पुन:स्थापनाको चर्चा जनता झुक्याउन : ओली

काठमाडौं : एमाले नेता केपी शर्मा ओलीले संविधानसभा पुन:स्थापनाको चर्चा जनता झुक्याउनका लागि चलाइएको बताएका छन् । एमालेमा पनि संविधानसभा पुन:स्थापना गरे संविधान बन्छ भनेर पत्याउने लाल बुझक्कडहरू रहेको स्वीकार गर्दै नेता ओलीले चार वर्षसम्म संविधान बनाउन नसकेको संविधानसभा ब्युँताएर नयाँ संविधान बनाउन नसकिने ठोकुवा गरे ।
इन्टरनेसनल कन्फरेन्स एलाइन्स अफ पोलिटिकल पार्टी (आइक्याप)को सम्मेलनमा भाग लिन मेक्सिको जानुअघि ओलीले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग राजनीतिक सहमतिको सरकार गठन गरेर नयाँ चुनावमा जानुपर्ने बताए । उनले चार वर्षसम्म संविधानसभा नै देखाएर जनतालाई अल्मल्याएको र फेरि त्यसैलाई पुन:स्थापना गरेर अलमल्याउन खोजिएको बताए । ‘सहमतिका नाममा अन्य दललाई अलमल्याउँदै जाने र संविधानसभा पुन:स्थापनाका नाममा जनतालाई अलमल्याउने काम भइरहेको छ,’ उनले भने, ‘चार वर्षमा संविधान बनाउन नसक्ने संविधानसभा पुन:स्थापना गरेर संविधान बन्छ भन्ने भ्रम फेरि दिएर झुक्याउन खोजिँदै छ ।’
एमाओवादीले अधिनायकवादी शासन लागू गर्न खोजेको आरोप लगाउँदै उनले त्यो कुनै हालतमा सफल हुन नदिने दाबी गरे । (सौस)

प्रतिक्रिया