ज्ञानेन्द्रको भ्रमण र नेताहरूको असक्षमता

पूर्वराजा ज्ञानेन्द्र शाहको पश्चिमाञ्चल भ्रमणले नेपाली राजनीतिमा केही तरंग उब्जाएको छ । धौलागिरी र गण्डकी भ्रमणको क्रममा बागलुङमा पूर्वराजावादीहरूको सक्रियता र एमाले पार्टीका एक जिल्ला सदस्यको कारवाही प्रक्रियाले यसलाई थप चर्चामा ल्यायो । त्यसो त भ्रमणका क्रममा म्याग्दी, स्याङ्जा र तनहुँमा घोषणा गरिएको बन्द, पर्वत लगायतका जिल्लामा उनको कार्यक्रममा नजान राजनीतिक दलले आफ्ना कार्यकर्तालाई दिएको निर्देशन र बागलुङमा दलका नेताहरूले नै प्रशासनमार्फत प्रधानमन्त्री बावुराम भट्टराईलाई गुहारेकाले पनि मिडियामा यसले चर्चा बटुल्यो ।
०६२/०६३ को जनआन्दोलनको भरमा स्थापित संसद, त्यसपछि भएको संविधानसभाको निर्वाचन र निर्वाचित जनप्रतिनिधीको सर्वोच्च थलो संविधानसभाले आफ्नो संकल्पमार्फत सक्रिय राजा ज्ञानेन्द्रलाई थला पारी नागरिकको हैसियतमा पुऱ्याएको हो । नागरिकको हैसियतमा पुगेका पूर्व राजाले पनि अन्य नागरिक सरह नै हिडडुल गर्ने, भ्रमण गर्ने र आफ्ना पक्षधरसँग छलफल, अन्तरक्रिया र बातचित गर्ने अधिकार राख्दछन् । अनि राजनीतिक दलका कार्यकर्ताले आफ्ना नेताहरू जिल्ला आउँदा स्कटीङ गरी फूलमालाले स्वागत गरे जस्तै पूर्वराजाका पक्षधरले पनि उनलाई स्कटिङ र स्वागत गर्ने हैसियत पनि राख्दछन् । यो त नेपालको अन्तरिम संविधानले प्रत्याभूत गरेको नागरिक हकभित्रै पर्छ । राजनीतिक दलले गरेको बन्दलाई स्वागत गर्दै पूर्व राजाले म्याग्दीलगायतका केही प्रमुख धार्मिक स्थलहरूमा आफ्नो उपस्थिति जनाएनन् । उनका पक्षधरले उक्साए जसरी जबरजस्ती भ्रमण गरेको भए उनको साख घट्दो होला तर उनले सजिलै आफ्नो भ्रमण रद्ध गरेर सर्वसाधारणको सहानुभूति आफूतिर खिँचे भने सर्वसाधारणमा त्यसको आक्रोश राजनीतिक दलप्रति पुग्यो । सर्वसाधारण हरेक नागरिक दलिय बन्दको विरोधमा देखिए । संग्रहालयमा थन्किएको नेपालको राजसंस्था अब सक्रिय भूमिकामा फर्किने कुनै सम्भावना देखिँदैन । यो त स्वयं ज्ञानेन्द्रले पनि बुझेका छन् भन्ने कुरा पोखरामा उनले आफू पक्षिय व्यक्तिसँग गरेको अभिव्यक्तिले पनि प्रष्ट पारेको छ । उनले भनेका छन, ‘अब हाम्रो पहिलेकै भूमिका हँुदैन ।’ तर, जिल्ला तहमा भन्किने राजावादीहरूले उनलाई राजा आउ देश बचाऊ भनेर उकासी रहेकाछन । उक्साउनेहरूले के बुझ्न जरुरी छ भने उनीहरूको विश्वास नगरेका कारण नै ज्ञानेन्द्रले आफ्नो सुरक्षाका लागि ठूलो युवा जमात काठमाडौंबाट ल्याएर आएका हुन् ।
जिल्ला तहमा धार्मिक भ्रमणको रूपमा राजा निस्किए लगत्तै विरोधमा उत्रिन निर्देशन दिने राजनीतिक दलका केन्द्रिय तहका नेताहरू भने राजनीतिक संकटको निकास दिन असमर्थ भइरहेका छन् । सत्ता, शक्ति र सञ्चारको केन्द्र काठमाडौंमा रहेका दलका नेताहरू भने अहिले पनि यीनै तीन बस्तु प्राप्त गर्न मात्र लागिपरीरहेका छन । संविधानसभाको पून:स्थापनाको ढोका बन्दगरी निर्वाचनमा जान सहमती गरेका शीर्ष नेताहरूले विभिन्न बहाना बनाउँदै सत्ताको कुर्सी पछिपछि दौडिरहेका छन् । विरोध गर्ने निर्देशन दिनेहरूले आफ्नो लामो विरासतलाई ज्ञानेन्द्रले कति सजिलै त्यागेका थिए भन्ने हेक्का समेत् राख्न सकेका छैनन् । सत्ता र शक्ति त्याग्ने ज्ञानेन्द्रको शैली अपनाउन सकेमात्र पनि मुलुकले सार्थक निकास पाउन सक्ने थियो । जनताको अभिमत बुझ्न नसकेर सँधै सत्ता, शक्ति र प्रभुत्व जमाउन खोज्ने सबैको एकदिन त पूर्वराजा ज्ञानेन्द्रको जस्तै अवस्था आईपुग्छ भन्ने सबै दलका नेताले वुझ्नुपर्छ । एमाओवादी अध्यक्ष प्रचण्डले भने जस्तो वर्तमान बाबुराम भट्टराई सरकारले २५ बर्षसम्म मुलुकमा शासन गर्ने कुरा त कल्पना पनि गर्न सकिँदैन । त्यो त क्षणिक न्यानो मात्र हो । अहिले मुलुक शीर्ष नेताहरूमा रहेको नेतृत्व असक्षमताले अनिर्णयको बन्दी भइरहेको छ । कम्तीमा पनि हाम्रा नेताहरूले नेतृत्व क्षमता सम्बन्धी सर्वमान्य सिद्धान्तलाई आत्मसात गर्नुपर्ने हो । तर, नेताहरूमा रहेको खिचातानी, दाउपेच र छलकपटले मुुलुक अझै निकासतर्फ अगाडि बढ्न सक्ने अवस्था छैन । लोकतन्त्रमा प्रतिस्पर्धात्मक राजनीति अनिवार्य भए पनि त्यो नेताहरूको इगोको बिषय बन्नु हुँदैन ।
मुलुक अनिर्णयको बन्दी बन्नुको पछाडि सबै दलका नेताहरूमा रहेको अहंकारले पनि काम गरेको छ । वास्तवमा अहंकारले नै मानिसलाई स्वेच्छाचारी, स्वार्थी, मतलवी र चाहिनेभन्दा बढी महत्वकांक्षी बनाउँछ । सरकारवादी र विपक्षी सवै दलका नेताहरूमा अहिले सबैभन्दा बढी अहंकारले घर गरेको छ । यसको परिणाम हरेक विषयवस्तु र छलफल नै नकारात्मक सोचबाट केन्द्रित हुने गर्दछन् । नत्र, सत्ता पक्ष र विपक्षी दुवैले मोर्चा बनाएर जनतामा जानुलाई नकारात्मक रूपमा लिन जरुरी छैन । निर्वाचनमा जाने विषयमा सहमति भइसकेपछि आ–आफ्ना माग र एजेन्डा लिएर जनतामा जानु त लोकतन्त्रको मर्म नै हो । यसमा मोर्चा बनाएर सरकारवादी दलहरू हिँडे भनेर विपक्षी तर्सिनुपर्ने र विपक्षीले गठबन्धन गरे भनेर सत्तापक्ष आत्तिनुपर्ने कुनै कारण नै छैन । यी सब विरोधको जड त दलका नेताहरूमा रहेको अहंकारको परिणाम नै हो । आफ्नो नैतिक हैसियत गुमेपछि अरूको दोष देखाएर उम्किन खोज्नु मुर्खता सिवाय केही हुन सक्दैन । अहिले ज्ञानेन्द्रको स्वतन्त्रताको अतिक्रमण गर्ने र गर्न लगाउने अन्य दलका नेता कार्यकर्ताले कम्तीमा पनि आफ्ना नेताहरूको असक्षमताको बारेमा पनि बोल्न सकेमा मुलुकले निकास पाउने थियो कि †

प्रतिक्रिया