्वीकृति दिएका विकास बैंक तथा वित्तीय संस्थाहरूको शून्य दशमलव ५२ प्रतिशत र अन्यको शून्य दशमलव ७१ प्रतिशत सेयर छ ।
बिहीबार सरकारबाट नेपाल बैंकमा लगानी भएको सेयरमध्ये सो बैंकका दुई हजार ६ सय ६४ कर्मचारीलाई छुटयाइएको ७१ हजार नौ सय २८ कित्ता सेयर प्रतिसेयर एक सय रुपियाँका दरले बिक्री गरी ओटिसी बजारमार्फत कारोबार सम्पन्न भएको हो । नेप्सेका अनुसार ओटिसी बजारमा बिहीबार दुई हजार ६ सय ६४ कारोबारमा ७१ लाख ९२ हजार आठ सय रुपियाँ बराबरको सेयर कारोबार सम्पन्न भयो । नेपाल बैंकले निकट भविष्यमै पुन: आफ्नो सेयर नेप्सेमा सूचीकृत गराउने भएको छ । नेपाल राष्ट्र बैंकले एक बराबर साढे नौको अनुपातमा हकप्रद सेयर जारी गर्न र अन्य स्थिर सम्पत्ति बेचेर चुक्ता पुँजी चार अर्ब पुर्‍याउने निर्णय गरिसकेको छ । ७५ वर्षअघि स्थापना भएको मुलुककै सबैभन्दा जेठो नेपाल बैंक चुक्ता पुँजी ३८ करोड तीन लाख ८३ हजार रुपियाँ मात्र रहेको छ । राष्ट्र बैंकको वाणिज्य बैंकसम्बन्धी पुँजी आवश्यकतामा चुक्ता पुँजी न्यूनतम दुई अर्ब हुनुपर्ने प्रावधान भए पनि आंशिक सरकारी स्वामित्वमा स्थापित यस बैंकको चुक्ता पुँजी राष्ट्र बैंकको मापदण्डअनुसार अझै पुग्नसकेको छैन ।
बैंकको चुक्ता पुँजी थोरै मात्र रहे पनि निक्षेप आधार भने एकदमै बलियो रहेको छ । नेपाल बैंकले आर्थिक वर्ष ०६८/६९ मा प्रकाशित गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको कुल निक्षेप ५६ अर्ब चार करोड २५ लाख रुपियाँ रहेको छ भने ऋण सापटी स्वरूप २९ अर्ब ६९ करोड ८८ लाख रुपियाँ प्रवाह गरेको छ । बैंकको पुँजी कोष ५ दशमलव ४६ प्रतिशतले नकारात्मक रहेको छ भने खराब कर्जा ५ दशमलव २३ प्रतिशत रहेको छ । राष्ट्र बैंकको प्रावधानअनुसार वाणिज्य बैंकहरूले १० प्रतिशत पुँजी कोष कायम गर्नुपर्छ भने साधारणतया पाँच प्रतिशतभन्दा कम खराब कर्जा भएको बैंकलाई राम्रो अवस्थामा रहेको बैंक गन्ने प्रचलन छ । पुँजी कोष नकारात्मक रहे पनि बैंकको निक्षेप संकलन लागत भने ५ दशमलव ०३ प्रतिशत मात्र रहेको छ । यो अन्य वाणिज्य बैंकको तुलनामा एकदमै कम हो । त्यस्तै, बैंकको कर्जा निक्षेप अनुपात ५५ दशमलव ८९ प्रतिशत रहेको छ । राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात ८० प्रतिशतमा राख्न निर्देशन दिए पनि सो अनुपातमा नपुग्नुले बैंकले अझ प्रभावकारी तरिकाले ऋण प्रवाह गरेर नाफा कमाउनसक्ने प्रशस्त ठाउँ रहेको देखाउँछ । पछिल्लो विवरणअनुसार बैंकले ४० करोड ६७ लाख २७ हजार रुपियाँ खुद मुनाफा आर्जन गरेको छ ।

प्रतिक्रिया