तीन महाप्रबन्धकद्वारा स्पष्टीकरण

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणद्वारा खरिद गरिएका गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा मुछिएका तीन महाप्रबन्धकले स्पष्टीकरण दिएका छन् । प्राधिकरण ग्राहक तथा वितरण पूर्वका महाप्रबन्धक चिरञ्जीवी शर्मा पौडेल, पश्चिमका महाप्रबन्धक उपेन्द्रदेव भट्ट र प्रसारणका महाप्रबन्धक गणेशप्रसाद राजले सोमबार स्पष्टीकरण दिएका हुन् ।
उनीहरूबारे मंगलबार बस्ने बोर्डले निर्णय गर्ने बताइएको छ । प्राधिकरणले ट्रान्सफर्मर निरीक्षणका लागि गएका तथा जिन्सी शाखामा कार्यरत २३ कर्मचारीसँग स्पष्टीकरण सोधिसकेको छ । ट्रान्सफर्मर गुणस्तरहीन प्रकरणमा मुछिएको सम्बन्धमा छानबिन गर्न सञ्चालक सदस्य मोहनराज पन्तको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनमा तीन महाप्रबन्धक र जिन्सी तथा भुक्तानी शाखाका ६ र निरीक्षणमा गएका १७ जनालाई ट्रान्सफर्मर प्रकरणमा संलग्न देखाइएको छ ।
गत २५ चैतमा प्राधिकरण सञ्चालक सदस्य डा. केपी दुलालको संयोजकत्वमा ट्रान्सफर्मरबारे छानबिन गर्न बनेको समितिले ०६४ सालपछि ल्याइएका ट्रान्सफर्मर गुणस्तरहीन भएको प्रतिवेदन दिएको थियो । यसअघि २०६६ सालमा पूर्वसञ्चालक मुकेश काफ्लेको संयोजकत्वमा रहेको समितिले समेत ट्रान्सफर्मरहरू गुणस्तरहीन भएको प्रतिवेदन दिएको थियो तर उक्त प्रतिवेदन कार्यान्वयन भएको छैन । चीनको हुवेई सनलाइट इलेक्ट्रिक कम्पनीलगायतमार्फत आयात गरिएका ट्रान्सफर्मरहरूमा बाहिर तामा र भित्र आल्मुनियम भेटिएपछि ट्रान्सफर्मर प्रकरणको छानबिन अघि बढेको हो । (सौस)

प्रतिक्रिया