नियमविपरीत मिर्गौला प्रत्यारोपणको स्वीकृति

काठमाडौं, २१ असोज । सरकारले मापदण्ड पूरा नगरेको निजी अस्पताललाई मिर्गौला प्रत्यारोपणका लागि सञ्चालन स्वीकृति दिन लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको अंग प्रत्यारोपण समन्वय समितिले चितवनस्थित भरतपुर कलेज अफ मेडिकल साइन्सको अस्पताललाई मापदण्ड पूरा नगरे पनि मिर्गौला प्रत्यारोपणका लागि स्वीकृति दिने निर्णय गरेको छ ।

४ असोजमा बसेको समितिको बैठकमा केही सदस्यले विरोध जनाए पनि सदस्य–सचिव रहेका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. मिङ्मार गेलजेन शेर्पाको दबाबमा मापदण्ड नै पूरा नभएको अस्पताललाई प्रत्यारोपणका लागि स्वीकृति दिने निर्णय भएको हो । ‘९ सदस्यीय समितिको बैठकमा ५ सदस्य मात्र उपस्थित थिए । उपस्थितमध्ये पनि केही सदस्यले मापदण्ड पूरा नगरी अस्पताललाई प्रत्यारोपणको स्वीकृति दिनु हुँदैन भन्ने कुरा उठाएका थिए,’ स्रोतले भन्यो, ‘तर महानिर्देशकका दबाबमा उनीहरूले उक्त अस्पताललाई प्रत्यारोपणका लागि स्वीकृति दिने भनेका थिए ।’
स्रोतका अनुसार मिर्गौला प्रत्यारोपणका लागि समितिमा आवेदन दिएका दुई अस्पताल भरतपुर र चितवन मेडिकल कलेजको अस्पताल दुवैलाई निश्चित समयमा मापदण्ड पूरा गरेर सञ्चालनको लागि मनसायपत्र दिने कुरा उठेको थियो । महानिर्देशकको दबाबपछि भने बैठकमा सदस्यले भरतपुर अस्पताललाई स्वीकृत दिने सहमति जनाएका थिए । सहमति दिए पनि उनीहरूले माइन्युटमा हस्ताक्षर भने गरेका छैनन् । ‘पहिला माइन्युटमा आवेदन दिएका अस्पताललाई सञ्चालनका लागि मनसायपत्र दिने भनेर लेखिएको थियो,’ स्रोतले भन्यो, ‘तर महानिर्देशकको दबाबपछि त्यो कुरा केरेर भरतपुर कलेज अफ मेडिकल साइन्सलाई सञ्चालन स्वीकृति दिने भन्ने लेखिएको छ ।’

महानिर्देशक शेर्पाले बैठकमा उपस्थित नभएका सदस्यकहाँ माइन्युट पठाउँदै हस्ताक्षर गराउन लगाएका छन् ।
निर्णय भएको दिन माइन्युटमा हस्ताक्षर नहुनु र अहिले अरू सदस्यकहाँ हस्ताक्षरका लागि पठाइएको माइन्युट केरिनुले किर्ते माइन्युटबाट मिर्गौला प्रत्यारोपण गर्न सहमति दिन खोजिएको प्रस्ट भएको स्रोतको भनाइ छ । स्रोतका अनुसार निर्णयमा बहुमत पुर्‍याउन सदस्य–सचिव शेर्पाले आफूनिकट दुई सदस्य विभागका कानुन अधिकृत वशिष्ठकुमार घिमिरे र नायब सुब्बा युवराज दाहालको हस्ताक्षर गराइसकेका छन् ।
समितिका सदस्य रहेका मन्त्रालयको चिकित्सा महाशाखाका प्रमुख डा. तीर्थराज बुर्लाकोटीलाई शुक्रबार हस्ताक्षर गराइएको छ । डा. बुर्लाकोटीले माइन्युटको निर्णय बहुमतले गरेको जानकारी आएकाले के लेखिएको छ भन्ने अध्ययन नगरी शुक्रबार दिउँसो हस्ताक्षर गरेको बताए ।
बैठकमै सहभागी समितिका अध्यक्ष डा. राकेशकुमार बर्मा र मिर्गौला प्रत्यारोपण सर्जन डा. पुकार श्रेष्ठले अहिलेसम्म पनि हस्ताक्षर गरेका छैनन् । यसैगरी, समितिका अन्य सदस्य डा. शशि शर्मा, लक्ष्मणप्रसाद टिवडेवाला र इन्दिरा दाहालले पनि हस्ताक्षर गरेका छैनन् ।
अध्यक्ष बर्माले उक्त बैठकमा हतार भएकाले हस्ताक्षर गर्न ढिला भएको बताए । ‘बैठकको दिन हतारमा भएकाले हस्ताक्षर गर्न भुलिएछ,’ उनले भने, ‘त्यसपछि पनि म जिल्लातिर जानुपरेकाले हस्ताक्षर हुन नपाएको हो ।’ उनले बैठकमा भरतपुर अस्पताललाई मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्नू भनेर मनसायपत्र दिने निर्णय भएको बताए ।
बैठक बसेको दुई साताभन्दा बढी समय बितिसक्दा पनि माइन्युटमा बहुमत सदस्यको हस्ताक्षर हुन नसकेकाले अस्पताललाई सञ्चालन स्वीकृतिपत्र पठाउन भने समितिले सकिरहेको छैन । शुक्रबार डा. बुर्लाकोटीले हस्ताक्षर गरेपछि र समितिका अध्यक्ष डा. बर्माले आइतबार आएर हस्ताक्षर गर्ने बताएपछि सदस्य–सचिव डा. शेर्पाले शुक्रबार अस्पताललाई पत्र पठाउन विभागका कर्मचारीलाई निर्देशन दिएका थिए । कर्मचारीले हतार नगर्न सुझाएपछि विभागले आइतबार अस्पताललाई पत्र पठाउने भएको छ ।
माइन्युटमा हस्ताक्षर नभएको स्विकार्दै महानिर्देशक शेर्पाले बैठकको दिन सबैजना हतारमा भएकाले हस्ताक्षर गर्न भुलेको तर्क गरे । ‘कहिलेकाहीँ हतारमा हुँदा हस्ताक्षर गर्न भुलिनेरहेछ,’ उनले भने, ‘माइन्युटमा सुब्बासा’बले लेख्ने क्रममा हामी सबै भएका बेला केरिएको हो त्यो त्यति ठूलो इस्यु होइन ।’ उनले बैठकमा कतिजना उपस्थित थिए भन्ने विषयमा भने खुलाउन चाहेनन् ।
स्रोतका अनुसार महानिर्देशक शेर्पाको दबाबमा सञ्चालन स्वीकृति दिने निर्णय भएको भरतपुर अस्पतालको मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेधित) नियमावलीअनुसार ह्युमन ल्युकोसाइड इन्टिजेन (एचएलए) ल्याब छैन । यसका साथै नियमावलीअनुसार भौतिक पूर्वाधार र जनशक्ति पनि पर्याप्त छैन । मिर्गौला प्रत्यारोपण गर्ने अस्पतालमा रिभर्स अस्मोसिसलगायत चालु अवस्थाका हेमोडायलाइसिस मेसिन कम्तीमा दुई, एनेस्थेसियासँग आवश्यक औजार तथा उपकरण, प्रत्यारोपणका लागि दाता र ग्रहण गर्ने दुवै व्यक्तिको एकै समयमा अपरेसन गर्न आवश्यक औजार र उपकरण, भेन्टिलेटर कम्तीमा २, मनिटर कम्तीमा २ वटा र कलर डप्लरको व्यवस्था हुनुपर्छ । अस्पतालमा भने नियमावलीअनुसार सबै मापदण्ड पूरा हुन सकेको छैन । यसैगरी, मिर्गौला प्रत्यारोपणका लागि अस्पतालमा नेफ्रोलोजिस्ट, मिर्गौला प्रत्यारोपण शल्यचिकित्सक, एनेस्थेसियोजोजिस्ट, प्याथोलजिस्ट एक/एक जना हुनुपर्ने तथा कार्डियोलोजिष्ट, न्युरोलोजिस्ट, साइकाट्रिक र डेन्टल शल्य सेवाको पनि व्यवस्था हुनुपर्ने प्रावधान छ । अस्पतालले सबै सेवा केही समयभित्र पूरा गर्छु भने पनि नियमानुसार सबै मापदण्ड पूरा भएपछि मात्र सञ्चालन स्वीकृति दिनुपर्ने हुन्छ ।

प्रतिक्रिया