साढे सात करोड बालिका विद्यालयबाहिर

न्युयोर्क : विश्वका सात करोड ५० लाख बालिका अझै विद्यालयबाहिरै रहेको पाइएको छ । संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा बिहीबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार विद्यालय नजाने बालिकाको संख्या बढ्दो छ ।
‘म बालिका हुनाले’ शीर्षकको सो प्रतिवेदनअनुसार पढ्ने चाहना भएर पनि विश्वका कतिपय देशका बालिकाले विद्यालय जान पाएका छैनन् । राष्ट्रसंघको पहिलो अन्तर्राष्ट्रिय बालिका दिवसको अवसर पारेर सार्वजनिक गरिएको प्रतिवेदन ‘प्लान इन्टरनेसनल’ नामक संस्थाले तयार पारेको हो । प्रतिवेदनमा विभिन्न देशका बालबालिकाको अवस्था र छोरी भएकै कारण उनीहरूले भोग्नुपरेको समस्या तथा उनीहरूको मानवअधिकार हननका विषय समेटिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘अझै पनि विश्वका करिब सात करोड ५० लाख बालिका कक्षा कोठाबाटै हराउने गरेका छन् । अर्थात् भर्ना भएको सुरु–सुरुका दिनमै उनीहरू विद्यालय छाडेर भाग्ने गरेका छन् ।’ यसरी विद्यायल छाड्ने अवस्था अहिले पनि प्रमुख चुनौतीका रूपमा रहेको र यसका कारण युवाशक्ति खेर गइरहेको प्रतिवेदनमा औँल्याइएको छ । विश्वमा प्रतिवर्ष करिब चार करोड बालिकाले ११ देखि १५ वर्षबीचमै विद्यालय छाड्ने गरेका छन् ।
विद्यालय गएकै कारण गत साता पाकिस्तानकी १४ वर्षीया बालिकालाई विद्यालयको बसमै गोली प्रहार गरिएको समाचार प्रकाशित भएपछि प्रतिवेदन सार्वजनिक गरिएको हो । पाकिस्तानी सहर पेसावरस्थित विद्यालयकी बालिकालाई मुस्लिम कट्टरपन्थीले उनी घर फर्किंदै गरेको बसमा गोली हानेका थिए । उनको अवस्था अझै गम्भीर छ । घटनाको पाकिस्तान सरकारसहित विभिन्न अधिकारवादी संघसंस्थाले समेत कडा विरोध गरेका छन् । औपचारिक शिक्षा पाएका बालिका अशिक्षित बालिकाको तुलनामा बढी सुरक्षित रहेको र उनीहरूमाथि महिला हिंसा तुलनात्मक रूपमा बढी हुने गरेको बताइएको छ । शिक्षित बालिकाले परिवार र समाजलाई नै शिक्षित बनाउन खोज्ने र उनीहरूबाट समुदायलाई समेत योगदान मिल्ने गरेको प्रतिवेदनमा खुलाइएको छ ।
टोगोमा करिब १६ प्रतिशत बालिका कक्षा कोठाकै साथीबाट गर्भवती हुने भएकाले उनीहरूले बीचमै विद्यायल छाड्नुपरेको प्रतिवेदनमा जनाइएको छ । मालीका १५ प्रतिशत र सेनेगलका ११ प्रतिशत बालिकाले यसरी विद्यालय छाड्ने गरेको पाइएको छ । घानामा गरिएको अनुसन्धानमा त्यहाँका करिब ७५ प्रतिशत बालिकाले बीचैमा विद्यायल छाड्नुमा विद्यायलका शिक्षकलाई दोषी किटान गरिएको छ । (एएफपी)

प्रतिक्रिया