काठमाडौं, २३ असोज । दुई महिनाअघि भ्रष्टाचारी ठहर भएका पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता खुमबहादुर खड्काले फैसला पुनरावलोकनको माग गर्दै सर्वाेच्च अदालतमा निवेदन दर्ता गराएका छन् । खड्काले निवेदनमा आफूलाई भ्रष्टाचारी ठहर गर्ने सर्वाेच्च अदालतको फैसला न्यायपूर्ण नभएको जिकिर गरेका छन् ।
१२ वर्षमा ८ पटक मन्त्री बनेका खड्कालाई ३० साउनमा सर्वाेच्च अदातलले ९४ लाख ७४ हजार रुपियाँ भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैद सजाय सुनाएको थियो । खड्काको तर्फबाट अधिवक्ता बालकृष्ण नेउपानेले दर्ता गराएको निवेदनमा अख्तियारले दाबी गरेको भन्दा बढी रकम फैसलामा देखाइएको र अन्य भ्रष्टाचारका मुद्दामा अख्तियार गरिएका नजिरभन्दा फरक नजिर लगाएको उल्लेख छ । आफूलाई फसाउनकै लागि सर्वाेच्च अदालतले विदेश भ्रमण र कृषि उत्पादन नजिरभन्दा कम आम्दानीलाई वैधता दिएको उल्लेख गरिएको छ । यसैगरी खड्काले सर्वाेच्च अदालतको नियमावली, ०४९ को नियम १९४ बमोजिमको सुविधा माग गर्दै अर्काे निवेदन पनि दर्ता गराएका छन् । उनले धरौटीमा कैदमुक्तिको माग गरेका छन् । (सौस)
प्रतिक्रिया