भौतिकशास्त्रीलाई नोबेल पुरस्कार

स्टकहोम : भौतिकशास्त्रमा पुर्‍याएको योगदानका लागि फ्रान्सका सर्ग ह्यारोच र अमेरिकाका डेभिड वाइनल्यान्डले यस वर्षको नोबेल भौतिकशास्त्र पुरस्कार प्राप्त गरेका छन् । उनीहरूको कामले कम्प्युटर क्षेत्रमा क्रान्ति ल्याउने भन्दै उनीहरूलाई प्रतिष्ठित नोबेल पुरस्कार दिइएको हो ।
नोबेल भौतिकशास्त्रका निर्णायक मण्डलले उनीहरूले प्रत्येक क्वान्टम प्रणालीको मापन तथा त्यसको उपयोगमा अप्टिकल प्रयोग गरेको भन्दै पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । उनीहरूले प्रयोग गरेको विधिले अत्यन्तै तीव्र गतिमा तथ्यांक प्रशोधन गर्नसक्ने र क्वान्टम भौतिकशास्त्रमा आधारित नयाँ कम्प्युटर विकास गर्न सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ ।
गत शताब्दीमा शास्त्रीय कम्प्युटरले ल्याएजस्तै क्वान्टम कम्प्युटरले मानवजीवनमा अभूतपूर्व परिवर्तन ल्याउने अनुमान गरिएको छ । अनुसन्धानकर्ताले प्रभावकारी घडी तयार गर्न सहयोग गरेको र यसबाट आउँदा दिनमा स्तरीय समय पाउने बताइएको छ । यस्तो घडी हालको क्यासियम घडीको तुलनामा सयौँ गुणा सही हुनेसमेत बताइएको छ ।
६३ वर्षीय ह्यारोचले आफूले पुरस्कार पाएको सुनेर ज्यादै खुसी लागेको बताए । सडकमा हिँडिरहेका बेला पुरस्कारसम्बन्धी समाचार प्राप्त गरेको र खुसीले नजिकैको बेन्चमा बस्न पुगेको उल्लेख गरे । दुवै वैज्ञानिकले क्वान्टम इन्टयांगलमेन्टमा विशेषज्ञता हासिल गरेका छन् । ह्यारोज ‘कलेज डे फ्रान्स’ र पेरिसको ‘इकोल नोर्माल सुपेरियुर’का प्राध्यापक हन् । ६८ वर्षीय वाइनल्यान्डचाहिँ कोलोराडोको बाउल्डरमा अवस्थित कोलोराडो विश्वविद्यालयको नेसनल इन्स्टिच्युट अफ स्ट्यान्डर्ड एन्ड टेक्नोलोजीका प्रमुख हुन् । (एएफपी)

प्रतिक्रिया