शिक्षकद्वारा विद्यार्थीमाथि निर्घात कुटपिट

बाग्लुङ, २५ असोज । विद्यालयलाई शान्ति क्षेत्र घोषणा अभियान तीव्र रूपमा चलिरहेका समय बाग्लुङका एक विद्यार्थी शिक्षकबाट निर्घात कुटिएका छन् ।

लेखानी उमाविका शिक्षक कलाधर कँडेलले मंगलबार दिउँसो कक्षा ९ मा अध्ययनरत सञ्जय कँडेललाई कुटपिट गरी गम्भीर घाइते बनाएको पीडितका परिवारले जनाएको छ ।
घाइते कँडेलको धौलागिरि अञ्चल अस्पताल बाग्लुङमा उपचार भइरहेको छ । विद्यालय परिसरभित्रै तथानाम गालीगलौज गर्दै बाँसका भाटाले पिटेको
पीडित कँडेलको भनाइ छ । शिक्षकको कुटाइबाट घाइते
बनेका कँडेलको जिउ र हातमा बाँसको भाटाले हिर्काएको डाम रहेको उनका अभिभावक भुवनले बताए । कुटपिटपछि उनी
मानसिक रूपमा त्रसित देखिएको अस्पतालका हेल्थ असिस्टेन्ट रामप्रसाद खनालले बताए ।
‘विद्यालयका छात्रालाई जिस्क्याएपछि उनीहरूले पशुहरू भनेर गाली गरे,’ पीडित कँडेलले कुटिएकोबारे प्रस्ट्याउँदै भने, ‘त्यसपछि सरलाई पशु भनेर भनेर जानकारी गराउँदा सरले बेस्सरी पिट्नुभयो ।’
पीडित कँडेलले आफूलाई अन्यायपूर्वक ढंगमा शिक्षकले पिटेको भन्दै न्याय दिलाउन आग्रह गरे । ‘विद्यालयका शिक्षकले विद्यार्थीलाई कुटपिट गर्नुहुँदैन भनेर अनुशासन सिकाउनुपर्छ,’ अभिभावक कँडेलले भने, ‘तर अनुशासनमा राख्ने बहानामा निर्घात कुट्नु दु:खद् र गम्भीर विषय हो ।’ उनले दोषी शिक्षकमाथि विद्यालयले छानबिन गरी कारबाही गर्नुपर्ने बताए ।
कुटपिटको आरोप लागेका शिक्षक कँडेलले विद्यार्थीले अनुशासनहीन काम गरेकाले सही ठाउँमा ल्याउन लठ्ठी लगाएको बताए । ‘पटकपटक सुधारका लागि भनियो,’ उनले भने, ‘तर सुधार हुनुको बदला अनुशासनहीन काम गर्न उद्यत भएकाले केही लठ्ठी हानेको हुँ ।’ उनले विद्यार्थी र अभिभावकले सामान्य कुरालाई बढाइ–चढाइ गरेर प्रचार गरेको दाबीसमेत गरे । अनुशासनहीनलाई यसरी नै बाँसका भाटाले ठीक पाने उनले बताए ।
शिक्षक कँडेलले एक छात्रलाई निर्घात कुटपिट गरेर अस्पताल भर्ना गर्नुपर्ने अवस्था आएपछि अन्य छात्रले पनि विरोध गरेका छन् । उनीहरूले शिक्षक कँडेलले पहिला पनि सामान्य विषयमा विद्यार्थीलाई कुटपिट गर्दै आएको बताए । विद्यार्थीले शिक्षक कँडेलले विद्यार्थीका अगाडि अमाचकारी गाली गर्ने, हातमा जे छ, त्यसैले विद्यार्थीलाई झट्टी हान्ने र अनावश्यक ढंगमा तर्साउने काम गर्दै आएको बताए । विद्यार्थीले शिक्षक कँडेल पढाउने विषयमा विद्यार्थीले मानसिक तनाव भोग्दै आएको तर उनको अध्यापन शैलीमा सन्तुष्ट हुन नसकेको बताए । उनका विरुद्ध गुनासो गरिए कुटाइ खाने डरले विद्यालय व्यवस्थापनमा गुनासो गर्नसमेत डर रहेको विद्यार्थीको भनाइ छ ।

प्रतिक्रिया