मनले मात्र होइन शरीरले साथ दिनुपर्छ

नुवाकोटको त्रिशुली आजभन्दा बीस–पच्चीस वर्षपहिला त्यस्तो थिएन, जस्तो यो आज छ– घर–घरमा टेलिभिजन थिएन, भिडियोहरू थिएनन्, मोबाइल र ल्यापटप अनि युटयुब र फेसबुकहरू पनि चल्तीमा आइसकेका थिएनन् । मानिस कम थिए, वातावरणमा हरियाली धेरै थियो, जुन आजजस्तो प्रदूषित कंक्रिटमय समाजमा पाउन हम्मेहम्मे छ । त्यही समाजमा एउटी सानी बालिका पुतलीसरी त्रिशुलीबजारमा यता र उता गरिहन्थी । चारपाँच कक्षामा पढ्ने त्यस चुलबुले फुच्चीको नाम थियो– संगीना वैद्य ।

एकदिन त्यही सानी संगीना खेल्दाखेल्दै एकजना साथीको घरमा पुगिन् । त्यहाँ टेबलमा भिडियो थियो र त्यसमा मार्सल आर्ट्सका महारथी ब्रुस लीले अभिनय गरेको फिलिम चल्दै थियो । संगीनालाई फिल्ममा देखिने लडाइ–भिडाइका रोमाञ्चक दृश्यबाट आँखा हटाउनै मन लागेन । मेरी बास्सै † कस्तो एक्सन † कस्तो शक्ति † जिउडाल † हेराइ † सानी बालिकालाई लाग्यो, आफूले पनि यस्तै गरेर खेल्न पाए † यसैगरी ठाउँको ठाउँ मान्छेलाई हानेर ढाल्न पाए †
चाहना मात्र भएर कहाँ हुन्थ्यो र † गाउँमा अहिलेको जस्तो क्लब, खेल्ने वातावरण केही थिएन । ब्रुस लीजस्तै खेलाडी बन्ने चाहना भएकी संगीना सुहाउँदो वातावरणको खोजीमा थिइन् । जसरी पनि खेलाडी बन्छु र ब्रुस लीले जस्तै खेल्छु भन्ने उनको चाहना दिन प्रतिदिन बढ्दै थियो ।
स्कुल पढ्दादेखि संगीनालाई खेलकुदप्रति इच्छा प्रबल थियो । त्रिशुलीबजारमा तेक्वान्दो खेल्ने चलन थिएन । स्कुलमा भलिबल, फुटबल, हाइजम्प र लङजम्पजस्ता खेलमा उनको सहभागिता हुने गथ्र्यो । जिल्लामा हुने ठूलो खेल भनेको वीरेन्द्रसिल्ड प्रतियोगिता थियो, जहाँ उनी पनि सहभागी हुने गर्थिन् । उनका लागि खेल, त्यसमा पनि तेक्वान्दो, नशाजस्तै हुँदै थियो ।
संगीनाको मनमा कुनै दिन विश्वभरका खेलाडीले खेल्ने ओलम्पिकमा भाग लिने अवसर मिल्ला भन्ने मनको कुनै कुनामा थिएन । विदेशमा गएर खेलौँला र सुनको तक्मा हात पारौँला भन्ने त उनले सोचेकी पनि थिइनन् ।
धेरै दिदीबहिनीबीच हुर्केकी संगीनालाई खेल्ने भन्दै दौडेको देख्दा सबैले ‘यो बिग्रिने भई’ भन्दै गाली गर्थे । दिदीबाहिनीले भान्साको काममा सहयोग गर्ने तर उनी भने खेलाडी बन्छु भन्दै दौडेको देख्दा परिवार पनि सन्तुष्ट थिएन संगीनासँग । ‘पढ्न पर्दैन, खेल्न मात्रै पाए हुने’ भन्दै घरमा सबैले टोकसो गर्थे । जसले जे भने पनि उनको तन–मन खेल्नमा नै रम्न थालेको थियो । परिवारको चित्त बुझाइदिने गरी नम्बर पनि ल्याउँथिन् स्कुलमा उनी ।
संगीना एसएलसी पूरा गरेर उच्च शिक्षाका लागि काठमाडौं आइन्, जहाँ उनको ध्यान पढाइमा होइन, खेलतिर गयो । ‘खेल्ने ठाउँ कता होला, खेलाडीको जमघट कहाँ हुन्छ’ आदि जिज्ञासा लिएर उनी दशरथ रंगशाला पुगिन् । तिनताका चल्तीको मार्सल आर्टस् भनेकै तेक्वान्दो थियो । आफ्नो पुरानो सपना पूरा गर्न संगीना क्याम्पस भर्ना नहुँदै तेक्वान्दोको तालिममा होमिइन् ।
काठमाडौं आएर तेक्वान्दो सिक्नथालेको तीन महिनामा नै संगीनाले पहिलो राष्ट्रिय तेक्वान्दो च्याम्पियसिपमा भाग लिने मौका पाइन् । पहिलो सहभागिताले नै उनलाई स्वर्ण पदक दिलायो । धनगढीमा भएको त्यो खेलमा स्वर्ण पदक पाएपछि उनमा आँट र हौसला चुलिँदै गयो । सन् १९९१ बाट सुरु भएको उनको खेलयात्राले राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बीसवटा स्वर्ण पदक हात लगाएको छ ।
खेलमा प्रवेश गर्दा खेल नै मेरो पेसा हुन्छ भन्ने उनलाई लागेको थिएन । सिक्न र खेल्नुपर्छ भन्नेमात्र थियो । पहिलो राष्ट्रिय खेलमा सहभागी हुँदा, पदकको अपेक्षा थिएन रे उनमा । खेल्न पाएँ, यही नै मेरा लागि ठूलो हो भन्ने मात्र सोचिन् उनले । बाग्मती अञ्चलबाट छनोट भएर खेल्नु नै उनका लागि ठूलो अवसर भएको थियो । दबाबबीच खेलेर पनि स्वर्ण पदक हात पारिन् । फर्केलगतै राष्ट्रिय टिममा सहभागी भएर अगाडि बढ्यो उनको तेक्वान्दो यात्रा ।
तेक्वान्दोको नशामा परेकी संगीनाले सन् १९९२ मा भारतको आसाममा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी भएर नेपाललाई स्वर्ण पदक दिलाउन सफल भइन् । पहिलोपटक अन्तर्राष्ट्रिय खेलमा सहभागी भएकी उनले स्वर्ण पदक पाएपछि उनीसँग परिवार पनि संगीनाले नाक राखी भनेर धेरै खुसी भए । मैले खेलबाट नगद पुरस्कार पाएको त्यो पहिलो थियो, पुरस्कारको राशि दस हजार भारु थियो, त्यति बेला मेरा लागि त्यो रकम निकै धेरै थियो, मैले सोच्दै नसोचेको । सबै पैसाले परिवारका लागि उपहार किनेर ल्याएँ, त्यसमा पनि भान्साका भाँडा । घरमा सबै दंग परे, कहिल्यै भान्सामा नजानेले भान्साको सामान ल्याएको देख्दा । सञ्चारमाध्यममा मेरो फोटो आउन थालेपछि गाउँभर चर्चा भयो– ए † साँच्चै संगीनाले खेलिछ, राम्रो पो गरिछ भनेर । उनको हौसला चुलिँदै गयो, साँच्चै म राम्रो खेल्दी रहिछु भनेर । प्रशिक्षक शुभचिन्तकको माया र हौसलाले उनलाई लाग्यो– अब मैले यसकै माध्यमबाट राष्ट्रका लागि केही गर्नुपर्छ भन्ने ।
सन् १९९९ मा बैंककमा दुर्घटनामा परेर उनको दाहिने खुट्टा फ्रयाक्चर भयो । खुट्टा फ्रयाक्चरपछि उनलाई लाग्यो– अब मैले खेल्ने दिन गए । ६ महिना अस्पतालको बेडमा बस्दा अब खेल्न पाउँदिनँ, मेरो खेलजीवन यहीँ सकियो भनेर धेरै रोइन् । उनलाई लागेको थिएन– यो खुट्टाले विदेशी खेलाडीसँग अब फेरि कहिल्यै प्रतिस्पर्धा गर्न सक्ला भनेर । समय बित्दै जाँदा प्रशिक्षकको हौसला, शुभचिन्तकको माया र उनको आत्मविश्वासले उनलाई खेलमा फर्काइछाड्यो । दाहिने खुट्टामा स्टिल राखेर पनि उनले धेरै अन्तर्राष्ट्रिय खेलमा आफ्नो कौशल प्रस्तुत गरिछाडिन् । खुट्टा फ्रयाक्चर भएको आठ महिनामै उनले साफ खेल खेलिन् र त्यसमा स्वर्ण पदक पनि जितिन् राष्ट्रका लागि ।
दुर्घटनापछि जिरोबाट सुरु भएको उनको खेलले पुन: पदक दिँदै गयो । सन् १९९६ मा अस्ट्रेलियामा भएको एसिया तेक्वान्दो च्याम्पियनसिपमा उनले स्वर्ण पदक र एसियाली च्याम्पियनसिपको उपाधि हात पारिन् । एकपछि अर्को गर्दै उनको सफलता र हौसला बढ्दै गयो । अस्पतालमा हुँदा जब उनका अगाडि खेलाडी आउँथे, उनलाई खपी नसक्नु हुन्थ्यो रे †
जति बेला संगीना ओलम्पिकको छनोटमा नेपालका तर्फबाट प्रतिस्पर्धा गर्दै थिइन्, उनको मनमा लागेको थियो– यो मेरा लागि अन्तिम मौका हो, मसँग भएको सिप, क्षमता जे छ, मैले सबै यतिबेला नै देखाउनुपर्छ । यसपछि मैले आफ्नो क्षमता देखाउने मौका पाउँदिनँ । ओलम्पिकमा सहभागी हुने मौका कुनै हालतमा गुमाउनुहुँदैन । मेरो खुट्टामा स्टिल छ भनेर बिर्सन कोसिस गर्थें तर पनि कताकता झस्किहाल्थेँ । जति गरे पनि दाहिने खुट्टा अगाडि बढ्नै मान्दैनथ्यो । जबर्जस्ती खेले खुट्टा बचाएर, आज पनि सम्भँmदा लाग्छ मलाई भगवान्ले साथ दिएका थिए होलान् र नै मैले खुट्टामा स्टिल भएर पनि ओलम्पिकमा सहभागी हुनसके ।
गर्व लाग्छ– म प्रतिस्पर्धाबाट छनोट भएर ओलम्पिक खेल्ने पहिलो नेपाली हुँदा मैले एउटा इतिहास रच्न सकेँ । मेरो खुट्टा ठीक भएको भए सायद मैले राष्ट्रका लागि ओलम्पिकबाट केही दिन सक्थेँ ।
ओलम्पिकमा नेपालको तुलनामा विदेशी खेलाडीले पाएको प्रशिक्षण र सुविधा एकातिर थियो भने उनको खुट्टामा रहेको स्टिलले उनको मस्तिष्कमा बारबार करेन्टले जस्तै झड्का दिँदै थियो । भन्छिन्, ‘हामी ले उनीहरूको तुलनामा केही पनि सुविधा पाएका हुँदैनौँ । फेरि खेलाडी पनि बाघजस्तो आक्रामक हुन्थे, उनीहरूसँग जुध्नु भनेको जोक पक्कै थिएन । खुट्टा पनि मेरो प्रतिकूल थियो । शरीरले साथ दिएन भने मनले चाहेर मात्र खेल्न सकिँदैन । जब मेरो खुट्टामा समस्या आयो र म ओलम्पिकमा सहभागी भएँ ।’
मलाई लाग्यो– ‘अब मैले खेलबाट बिदा लिनुपर्छ ।’ खेलमा सहभागी हुनु मात्र ठूलो कुरा होइन, संगीनाका लागि । राष्ट्रले उनका लागि केही लगानी गर्छ भने उनले पनि राष्ट्रका लागि केही दिनुपर्ने उनको धारणा छ ।
नेपालका तर्फबाट छनोट भएर ओलम्पिक खेलमा सहभागी हुने पहिला खेलाडी भइन् । सफलता हात पार्न थुप्रै समस्याबाट गुज्रिइन् । सफल हुन मान्छेका अगाडि चुनौती पनि पहाडजस्तै ठडिएको हुन्छ । अझ महिलाका लागि हुने सामाजिक समस्यासँगै आउने प्राकृतिक समस्या पनि छन्, त्यो संगीनाले पनि भोगिन् ।
महिला भएका कारण सामाजिक रूपमा संगीनाले धेरै समस्या झेल्नु त परेन तर प्राकृतिक रूपमा हुने महिनावारीले उनलाई धेरै नै समस्या पार्‍यो । उनको अनुभूति र भोगाइ ताजै छ, ‘कैयौँपटक अन्तर्राष्ट्रिय स्तरमा खेल्दा मेलै चाहेजति राम्रो खेल्न सकिनँ जस्तो लाग्छ, भन्न पनि अप्ठयारो हुने, प्रशिक्षकहरू पुरुष भएकाले भन्ने कुरा पनि भएन । आफूलाई भने ब्लिडिङ भइरहेको हुन्थ्यो, पेट अचाक्ली दुख्ने, खुट्टा माथि लान पनि गाह्रो भएर पनि खेलियो । हात खुट्टा चलाएर खेल्नुपर्ने, धेरै गाह्रो हुन्थ्यो । पहिलो एसियन च्याम्पियनसिपको उपाधि हात पार्दा पनि उनी महिनावारी भएकै अवस्थामा खेलेकी थिइन् ।
संगीनाले जस्तै अरू महिला खेलाडीले पनि भोग्ने पीडा हो यो । खेल आफूले चाहेको समयमा हुँदैनथ्यो । धेरै सम्झना छन्, एक दिन प्रशिक्षणका क्रममा एकजना महिला खेलाडीले मलाई गाह्रो भएको छ गुरु, म मिन्स भएकी छु भन्दा गुरुले ‘ए † पर जाऊ’ भनेर छुईछुई गरेको घटना दिमागमा ताजै छ । आज संगीनालाई गर्व लाग्छ– आफू महिला भए पनि राष्ट्रका लागि केही दिनसकेकामा । अझ आफ्ना शिष्यले अगाडि आएर शिर झुकाएर ‘ताइक्वान’ गर्दा उनलाई ठूलो आत्मसन्तुष्टि मिल्नेगर्छ । उनलाई अचेल खेलेर कसरी पदक जितौँ भन्ने छैन, बरु कसरी राम्रा खेलाडी उत्पादन गराउने भन्नेमा उनको ध्याउन्ना छ ।
उनी कहिल्यै घमण्डी स्वभाव पालेर हिँडिनन्, सधैँ विनम्र र शालीन भएर प्रस्तुत हुँदै आइन् । उनलाई देशकै एकजना सफलतम खेलहस्ति बनाउन उनका शिष्टता, संयम, समर्पण र भद्रता जस्ता गुणले मूल आधारको काम गरेका छन् । उनलाई गर्व लाग्छ, जतिखेर उनी भनिरहेकी हुन्छिन्, ‘मैले पनि केही गर्दै छु, सायद खेलक्षेत्रमा आएर राम्रै गर्दै छु ।’
– चमिना भट्टराई

 

प्रतिक्रिया