कतारमा नेपाली कामदारको हत्या

राजविराज : सप्तरीको त्रिकौलबाट रोजगारीका लागि कतार गएका एक युवकको सहकर्मीको आक्रमणबाट निधन भएको छ । धनपुरीका २६ वर्षीय दिनेश शर्माको श्रीलंकाका नागरिकको धारिलो हतियार प्रहारबाट मृत्यु भएको हो । ५ वर्षदेखि कतारको एविराज प्राण डिपार्टमेन्टल स्टोर्समा काम गर्दै आएका शर्माको सहकर्मीकै आक्रमणमा परेर मृत्यु भएको हो । उनको छुरा प्रहार गरी हत्या भएको बाबु देवनारायणले बताए ।
काम सकेर कतारको सोमालस्थित डेरामा आराम गर्दै गरेका उनलाई ढोका खोल्न लगाएर अन्धाधुन्ध धारिलो हतियार प्रहार गरी हत्या भएको बताइएको छ । घटनामा संलग्न भएको आरोपमा श्रीलंकाली नागरिकसहित तीनलाई कतार प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको पाइएको छ ।  दसैँमा आउने खबर पठाएका छोराको हत्याको खबर बिहीबार बिहान फोनमार्फत पाएपछि परिवारका सदस्य शोकमा डुबेका छन् । छोरालाई विदेश पठाउन घरजग्गा कृषि विकास बैंकमा
धितो राखेको देवनारायणले बताए । ऋण तिर्न बाँकी नै छ । (सौस)

प्रतिक्रिया