पति खोज्दै सात दिनकी सुत्केरी

काभ्रे, २३ असोज । १९ वर्षीया एक युवतीले सुत्केरी भएको साता बितिसक्दा पनि पति पत्ता  लगाउन सकेकी छैनन् । विनाबाबु सुत्केरी भएर गाउँ फर्किएकी युवतीलाई गाउँलेले प्रहरीको जिम्मा लगाएका छन् ।

काठमाडौंको सुकेधारामा बस्दै आएकी सुर्जमाया दनुवारले छोरा जन्माएको ६ दिनपछि आइतबार काभ्रे बालुवा–६, ओझेटारस्थित घर आउँदा गाउँलेले प्रहरीको जिम्मा लगाएका हुन् । ‘गाउँलेले प्रहरीमा जिम्मा लगाएकी युवती सेफ हाउस धुलिखेलमा राखिएको छ,’ महिला सेल प्रमुख असई कल्पना सापकोटाले बताइन् । कानुनले पतिविहीन बेसहारा भएकी महिलाको संरक्षणका लागि एक महिनासम्म सेफ हाउसमा राख्न सक्ने व्यवस्था रहेको असई सापकोटाले बताइन् । ‘अनुसन्धानमा पति फेला परेन भने उनलाई कहाँ पठाउने हो भन्न सकिँदैन,’ उनले भनिन् ।
आठ वर्षको उमेरदेखि सुकेधाराको एक घरमा घरेलु कामदारका रूपमा बसेकी सुर्जमाया एक वर्षअगाडिदेखि फुपू स्वस्थानी दनुवारको घरमा बस्दै आएकी थिइन् । फुपूको घरमा बस्दै आएकी सुर्जमायाको एक वर्षदेखि पोखरा घर बताउने रोशन लामासँग चिनाजन भएको थियो । साथीहरूकै चिनजानका आधारमा रोशनसँग सम्बन्ध बढाएकी सुर्जमायाले फोनकै आधारमा उनलाई भेटघाट अगाडि बढाएकी थिइन् । दिउँसो तरकारी व्यापार गरेर फुपूलाई सहयोग गर्दै आएकी उनले केही रकम सहकारीमा बचत गरेकी छन् । तर, कति रकम जम्मा भएको छ, उनलाई पत्तो छैन । रोशनसँग चिनजान भएको तीन महिनामै सुर्जमायाले प्रेम गरेको बताइन् ।
प्रेम गरेको केही दिनमै रोशनले शारीरिक सम्पर्क राख्न गरेको प्रस्तावलाई सुर्जमायाले सहजै स्विकारिन् । बसपार्क नजिकैको एउटा गेस्ट हाउस उनीहरूको नियमित शारीरिक सम्पर्क गर्ने थलोको रूपमा लिएका थिए । रोशन २–३ पटक विदेश जाँदै आउँदै गरेको उनले बताइन् । सुर्जमायासँग दर्जनाँैपटक शारीरिक सम्पर्क राखेर विवाह गर्ने बताएका रोशनले दुई रात पूरै बिताए । तर उनीलाई कहिल्यै होटलबाट उनले अन्यत्र लगेनन् । बसपार्कबाट सुकेधारा जान ट्याक्सी खोजेर गाडी भाडाबाहेक अरू नदिएको उनले बताइन् । ‘विवाह गर्छु भनेपछि मैले सबै शरीर सुम्पिएको हुँ,’ सुर्जमायाले भनिन्, ‘पहिले पहिले अस्थायी साधन कन्डम लगाएर शारीरिक सम्पर्क राख्ने गरेको भए पनि पछि आनन्द आएन भन्दै उसले लगाउन मानेन, बच्चा पेटमा आइसकेछ सात महिनापछि मात्रै थाहा पाएँ,’ उनले भनिन् । ‘हरेक पटक दिउँसो शारीरिक सम्पर्क राख्ने रोशनले रातिचाहिँ मलाई ड्रिंक्स गर्न लगाउँथ्यो तर आफू भने कहिल्यै गर्दैन थियो,’ उनले भनिन् । नौ महिनादेखि साउदीमा रहेका रोशनसँग विदेशमा रहँदा पटक–पटक सम्पर्क भए पनि चार महिनादेखि सम्पर्क हुन सकेको छैन ।
‘महिनावारी बिग्रिएकाले पहिले पनि समयमा हुँदैनथ्यो, बच्चा पेटमा आएको एकैपटक सात महिनामा मात्रै थाहा पाएँ, डाक्टरलाई बच्चा फालिदनू, लोग्ने छैन भन्दा पनि मानेनन्,’ सुर्जमायाले भनिन् । बच्चा पेटमा आएको थाहा पाएपछि वान पिस कपडा मात्रै लगाएकाले कसैले भेउ नपाएको उनले बताइन् । दुई महिनाअघि मात्रै दिदीले लेबनानबाट पठाएको रकम पुर्‍याउन बालुवा आएकी सुर्जमायालाई आमाले समेत शंका गर्न सकिनन् । एक वर्षअगाडि दमको रोगले बाबु बितेपछि दुई भाइ र आमा मात्रै गाउँमा बस्दै आएका छन् । एउटी दिदी केही वर्षअघि लेबनान गएकी छन् ।
छिमेकी माया दनुवारले जोरपाटीको मेडिकल कलेजमा पुर्‍याइदिएपछि उनले छोरा पाएकी थिइन् । ‘घर न थर भएपछि उनै मायाले ट्याक्सी खोजेर बालुवा पुर्‍याइदिएर फर्कंदा गाउँलेले सुर्जमायालाई लोग्ने देखा भन्दै प्रहरीलाई खबर गरेका थिए । सुर्जमायाले रोशनबाहेक अरू केटासँग शारीरिक सम्पर्क नभएको बताएकी छन् । रोशनको पूरा ठेगाना र फोटोसमेत नभएकाले अनुसन्धानमै समस्या भएको असई सापकोटाले बताइन् ।

प्रतिक्रिया