विराटनगर : मोरङको उर्लाबारी गाविसलाई सरकारले घोषणा गरेअनुसार नगरपालिका बनाउन माग गर्दै एमालेको युवा संगठन युवा संघ आन्दोलनमा उत्रिएको छ । घोषणा भएको डेढ वर्ष बित्न लाग्दासमेत कार्यान्वयनका लागि पहल नभएको भन्दै संघले आइतबार तीन घन्टा गाविसको कामकाज ठप्प बनायो ।
उर्लाबारीलाई नगरपालिकाको हैसियत प्रदान गर्न पटक–पटक ज्ञापनपत्र बुुझाए पनि बेवास्ता गरिएको भन्दै संघका कार्यकर्ताले बिहान १० देखि दिउँसो १ बजेसम्म गाविसको सम्पूर्ण कामकाज ठप्प पारेको हो । गाविसलाई नगरपालिका नबनाएसम्म आन्दोलन जारी राख्ने संघका उर्लाबारी नगर कमिटी अध्यक्ष डिल्ली खतिवडाले जानकारी दिए । युवा संघ र एमाले कार्यकर्ताले नगरपालिका घेराउ गरेपछि गाविस–सचिव मुरारीप्रसाद घिमिरेलगायत कर्मचारी बाहिरै बसेका थिए । नगरपालिका घोषणासँगै आर्थिक वर्ष ०६८/६९ मा उर्लाबारीबाट एक करोड १७ लाख ९१ हजार ६ सय ७४ रुपियाँ कर संकलन भए पनि ७५ प्रतिशत रकम नगरपालिकामै खर्च गर्नुपर्नेमा नगरेको खतिवडाको भनाइ छ । उर्लाबारीलाई सरकारले १ साउन ०६८ गतेदेखि लागू हुनेगरी नगरपालिका घोषणा गरेका थियो । घोषणापछि सरकारले नगरपालिकाकै हैसियतमा कर संकलन गर्ने काम गरे पनि अन्य पूर्वाधार निर्माण र बजेट विनियोजन भने गरेको भन्दै युवा संघले आन्दोलन थालेको हो । (सौस)
प्रतिक्रिया