‘दातृनिकायमा भर नपर्नुस्’

काठमाडौं : उपराष्ट्रपति परमानन्द झाले किशोरकिशोरीलाई सशक्त गर्ने कार्यक्रममा दातृनिकायको भर नपर्न सरकारलाई सुझाव दिएका छन् ।
राजधानीमा बिहीबार पहिलो अन्तर्राष्ट्रिय बालिका दिवसको शुभारम्भ गर्दै उपराष्ट्रपति झाले हरेक कार्यक्रममा दातृसंस्थाको भर पर्न छाडी आफँै क्रियाशील हुन सरकारलाई सुझाव दिएका हुन् । किशोरीकिशोरीको मुद्दालाई सम्बोधन गर्न राष्ट्रिय योजना आयोगले कार्ययोजना बनाउन लागेकामा उनले खुसी व्यक्त गरे । बालविवाह, छाउपडी प्रथा, महिला हिंसा, उनीहरूलाई रोजगारीको अवसर अभावलगायत समस्या समाधानका लागि सरकारको क्रियाशीलता आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा प्यान इन्टरनेसनलद्वारा ‘किनभने म एउटी केटी’ भन्ने अभियान थालेको घोषणा गरिएको थियो । पाँच वर्षसम्म चल्ने अभियानअन्तर्गत किशोरकिशोरीको क्षमता, दक्षता, अवसर, जनचेतनालगायत कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । (सौस)

प्रतिक्रिया