‘सात कक्षामा फेल हुँदा धेरै रोएँ’

‘रेलिमाई, रेलिमाई, रेलिमाई,
लाहुरे दाइको रेलिमाई, रेलिमाई ।’

भाइबहिनीहरू, तिमीहरूले यो गीत पक्कै सुनेको हुनुपर्छ । यो गीत मदनसिंह नेपाली दाजु र मैले गाएका हौँ । नसुने पनि केही छैन, म आज तिमीहरूलाई आÏनो बालवयबारे सुनाउँछु है त † मेरो जन्म वि.सं. २०१६ मंसिर २७ गते गान्तोक, सिक्किममा भएको हो । दुई दाजु (कान्छा दाजुको निधन भएको), चार दिदीबहिनीमध्ये म साहिँली हुँ । बुबा इन्डियन आर्मी तथा सिक्किम पुलिसबाट अवकाशप्राप्त र आमा गृहिणी हुनुहुन्छ ।
म सानो हुँदाको सिक्किम छुट्टै देश थियो, त्यहाँ राजा थिए । अहिले सिक्किम राजाबिनाको भारतको एक प्रदेश हो । उहिले राजाको जन्मदिनमा हामी स्कुले फुच्चाफुच्ची मार्चपास गर्दै भव्य बाजागाजासहित नगरपरिक्रमा गरेपछि अन्त्यमा टन्न मिठाई, बिस्कुट र चियाखाजा खान पाउथ्यौँ ।
म आठ वर्षकी थिएँ, माइली छेमासँग ठाँटले चर्चमा प्रार्थना गर्न गएकी थिएँ । प्रार्थना सकेपछि मलाई सुसु आयो र शौचालयतिर दौडिएँ । फर्किंदा मेरो बन्द मुठी देखेर धम्मरधुस मोटी छेमाले धोतीको सप्को मिलाउँदै सोध्नुभयो, ‘हातमा के छ, खै देखा त ठूलीकान्छी ?’ आमाबा तथा घरका अन्य सदस्य मलाई दोहोरो मोटो जिउ भएकोले ठूलीकान्छी भनेर बोलाउँथे । म फुच्चीले मुठी खोलेर ट्वाइलेटमा भेट्टाएको बडेमाको सयको नोट छेमालाई देखाइदिएँ । नोट देखेर छेमाले भन्नुभयो, ‘खै ले त म राखिदिन्छु, तैले हराउँछेस् ।’ जामामा खल्ती नभएकाले मैले छेमालाई त्यो नोट दिएँ । उहाँले मेरो हातमा चारआना राखिदिनुभयो र के–केजाति नानाभाँतीका आलुचप र अन्य खाने कुरा ख्वाउँदै अन्त्यमा सेतो सिन्के आइसक्रिम पनि किनिदिनुभयो । म दंग र फुरंग परेँ । ‘तैले पैसा भेट्टाएको कुरा घरमा कसैलाई नभन्नू ल, म तलाई अझै के केजाति किनिदिन्छु’ भन्दै उहाँले मेट्रो बाजेको पसलमा रातो गुलियो सुपारी पनि किनिदिनुभयो । कलिलो मनपेटमा कहाँ कुरा अडिन्छ र ? मैले चारआना देखाउँदै दाजुलाई सबै कुरा रिट्ठो नबिराई भनिदिएँ । दाजु पनि छक्क र पक्क परे । धन्य, मेरो चारआनाचाहिँ लगेनन् । चप ख्वाएर छेमाले मेरो त्यो पैसा सधंँैका लागि पच पारिदिनुभयो । त्यो सयको नोटले छेमाको मनमा पलाएको खोट सम्झिँदा मलाई अहिले पनि हाँसोपूर्ण चोट पो लाग्छ त †
पाँच वर्ष नपुगी स्कुल जान पाइँदैनथ्यो । दाजुले काँधमा बोकेर लगी पालजर नामग्याल गल्र्स हाइस्कुलमा इनÏयान्ट (नर्सरी) सेक्सनमा भर्ना गरिदिनुभयो । स्कुलकै गुरुमाले रातो सिमी, मकै र भटमासको दानाले कपुरी क, खरायो ख भन्दै गाना गाएर कखरा लेख्न र चिन्न सिकाउनुभयो । स्कुल पढ्न जाँदाको पहिरनको कैरन यस्तो थियो– निलो स्कर्ट, सेतो सर्ट, खुट्टामा कालो छाला जुत्ता, काँधमा झुन्ड्याउने कपडाको झोला । नीलो स्वेटरमाथि स्कुलको नाम अंकित बिल्ला लगाएर हामी फुच्चीहरू होहल्ला गर्दर्ै स्कुल जान्थ्यौँ ।
सानोमा म सत्य बोल्ने, कसैसँग नडराउने, आफ्नै चालको केटा खालको बोल्ड र हक्की स्वभावकी केटी थिएँ । स्कुले जीवनमा पढाइमा ठिकै खालको विद्यार्थी थिएँ । अरू विषयमा पास भए पनि हिसाबमा म पनि उही ड्याङ्की थिएँ । हिसाबमा जहिले पनि झुन्डिएर पास हुने ।
स्कुल जाँदा आमाले चारआना दिनुहुन्थ्यो, हाम्रो त दसैंतिहारजस्तो भइहाल्थ्यो । टिफिन टाइममा हामी भुरीहरू हुरीझैँ उडेर स्कुल हाताबाहिर पुगेर उफ्रौँलाजस्तो गरी फुलौराबाजेकहाँ फुलौरा खान्थ्यौँ । चना बाजेकहाँ कुटेर थेप्च्याएको पिरो चना लाम लागेर खान्थ्यौँ । आलुदम बाजेकहाँ बमजस्तो सिंगो आलुदम कम दम लगाएर आलु धेरै खान्थ्यौँ । हुरीझैँ दौडिँदा छिनिएको जुत्ता सिलाउन मोची बाजेकहाँ जान्थ्यौँ ।
सात कक्षामा पढ्दा फेल भएँ । बडो नरमाइलो लाग्यो । मनको बह खै कसलाई कह † स्कुलछेउको डाँडाको चउरमा गएर प्राकृतिक दृश्य हेर्दै एक्लै बसेर रुन थालेँ । खै कति बेर रोएँ, थाहा नै भएन । साँझसाँझ पर्न थालेपछि रुन छाडेर घरतिर हिक्कहिक्क गर्दै हिँड्न लागेको के थिएँ, यसो हेर्छु त अलि पर कोही दायाँ, कोही बायाँ, कोही वर, कोही पर, कोही यता, कोही उता चौरमा फेल हुने अरू साथीहरू पनि बसेर रोइरहेका रहेछन् । बल्ल मेरो कलिलो मन ढुक्क भयो– म एक्लै फेल भएको होइन रहेछु भनेर ।
स्कुलमा हुने प्राय: सबै कार्यक्रममा भाग लिन्थेँ । गीत गाउन र गितार बजाउनमा म फुच्ची सुकमित ओनु लेप्चा नामी र दामी थिएँ । सय मिटर दौडमा त उड्न परी नै थिएँ । हामी पुलिस लाइन (टोल) का खास केटाकेटी मिलेर आसपास पनि खेल्थ्यौँ । लुकामारी खेल्दा जुकासँग साह्रै डर लाग्थ्यो । स्कुल छुट्टी भएपछि हतारहतार घर आएर खल्याङ्खुट्टी पनि खेल्थ्यौँ । त्यस्तै गेमबल हाड दुख्ने गरी ढाडमा हानेर खेल्थ्यौँ । भाँडाकुटी त हाम्रो प्रमुख र प्रिय खेल नै थियो । हामी दिदीबहिनी आमालाई पालैपिलो खाना पकाएर सघाउँथ्यौँ । हामी साह्रै मिलेका भए पनि आमासँग हाट जान तँछाडमछाड गर्दै रडाको नै गथ्र्यौं । आमाले हटियामा पिरो चना, गुलियो सुपारी र आलुदम ख्वाउनुहुन्थ्यो । त्यो नानी बेलाको खाने कुरा सम्झिँदा अहिले पनि मुखमा पानी रसाउँछ ।
आपा (बुबा) आफ्नै तालको कडा खालको मानिस हुनुहुन्थ्यो । आÏनो काम आफैँ गर्न मन पराउनुहुन्थ्यो । उहाँको आफैँ कपडा इस्त्री गर्ने, जुत्ता पोलिस गर्ने र त्यस्तै अरू बानीहरू हामी नानीहरूमा पनि सुटुक्क बसाइँ सरेको थियो । एक पटक कुचो लाउँदा उहाँको जुत्ता अलिकति पर सार्न पुगेछु । त्यो चाल पाएर उहाँले मेरो बेहाल गरिदिनुभयो । जुत्ताको बुरुसले मेरो टाउकोमा ट्वाङ्ग हिर्काउनुभयो । मेरो नरम र कलिलो टाउको फुटेर रगत बग्न थाल्यो । बुबा झन् जोडले उफ्रिँदै जंगिँदै मलाई गाली गर्न थाल्नुभयो, ‘आफूखुसी जुत्ता किन सारिस् ।’ आमाले मलमलको कपडा पोलेर निस्केको कालो धुलो मेरो टाउकोमा लगाइदिनुभयो । एकछिन पोल्यो र रगत बग्न ठ्याप्पै बन्द भयो । त्यसपछि आपाको छेउमा बसेर कुचो लाउन छाडेर म भान्छामा डाडुपन्यूँ हल्लाउन पुगेँ ।
सानोमा पिलो आएर साह्रै दु:ख दिन्थ्यो । पिलो नचाहिने ठाउँमा बढी आउँथ्यो । पिलो चम्केर, रन्केर कलिलो शरीरलाई थङ्थिलो पाथ्र्यो । एकपटक ढाडमा पिलो आयो । आमाले सिबाजोलको गोली पिनेर ढाडमा लगाएर कपडाले छोपेर माथिबाट टप लगाइदिनुभयो । भित्रभित्रै पिलो बिग्रियो र मलाई डक्टर कहाँ लग्नुभयो । डक्टरले पिलो हेर्दै भने, ‘अझै ढिलो गरी ल्याएको भए नानीको ढाडको पिलो कुहिएर हाड छुन पुग्ने थियो । धन्य, बेलैमा ल्याउनुभयो ।’ उपचार गरेपछि पिलो त ठीक भयो तर भाइबहिनीहरू, एउटा गोप्य कुरा भन्छु है त † पिलोको दाग मेरो ढाडमा अझै पनि छ ।
वि.सं. २०३३ सालमा पालजर नामग्याल गल्र्स हाइस्कुलबाट म्याट्रिक परीक्षा उत्तीर्ण गरेपछि मेरो स्कुले जीवन सदाका लागि समाप्त भयो ।

प्रस्तुति : अनुक्रमराज

प्रतिक्रिया