दाहालको प्रस्तावले कांग्रेसमा खैलाबैला

काठमाडौं, २३ असोज । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा पुन:स्थापनाको प्रस्ताव राखेपछि कांग्रेसमा विवाद सुरु भएको छ । पुन:स्थापनाबारे छलफल गर्न सोमबार बोलाएको पूर्वसभासद्हरूको भेलामा सभासद्हरू संविधानसभा स्थापनाको पक्ष र विपक्षमा उभिए ।

एमाओवादीका अध्यक्ष दाहालको प्रस्तावपछि कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले भेला बोलाएका हुन् । भेलामा बोल्ने अधिकांश पूर्वसभासद्ले विवादित विषयमा सहमति जुट्ने अवस्था आएमा संविधानसभा पुन:स्थापना गर्नुपर्नेमा जोड दिएका थिए । तर, केही सभासद्ले भने संविधानसभा पुन:स्थापनाको कुरा लिएर एमाओवादीले सत्ता लम्ब्याउने षड्यन्त्र गरेको भन्दै नेतृत्वको चर्को आलोचना गरे । पूर्वसभासद् मोहनप्रसाद पाण्डेले संविधानसभा सर्वोच्च अदालतकै कारण विघटनमा परेको भन्दै संविधानसभाबाटै संविधान बन्नुको विकल्प नभएको बताए । उनले भने, ‘संविधानसभाबाटै संविधान बनाउने भन्ने पनि सर्वोच्च अदालतको निर्णयद्वारा संविधानसभा विघटन भयो ।’ बाधाअड्काउ फुकाउको बाटोबाट संविधान संशोधन गर्दा भविष्यका लागि गलत नजिर बस्ने उनको भनाइ थियो । केन्द्रीय सदस्य डा. रामशरण महतले संविधानसभाका अन्तर्वस्तुमा सहमति नभईकन पुन:स्थापनामा जानै नहुने बताए । नयाँ निर्वाचनमा जाने बाटो फुकाउनका लागि पनि राजनीतिक सहमतिको विकल्प नभएको उनको प्रष्टोक्ति थियो ।
संविधानसभा विघटनसँगै पुन:स्थापनाको पक्षमा आवाज उठाउँदै आएका पूर्वसभासद् शोभाकर पराजुलीले संविधान संशोधन नगरी कुनै पनि प्रक्रिया अघि नबढ्ने बताए । संविधान संशोधनका लागि पनि संविधानसभा पुन:स्थापनाको विकल्प नभएको दोहोर्‍याएका थिए । प्रधानमन्त्रीले घोषणा गरेको चुनाव असंवैधानिक भएको भन्ने कांग्रेसलाई अहिलेकै अवस्थामा चुनावमा जाने नैतिक र संवैधानिक आधार नभएको उनको जिकिर छ । संविधानको ९० प्रतिशतभन्दा बढी काम सकिए पनि बाँकी काम सिध्याउन कांग्रेसले पहल नगरेको भन्दै उनले आक्रोशसमेत पोखे । नेता प्रकाशशरण महतसहितका नेताले पार्टीले पुन:स्थापना, निर्वाचन र आन्दोलन केमा जाने भन्ने विषयमा प्रस्ट निर्णय लिन नसकेको भन्दै आक्रोश पोखेका थिए । केन्द्रीय समितिको बैठकलाई छल्दै केही नेता गुपचुप बसेर अन्य दलसँग मोर्चाबन्दी कसेको भन्दै आपत्ति जनाए ।
भेलामा पुन:स्थापनाका विषयमा सभासद्ले आवाज उठाएपछि उपसभापति पौडेलले पुन:स्थापनालाई पनि गम्भीर रूपमा लिएको उल्लेख गरे । उनले नयाँ निर्वाचन र आन्दोलनको विषयलाई पनि नछाडेको बताए । अहिले प्रधानमन्त्रीको कुर्सी र संविधानसभाभन्दा पनि लोकतन्त्र रहने वा नरहने सवाल प्रमुख भएको उनको भनाइ छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै चुनौती आएको छ,’ पौडेलले भने, ‘आन्दोलन वा सहमति जे गर्नुपरे पनि यसकै लागि गरिन्छ ।’ उपसभापति पौडेलले दुई दिनअघि मात्र दाहालले संविधानसभा पुन:स्थापना गरेर जाँदा सहज हुने बताएको उल्लेख गरे । ‘प्रचण्डले १० प्रदेशमै सहमति गरी संविधानसभा पुन:स्थापना गर्न सकिन्छ भन्नुभएको छ,’ पौडेलले भने, ‘१० प्रदेशमै जानुपर्छ भन्ने माओवादीको अडानले सहमति हुन सकिरहेको छैन ।’ प्रदेशको सवालमा माओवादी लचिलो भएर जाने हो भने विवादित विषयमा एकएक गरी सहमति गर्न सकिनेसमेत पौडेलले प्रस्टयाए ।
महासमिति बैठक स्थगित
कांग्रेसले महासमितिको बैठक अन्तिम अवस्थामा आएर स्थगन गरेको छ । यसअघि २४ असोजदेखि २७ सम्म धनुषाको जनकपुरमा बैठक बस्ने निर्णय भएको थियो । सोमबार पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव वसन्तकुमार गौतमले विज्ञप्ति जारी गरी बैठक स्थगित भएको जानकारी गराएको हो ।
गौतमद्वारा जारी विज्ञप्तिमा बैठक आगामी मंसिरमा सारिएको उल्लेख छ । तर, बैठक गर्ने स्थान र मिति भने तोकिएको छैन । पार्टीको विधानमा प्रत्येक वर्ष महासमिति बैठक बस्ने प्रावधान भए पनि महाधिवेशन भएको दुई दिन बित्न लाग्दा पनि कांग्रेसले बैठक राख्नसकेको छैन । कांग्रेसले गणेशमान सिंहको जन्मजयन्तीको अवसर पारेर २५ कात्तिकमा काठमाडौंमा बृहत् प्रदर्शन र आमसभा पनि गर्ने भएको छ ।

एमाओवादीद्वारा पुन:स्थापनाका पहल सुरु
सौर्य समाचार
काठमाडौं, २२ असोज । एमाओवादीले संविधानसभा पुन:स्थापनाका लागि पहल सुरु गरेको छ । निर्वाचनको विषयमा सहमति नभएपछि फेरि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुन:स्थापनाको पक्षमा पहल सुरु गरेका हुन् ।
सोमबार एमाओवादी र कांग्रेसका शीर्ष नेताहरूबीच भएको छलफलमा एमाओवादीका अध्यक्ष दाहालले संविधानसभा पुन:स्थापनाको प्रस्ताव राखेका हुन् । छलफलमा अध्यक्ष दाहालले पुन:स्थापनाको प्रस्ताव राखेको कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले बताए । ‘उहाँ (दाहाल) ले पहिला चुनाव भन्नुहुन्थ्यो, सोमबार संविधानसभाको पुन:स्थापना गरेर अघि जाऊँ भन्नुभयो,’ छलफलपछि नेता देउवाले भने । नेता देउवा पनि संविधानसभा पुन:स्थापनाको पक्षमा छन् । उनले पुन:स्थापनाको प्रस्ताव सकारात्मक भएको प्रतिक्रिया दिए । उनले भने, ‘म त खुसी नै छु, अरूसँग पनि छलफल गर्नुपर्छ ।’ कांग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा भएको छलफलपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पहिलाभन्दा लचिलो भएर छलफल जारी राख्ने सहमति भएको जानकारी दिए । ‘सबै आ–आफ्नै अडानमा बसेर सहमति हुँदैन, सबैले लचकता अपनाउने सहमति भएको छ,’ उनले भने ।
एमाओवादीले सहमतिका लागि पहिले कांग्रेससँग सहमति गर्ने निष्कर्ष निकालेको छ । एमाओवादीले कांग्रेससँग सहमति निर्माण गरेपछि एमाले र अरू दलसँग सहमति गर्नुपर्ने उसको ठहर छ । ‘एमाओवादी एउटा टावर हो, नेपाली कांग्रेस अर्को टावर हो,’ एमाओवादी प्रवक्ताले एक कार्यक्रममा भनेका छन्, यी दुई टावरबीचको सहमति नै महत्त्वपूर्ण र मुख्य कुरा हो ।’ एमाओवादी र कांग्रेसबीच सहमति निर्माणका लागि कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला रहेको बताइएको छ । सोमबारको छलफलमा एमाओवादी अध्यक्ष दाहाल र उपाध्यक्ष श्रेष्ठ, कांग्रेस सभापति कोइराला, वरिष्ठ नेता देउवा, उपसभापति पौडेल, महामन्त्री सिटौला, प्रकाशमान सिंह र कोषाध्यक्ष चित्रलेखा यादव सहभागी थिए ।

प्रतिक्रिया