दुई तिब्बती महिलालाई नागरिकता

सिन्धुपाल्चोक, २५ असोज । सिडिओ कार्यालय सिन्धुपाल्चोकले दुई तिब्बती महिलालाई नागरिकता दिएको खुलासा भएको छ । स्थानीयले गैरनेपालीले नेपाली नागरिकता लिएको थाहा पाएपछि प्रशासनमा मंगलबार मौखिक उजुरी गरेका थिए । स्थानीयको उजुरीपछि यो रहस्य खुलेको हो ।

प्रशासनले गुन्सा–४ स्थायी ठेगानामा भावना तमाङ र रोशनी तामाङ नाम राखेर दुई तिब्बतीलाई ४ असारमा नागरिकताको प्रमाणपत्र दिएको थियो । भावनाले
२४–०६९/००५५८ नम्बरको र रोशनीले २४–०६९/००५८३ नम्बरको नागरिकता पाएका थिए । उनीहरूको नागरिकतामा सहायक सिडिओ ओमकार न्यौपानेको हस्ताक्षर छ । गुन्सा–४ मा भावना र रोशनी नाम गरेका नागरिक नभएको स्थानीय लालबहादुर तामाङले बताए ।
गाविस सचिव हुतराज निरौलाले सोहीदिन जन्मदर्ताको प्रमाणपत्र दिएपछि सिडिओ कार्यालयले सहजै नागरिकताको प्रमाणपत्र दिएको पाइएको छ । भावनाकी बाबु साइला तामाङ र उनको नागरिकतामा प्रेम लामा दाजु बनेर सनाखत गरिदिएका छन् भने रोशनीलाई प्रेम लामा आफैँ
बाबु बनेर सनाखत गरेपछि आफूहरूले नागरिकता दिएको सहायक सिडिओ न्यौपानेले जानकारी दिए । नागरिकता प्रमाणपत्र दिन सनाखत गर्ने प्रेम लामा काठमाडौंमा ट्याक्सी चलाउँदै आएका छन् । उनले ३० हजार रुपियाँ लिएर नागरिकता बनाउन सनाखत गरेको पाइएको छ ।
गैरनेपालीले नेपाली नाग–रिकताको प्रमाणपत्र पाएको उजुरी आएपछि प्रशासन कार्यालयले बुधबार आवश्यक अनुसन्धानका लागि प्रहरीलाई जिम्मा लगाएको छ । ‘हामीलाई एक स्थानीयले कार्यालयमै आएर गैरनेपालीले नागरिकता पाएको सूचना दिए,’ सहायक सिडिओ न्यौपानेले भने, ‘हामीले बाहिरी हल्ला सुनेपछि
सबै कागज पत्र हेरेर थप अनुसन्धानका लागि प्रहरीलाई जिम्मा लगाएको छाँै ।’
यसअघि २० भदौमा पनि सिन्धुकोट–९ स्थायी ठेगाना राखेर पेमा लामाले नागरिकताको प्रमाण पत्र लिएकी थिइन् । उनले सहायक सिडिओ न्यौपानेको हस्ताक्षर भएको २४–०१–६९–०२२९२ नम्बरको नागरिकता लिएकी थिइन् । गाविस सचिव नवराज सेनको सिफारिस र सिन्धुकोट–९ का वाङदोर्जे
लामा नक्कली दाइ बनेको आधारमा उनलाई प्रशासन कार्यालयले नागरिकताको प्रमाणपत्र दिएको थियो ।

प्रतिक्रिया