आँखा उपचार गराउनेमा भारतीय बढी

काठमाडौं : नेपालका धेरै बिरामी उपचारका लागि भन्दै भारतलगायत विभिन्न मुलुक जाने गरेका छन् । नेपालमा भने भारतका बिरामी आएर उपचार गराउने गरेको पाइएको छ । पछिल्लो तथ्यांकअनुसार नेपालका आँखा अस्पतालमा उपचार गर्नेमा ६० प्रतिशत भारतीय र बाँकी नेपालीसहित अन्य छन् ।
विश्व दृष्टि दिवसको अवसरमा बुधबार तिलगंगा अस्पतालमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिइएको हो । तथ्यांकअनुसार नेपालमा रहेका २२ वटा आँखा अस्पतालमा गत वर्ष मात्र १८ लाखले सेवा लिए । सेवा लिनेमा १० लाख ८० हजारभन्दा बढी भारतीय छन् । वार्षिक दुई लाख बिरामीको अप्रेसन हुने गरेकामा पनि भारतीय नै बढी छन् ।
नेपाल नेत्रज्योति संघका कार्यक्रम कोअर्डिनेटर वाइडी सापकोटाले भारतमा भन्दा सस्तोमा गुणस्तरीय सेवा पाइने भएकाले भारतीय बिरामी उपचारका लागि नेपाल आउने गरेको बताए । ‘केही वर्षअघिसम्म आँखासम्बन्धी उपचार तथा ठुल्ठूलो शल्यक्रिया गर्न नेपाली भारतलगायत तेस्रो मुलुकमा जानुपर्ने बाध्यता थियो,’ उनले भने, ‘अहिले हजारौँ भारतीय तथा विदेशी नेपालमा आएर आँखाको उपचार तथा शल्यक्रिया गर्छन् ।’
संघको पछिल्लो अध्ययनअनुसार ३० हजार बालबालिकाले दुईवटै आँखा देख्दैनन् भने एउटा आँखा नदेख्ने बालबालिकाको संख्या ९० हजार छ । मोतीबिन्दु, रेटिनाको समस्या, वंशाणुुगत र पोषणतत्त्वको कमीले बालबालिका दुइटै आँखा नदेख्ने हुन्छन् भने एउटा आँखा मात्र नदेख्ने समस्याको प्रमुख कारक चोटपटक लाग्नु रहेको वरिष्ठ आँखा रोग विशेषज्ञ डा. आनन्द शर्माले बताए ।
स्वास्थ्य मन्त्रालयका उपसचिव कविराज खनालले आँखा उपचारलाई सरकारले अत्यावश्यक सेवाअन्तर्गत राखेपछि पछिल्ला वर्ष बजेट पनि बढाउँदै लगेको बताए । (सौस)

प्रतिक्रिया