एमाले उपाध्यक्षमा अधिकारी कि नेम्वाङ ?

काठमाडौं, २४ असोज । एमालेले असन्तुष्ट नेताहरू बाहिरिएपछि उपाध्यक्षसहित ६ केन्द्रीय सदस्यको रिक्त स्थानमा पदपूर्ति गर्ने भएको छ । एकल जातीय पहिचानका प्रदेशको माग गर्दै उपाध्यक्ष अशोक राईलगायत केन्द्रीय कमिटीका ६ नेताले पार्टी त्यागेका थिए ।

केन्द्रीय कमिटीको आगामी बैठकमा ती पदमा अन्य नेतालाई जिम्मेवारी दिने विषयमा छलफल हुनेछ ।

बैठक मिति तय गर्न २७ र २८ असोजमा एमालेले स्थायी समितिको बैठक बोलाएको छ । ‘अब बस्ने केन्द्रीय कमिटीको बैठकले उपाध्यक्षलगायत नेताले छाडेपछि खाली भएका सबै पदमा नयाँलाई जिम्मेवारी दिनेछ,’ सचिव विष्णु पौडेलले सौर्यसँग भने, ‘त्यसलगायत विषयमा निर्णय लिन केन्द्रीय कमिटीको बैठक बस्ने तयारी भइरहेको छ ।’
नवौँ महाधिवेशनका लागि अब एक वर्ष मात्र समय रहेकाले महाधिवेशनसम्म सबै पद रिक्त राख्नुपर्ने विचार पनि एमाले वृत्तमा आएको छ । ‘नवौँ महाधिवेशनका लागि धेरै समय बाँकी छैन,’ एक केन्द्रीय सदस्यले सौर्यसँग भने, ‘महाधिवेशनबाटै नयाँ निर्णय लिनु उपयुक्त हुन्छ ।’ उनले पनि पार्टी छाडेका नेताहरूका ठाउँमा अन्यलाई ल्याउने वा नल्याउने विषयमा केन्द्रीय कमिटीमै छलफल हुने बताए ।
केन्द्रीय कमिटीले कुल सदस्य संख्याको ५ प्रतिशत मनोनीत गर्नुपर्ने व्यवस्था एमालेमा छ । तर, महाधिवेशन भएको चार वर्ष बितिसके पनि एमालेले मनोनीत गरेको छैन । एक सय १५ सदस्यीय केन्द्रीय कमिटीमा यसअघि नै ६ केन्द्रीय सदस्य मनोनयन गर्नुपर्ने थियो । लामो समयसम्म पार्टीमा आन्तरिक विवाद रहेकाले पनि एमाले नेताहरूले मनोनीतको कोटामा तत्काल कसैलाई नल्याउने सहमति गरेका थिए ।
गत बिहीबार उपाध्यक्ष राईसहित, पोलिटब्युरोका वैकल्पिक सदस्य विजय सुब्बा, केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, वीरबहादुर लामा र वैकल्पिक केन्द्रीय सदस्य अजम्बर राईले पार्टी त्यागेको घोषणा गरेका थिए । एमालेले एकल जातीय पहिचानका प्रदेशलाई अस्वीकार गरी बहुजातीय साझा पहिचानका प्रदेश बनाएर राज्य पुन:संरचना गर्नुपर्ने नीति पास गरेपछि उनीहरूले एमाले त्यागेका थिए ।
अशोक राईको स्थानमा कसलाई ल्याउने भन्नेमा एमाले शीर्ष नेताहरूले स्पष्ट धारणा बनाइसकेका छैनन् । स्रोतका अनुसार संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङ र स्थायी समिति सदस्य भरतमोहन अधिकारीमध्येबाट एकलाई उपाध्यक्ष चयन गरिने सम्भावना रहेको छ । एमालेको महाधिवेशन हुँदा संविधानसभाको अध्यक्ष रहेकाले नेम्वाङ महाधिवेशनमा सहभागी भए पनि एमाले केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिएका थिएनन् । १४ जेठमा संविधानसभा विघटन भएपछि नेम्वाङले पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । अधिकारी भने आठौँ महाधिवेशनमा उपाध्यक्षकै प्रत्यासी थिए । अध्यक्ष खनाल र नेता केपी शर्मा ओलीको दुई प्यानल खडा गरी भएको चुनावमा अधिकारीको नाम कुनै पनि प्यानलमा समावेश गरिएको थिएन र उनी पराजित भएका थिए । ‘एमालेमा एकसेएक योग्य नेताहरू हुनुहुन्छ,’ सचिव पौडेलले भने, ‘कसलाई कुन स्थानमा चयन गर्ने भन्ने कुरा अहिले नै तय हुने होइन, केन्द्रीय कमिटीको बैठकले नै गर्छ ।’
यसअघि पार्टीमा मोर्चा संगठन प्रमुखको जिम्मेवारीमा समेत रहेका उपाध्यक्ष राईलाई हटाएर सचिव शंकर पोखरेललाई ल्याएको थियो । यस्तै, पोलिटब्युरोका वैकल्पिक सदस्य विजय सुब्बाले सम्हालेको राष्ट्रिय जनसांस्कृतिक महासंघको इन्चार्ज पोलिटब्युरो सदस्य प्रदीप नेपाललाई बनाइएको छ । राजेन्द्र श्रेष्ठलाई उपत्यका संयोजकको जिम्मेवारीबाट हटाएर केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया