खेलाडी संघको ६ बुंदे माग

काठमाडौं : नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई ६ सूत्रीय मागसहितको ज्ञापनपत्र मंगलबार बुझाएको छ । ज्ञापनपत्रमा दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णविजेतालाई जागिरमा स्थायी गर्नुपर्ने, ११औँ सागमा स्वर्ण जित्ने खेलाडीलाई तत्कालीन बोर्डबाट घडेरी उपलब्ध गराउने निर्णय कार्यान्वयन गर्नुपर्ने र छैटौँ राष्ट्रिय खेलकुदको घोषणा गरिएको पुरस्कारको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।
११औँ सागमा स्वर्ण जित्ने खेलाडीहरूलाई प्रदान गर्ने भनिएको राष्ट्रिय स्वीकृत पदकको व्यवस्था २०६७ को खेलकुद नीतिअनुसार नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका प्रतिनिधिलाई राखेपमा सदस्यमा राख्ने प्रावधान कार्यान्वयन र राखेपअन्तर्गत रहेका संघको विधानमा देशका लागि योगदान दिएका सम्बन्धित खेलका एक/एक पुरुष र महिला खेलाडीलाई केन्द्रीय कार्यसमितिमा अनिवार्य राख्नुपर्ने माग उल्लेख गरिएको छ । राखेप सदस्य–सचिव युवराज लामालाई खेलाडी संघका अध्यक्ष दीपक विष्टले पत्र हस्तान्तरण गरे ।

प्रतिक्रिया