पेट्रोलियम डिलर्स बारा आन्दोलित

काठमाडौं : बारा–पर्सा पेट्रोलियम डिलर्सले आन्दोलनमा उत्रने चेतावनी दिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले कानुनी प्रक्रियालाई थाती राख्दै मनोमानी ढंगले जिल्लाको विभिन्न व्यापारीलाई अनुगमन तथा निरीक्षणको नाममा दु:ख दिएको तथा दसैँ नजिकिने क्रमसँगै व्यापारीलाई मानसिक तथा आर्थिक यातना दिएको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।
एसोसिएसनले शुक्रबारदेखि नेपाल आयल निगमबाट तेल खरिद नगर्ने र पेट्रोलियम ढुवानी र अनिश्चित कालीन कारोबार बन्द गर्नेसमेत बताएको छ । अनुगमन गर्ने बहानामा प्रशासनले लक्ष्मी आयल सेन्टर, कटारुका अटोमोबाइल्स, तराई पेट्रोलियम, अनबर पेट्रोलियम तथा विषधारी फ्युल पम्पका कामदारलाई धम्क्याएकोमा गम्भीर आपत्ति प्रकट गरेको छ । त्यस्तो, गैरकानुनी कार्य यथाशीघ्र रोक्न, रोक्न लगाउन सम्बन्धित पक्षसँग एसोसिएनले जोडदार माग गरेको छ । अनुगमनका नाममा मध्यरातमा अराजक शैलीमा गरिएको कार्य कुनै पनि हालतमा जायज हुन नसक्ने ठहर डिलर्सले गरेको छ ।
बारा एसोसिएसनले नियन्त्रणमा रहेको टयांकर र डिजल विनासर्त मुक्त गर्नुपर्ने, निर्वाध रूपमा पेट्रोलियम पदार्थ खरिद एवं बिक्री गर्न पाउनुपर्ने, अनुगमनको नाममा कारबाही गरिएका पम्पको कारोबार विनासर्त फुकुवा गर्नुपर्ने, बन्द समयको क्षतिपूर्ति दिनुपर्ने, कानुनबमोजिम अनुगमन हुनुपर्ने, टयांकरमार्फत पेट्रोलियम पदार्थ आपूर्ति गर्न पाउनुपर्ने माग राखेको छ । ४८ घन्टाभित्र माग पूरा नभए बाध्य भएर आन्दोलनमा उत्रनुपर्ने चेतावनी पनि डिलर्सले दिएको छ । (सौस)

प्रतिक्रिया