‘जातीय पहिचान विश्वमा कतै छैन’

चितवन, २३ असोज । एमाल उपाध्यक्ष वामदेव गौतमले जातीय पहिचान संसारमै कतै नरहेको दाबी गरेका छन् ।
‘विश्वमा जातीय पहिचान सहितका राज्य कतै छैन,’ उनले भने, ‘नेपालमा पनि जातीय राज्य सम्भव छैन ।’
पार्टी कार्यालय चितवनमा आज कार्यकर्ताहरुलाई सम्बोधन गर्दै बहुजातीय पहिचान मान्न नसक्ने अनि पार्टीले पहिचान नै दिएन भन्ने जनजाति नेताहरुको आरोपप्रति आक्रोशित उपाध्यक्ष गौतमले भने, ‘एमालेले जातीय सम्मान नै गरेन भन्नुको कुनै तुक छैन ।’
उपाध्यक्ष गौतमले नयाँ निर्वाचनमा अहिलेको राजनीतिक निकासको उत्तम विकल्प रहेको दावी गरे । उनले भने, ‘निकासका लागि नयाँ जनादेश उपयुक्त छ ।’
‘एमालेको आधिकारिक निर्णय नयाँ निर्वाचनमा जाने हो,’ उनले भने, ‘नयाँ संविधान घोषणा गर्नका लागि मात्रै हो भने संविधानसभा पुनःस्थापना पनि गर्न सकिन्छ ।’
पहिला विवादित बिषयमा टुंगो लाग्नु पर्ने बताएका उनले यथास्थितिमा संविधानसभा पुनःस्थापना गर्न नसकिने उल्लेख गरे ।
रााष्ट्रिय सहमतिको सरकार नवनाए सम्म मुलुकले निकास नपाउने गौतमको दाबी छ ।
उनले प्रधानमन्त्री बाबुराम भट्टराई इतिहासकै असफल प्रधानमन्त्रीका रुपमा चित्रित भईसकेको टिप्पणी गरे ।
‘राष्ट्रपतिको हस्तक्षेपबाट वर्तमान सरकार बर्खास्त गरी सहमतीय सरकार निर्माण गर्नु पर्छ,’ उनको भनाई थियो ।

प्रतिक्रिया